वासिंटन – अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ। अमेरिकी केन्द्रीय सैन्य कमाण्डले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेको हो।
सैन्य कमाण्डका अनुसार अमेरिकी सेनाले टापुमा रहेका ९० भन्दा बढी इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ। तर तेलसम्बन्धी संरचनामा क्षति नपुर्याइएको बताइएको छ।
आक्रमणबाट नौसैनिक बारुद भण्डारण स्थल, क्षेप्यास्त्र भण्डारण बंकर र अन्य धेरै सैन्य संरचनाहरू नष्ट भएका छन्। खार्ग टापु फारसको खाडीमा इरानको तटबाट करिब २५ किलोमिटर टाढा रहेको छ र इरानको कच्चा तेल निर्यातको करिब ९० प्रतिशत यहीँबाट हुने गर्दछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै आक्रमणले सैन्य लक्ष्यहरूलाई ‘पूर्ण रूपमा नष्ट’ गरेको बताए र हर्मुज जलडमरू अवरुद्ध भए खार्ग टापुको तेल संरचनामा पनि निशाना बनाइने चेतावनी दिए।
यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले तेल र ऊर्जा संरचनामाथि आक्रमण भए अमेरिकी कम्पनीसँग सम्बन्धित क्षेत्रीय संरचनाहरूमा प्रतिशोध गरिने चेतावनी दिएका छन्।


