गलकोट (बागलुङ), ७ साउन — अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिनुभयो। सडक अवरुद्ध भएपछि आज बिहानदेखि सो खण्डमा सवारी सञ्चालन ठप्प भएको हो।
यसैबीच, बलेवा खण्डको छहरे क्षेत्रमा पनि पहिरो खसेर सडक बन्द भएको छ। साथै, कालीगण्डकी करिडोरसँग जोडिएको बलेवा–कुशिमसेरा सडक खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको पाण्डेले बताउनुभयो।
अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजना कार्यालयसँग समन्वय भइरहेको जानकारी दिइएको छ। निरन्तरको वर्षाका कारण जोखिम कायमै रहेकाले तत्काल सडक सुचारु गर्न चुनौती रहेको बताइएको छ।


