काठमाडौँ, १७ साउन — हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर सरेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत देखिएको छ।
आज रातिसमेत देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले कोशी प्रदेशमा भारी वर्षाको सम्भावना पुनः दोहोर्याउँदै आगामी केही दिनसम्म मधेशसहित देशभर मनसुन थप सक्रिय रहने पूर्वानुमान गरिएकाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचनाबारे सतर्क रहन अनुरोध गरेको छ।


