काठमाडौँ। अमेरिकाले पछिल्ला वर्षहरूमा भिसासम्बन्धी नियमहरूमा कडाइ गर्दै आएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भिसा आवेदनका क्रममा धरौटी राख्नुपर्ने देशहरूको संख्या तेब्बर बनाएको छ, जसको पछिल्लो सूचीमा नेपाल पनि समावेश गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयले जनवरीमा जारी गरेको अद्यावधिक सूचनाअनुसार अब नेपाली नागरिकले अमेरिकाको पर्यटक (बी–२) वा व्यावसायिक (बी–१) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्नेछ। यो व्यवस्था जनवरी २१ देखि लागू हुने बताइएको छ।
भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले आवेदकको अवस्था मूल्याङ्कन गरी धरौटी रकम निर्धारण गर्नेछन्। धरौटी रकम न्यूनतम ५ हजार अमेरिकी डलरदेखि अधिकतम १५ हजार अमेरिकी डलरसम्म हुन सक्नेछ। उक्त रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल पे डट गभमार्फत सीधै जम्मा गर्नुपर्नेछ। कुनै पनि तेस्रो पक्ष वा एजेन्टलाई रकम नबुझाउन विदेश मन्त्रालयले सचेत गराएको छ।
धरौटी राखेर अमेरिका जाने नेपालीहरूले तोकिएका तीनवटा विमानस्थलबाट मात्र अमेरिका प्रवेश र प्रस्थान गर्न पाउनेछन्। ती विमानस्थलमा न्युयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्टन डीसीको वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्।
यीबाहेक अन्य विमानस्थल प्रयोग गरेमा धरौटी रकम जफत हुने र भविष्यमा अमेरिका प्रवेशमा रोक लाग्न सक्ने चेतावनी अमेरिकी विदेश मन्त्रालयले दिएको छ।
यसरी फिर्ता हुन्छ धरौटी रकम
धरौटीस्वरूप राखिएको रकम निश्चित सर्त पूरा गरेमा पूर्ण रूपमा फिर्ता गरिनेछ। तोकिएको समयभित्र अमेरिका छोडेमा, भिसाका सर्त उल्लङ्घन नगरेमा र तोकिएका तीनवटै विमानस्थलमध्ये कुनै एकबाट बाहिरिएको रेकर्ड देखिएमा मात्र धरौटी रकम फिर्ता हुने जनाइएको छ।
तर भिसाको म्याद नाघेपछि पनि अमेरिकामा बस्ने वा त्यहाँ पुगेर शरणार्थीको हैसियत माग गर्नेको धरौटी रकम जफत हुनेछ। समयमै स्वदेश नफर्कने नागरिकको संख्या बढी भएका देशलाई लक्षित गर्दै यो ‘पाइलट प्रोग्राम’ लागू गरिएको अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ।
नेपालसँगै यस सूचीमा बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएलालगायत ३८ देश समावेश छन्।


