काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गरिरहेका युवा उद्यमीलाई स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आईटी क्षेत्रमा सक्रिय युवा उद्यमीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताए। उनले युवा उद्यमीलाई निर्धक्क भएर लगानी बढाउन र आफ्नो व्यवसाय विस्तार गर्न आग्रह गर्दै सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए।
‘सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो। तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्, आफूलाई फैलाउनुहोस्। सरकार तपाईंहरूको साथमा छ,’ उनले भने, ‘के–के गर्नुपर्ने हो भन्नुहोस्।’
विगतमा कृषिजन्य वस्तुको उत्पादन तथा निर्यातमा नेपालले लामो समय र ठूलो लगानी गर्नुपरेको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रमा लगानी गर्दा तुलनात्मक रूपमा कम समयमा प्रतिफल प्राप्त गर्न सकिने बताए।
सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिएको, कृत्रिम बौद्धिकता (एआई) विकासका लागि बजेट विनियोजन गरेको तथा आईटी क्षेत्रमा कार्यरत युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति लिएको उनले जानकारी दिए।
युवा उद्यमीलाई आफ्ना समस्या र आवश्यकताबारे सरकारलाई खुलस्त जानकारी गराउन आग्रह गर्दै उनले युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
सरकारले विश्वस्तरीय सूचना प्रविधि कम्पनीहरूलाई नेपाल भित्र्याउन पहल गरिरहेको पनि अर्थमन्त्री वाग्लेले बताए। नेपाललाई सूचना प्रविधिको मूल्य शृंखला विकास हुने हबका रूपमा अघि बढाउने सरकारको रणनीति रहेको उनको भनाइ छ।
काम गर्ने क्रममा देखिने कानुनी, नीतिगत तथा व्यावहारिक समस्यालाई क्रमशः समाधान गर्दै सूचना प्रविधि क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए। युवा उद्यमीलाई सरकारसँग हातेमालो गरेर अघि बढ्न आग्रह गर्दै उनले भने, ‘आफ्ना समस्याहरू खुलस्त रूपमा राख्नुहोस्, हामी मिलेर समाधान खोजौँ।’
छलफलमा सहभागी दुई दर्जनभन्दा बढी युवा उद्यमीले सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै धन्यवाद दिएका थिए।


