काठमाडौँ — अशोक सिलवालको पुस्तक ‘एभरेस्ट: एन अनफिनिस्ड स्टोरी’ पोखरास्थित अन्तर्राष्ट्रिय पर्वत सङ्ग्रहालय (आईएमएम)मा विमोचन गरिएको छ। माछापुच्छ्रे काखमा अवस्थित संग्रहालय परिसरमा आईएमएमकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले सहकर्मीहरूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिन्।
विमोचन समारोहमा निर्देशक न्यौपानेले संग्रहालयको वैश्विक महत्त्व उल्लेख गर्दै पुस्तक तथा लेखकको प्रशंसा गरिन्। उनले विश्वका १०५ देशका हिमाल तथा हिमाली संस्कृतिप्रेमीहरू आईएमएम भ्रमणका लागि आउने तथ्य स्मरण गर्दै सिलवालको पुस्तक संग्रहालयमा विमोचन हुनु आफैंमा विशेष उपलब्धि भएको बताइन्।
लेखक सिलवालले संग्रहालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै पुस्तकका केही प्रति संग्रहालयको लाइब्रेरीलाई हस्तान्तरण गरे। उनले ‘एभरेस्ट’ पुस्तकलाई भुईँबाट शिखरतिरको अनुभव र अध्यात्मको यात्रा भन्दै प्रस्तुत गरे।
यसअघि ‘एभरेस्ट’ लाङटाङ क्षेत्रको करिब ४ हजार मिटर उचाइमा रहेको क्यान्जीङ गाउँमा पनि सार्वजनिक गरिएको थियो। ‘एभरेस्ट’ सिलवालको पाँचौँ कृति हो। यसअघि उनको ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्रीलंका स्मृति’ र ‘अप्प दीपो भवः’ प्रकाशित भइसकेका छन्।


