Tuesday, July 28, 2026
Homeसामाचारअविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । देशभर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:४० बजेसम्मको विवरणअनुसार पहिरो र बाढीका कारण धेरै सडक बन्द हुँदा यात्रुहरू समस्यामा परेका छन्।

बागमती प्रदेशमा सबैभन्दा बढी असर

काभ्रेको बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेशीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशीस्थित चारकिलो र कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको उत्तरगया–खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक अवरुद्ध भएको छ। यस्तै, दोलखाको लामासाँघु–रामेछाप सडक बन्द भए पनि वैकल्पिक मार्गबाट सवारी सञ्चालन भइरहेको छ। नारायणगढ–मुग्लिन सडकको सिमलताल खण्ड भने सञ्चालनमा आएको छ।

कोशी प्रदेशमा पनि सडक अवरुद्ध

इलामको राजदुवाली क्षेत्रमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। यद्यपि, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिम र खोटाङको माम्खा क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

गण्डकीमा पहिरोले सडक अवरुद्ध

म्याग्दीको बेनी–जोमसोम सडक अन्तर्गत बैसेरी र सुकेबगर क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। बागलुङको कालीगण्डकी करिडोर अन्तर्गत बेलबगरमा भने पहिरो पन्छाएपछि एकतर्फी सवारी सञ्चालन गरिएको छ।

लुम्बिनी र कर्णालीमा पनि असर

रोल्पाको खोलावाङ क्षेत्रमा पहिरो जाँदा घोराही–थवाङ सहिद राजमार्ग अवरुद्ध भएको छ। पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरोका कारण सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा बन्द रहेको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबीसकोट क्षेत्रमा बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध बनाएको छ। मुगुको झ्यारी खोलामा पहिरो जाँदा नाग्म–गमगढी सडक पनि बन्द भएको छ।

सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। साथै, वर्षाका कारण जोखिम बढेकाले यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका