काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। धान रोपाइँको मुख्य समय मानिने यस दिन किसानहरू खेतमा धान रोप्दै दही–चिउरा खाएर श्रमको सम्मान र कृषि संस्कृतिको उत्सव मनाउने परम्परा छ।
कामको चटारोले थकित शरीरलाई ऊर्जा र शीतलता प्रदान गर्ने विश्वासका साथ किसानहरूले दही–चिउरा खाने गर्छन्। यही कारण असार १५ नेपाली समाजमा दही–चिउरा खाने पर्व का रूपमा पनि परिचित छ। खेतीपातीमा संलग्न नभएका धेरै नेपालीले पनि यस दिन दही–चिउरा खाएर पर्व मनाउने गरेका छन्।
नेपाली संस्कृतिमा दहीलाई शुभको प्रतीक मानिन्छ। शुभकार्यका लागि घरबाट निस्कँदा, विदेश जाँदा वा अन्य महत्त्वपूर्ण काममा जानुअघि दही–अक्षता लगाउने तथा सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने परम्परा रहिआएको छ। दही खाएर यात्रा सुरु गर्दा शुभ हुने जनविश्वास पनि छ।
वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ। यसले पाचन प्रणालीलाई सुदृढ बनाउन सहयोग गर्ने विश्वास छ। आयुर्वेदमा भोजनपछि दही मथेर बनाइएको मोही पिउनु स्वास्थ्यका लागि लाभदायक मानिएको छ। पखाला लागेका बेला दही–चिउरा उपयोगी हुने जनविश्वास पनि छ।
२०६२ सालदेखि राष्ट्रिय धान दिवस
सरकारले वि.सं. २०६१ मंसिर २९ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको हो। कृषिप्रधान मुलुक नेपालमा अधिकांश नागरिकको जीविकोपार्जन खेतीपातीमा निर्भर भएकाले यस दिवसलाई विशेष महत्वका साथ मनाइन्छ।
असार महिनामा किसानहरू वर्षभरिका लागि अन्न उत्पादन गर्ने धान रोपाइँमा व्यस्त हुन्छन्। यस अवसरमा खेतमा असारे भाका गाउने, हिलोमा रमाइलो गर्ने र सामूहिक रूपमा धान रोप्ने परम्परा अझै पनि जीवित छ।
पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित
यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा अपेक्षित रूपमा धान रोपाइँ हुन सकेको छैन। कतिपय स्थानमा रासायनिक मलको अभाव भएको किसानहरूले गुनासो गर्दै आएका छन्।
यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले भने आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ। पर्याप्त वर्षा भएसँगै आगामी दिनमा धान रोपाइँले गति लिने अपेक्षा गरिएको छ।


