सिमकोट, हुम्ला, २३ असोज: अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध भएको छ। नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने यस सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरिरहेका आन्तरिक पर्यटक अलपत्र परेका छन्।
सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार, सडक अवरुद्ध हुँदा पर्यटकलाई गन्तव्यसम्म पुग्न ठूलो कठिनाइ भएको छ। बाक्लो हिमपातका कारण पैदल यात्रा गर्नु पनि चुनौतीपूर्ण भएको उनले बताए।
सडकमा जमेको हिउँ पन्छाउन करिब चार दिन लाग्ने अनुमान गरिएको छ। समुद्र सतहबाट न्यालुको उचाइ पाँच हजार मिटर छ। हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन्।


