काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कार आरोपमा मुद्दा दायर भएको छ। पीडितको दाबीअनुसार घटना अमेरिकामा भएकोले अब यो मुद्दा अमेरिकाकै अदालतमा चल्न सक्छ। अमेरिकी कानुनअनुसार घटना अमेरिकामा भएको खण्डमा पीडित र आरोपी जहाँ भए पनि त्यहाँ मुद्दा चलाउन सकिन्छ।
अमेरिकामा अध्ययनरत छात्रा संगम बिष्टले आफूमाथि बलात्कार गरेको भन्दै न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाइपीडी)मा दुई दिनअघि एफआइआर दर्ता गरेकी हुन्। आरोपी बले नेपालमा पक्राउ परिसकेकोले अमेरिकी प्रहरीले नेपाल प्रहरीसँग समन्वय गर्ने अपेक्षा गरिएको छ।
संगमले केही दिनअघि फेसबुकमा लेखेकी थिइन् कि बले एक वर्षअघि अमेरिका आउँदा उनलाई फ्ल्याट देखाउन लगाएको र फ्ल्याटमै जबरजस्ती करणी गरेको। स्टाटस पोस्ट भएको भोलिपल्टै नेपाल प्रहरीले बलेलाई पक्राउ गरेर हिरासतमा राखेको थियो।
तर, नेपाल प्रहरीमा जाहेरी नपरेको कारण बलेविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयमा पेश गरी ५ दिन म्याद लिइएको छ। कानूनअनुसार अभद्र व्यवहारको मामलामा सिडीओले बढीमा २५ दिन हिरासत राख्न सक्ने प्रावधान छ।


