Sunday, April 19, 2026
Homeप्रवासअमेरिकाअमेरिकामा पनि हिमानी ट्रस्ट विस्तार, हिमानी शाहले गरिन् उद्घाटन

अमेरिकामा पनि हिमानी ट्रस्ट विस्तार, हिमानी शाहले गरिन् उद्घाटन

पूर्व राजपरिवारको संलग्नतामा नेपालमा सामाजिक कार्यका लागि स्थापना गरिएको ‘हिमानी ट्रस्ट’ अमेरिकामा पनि विस्तार गरिएको छ । पूर्व युवराज्ञी हिमानी शाहले हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन गरेकी हुन् । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यस्थित लिजबर्ग शहरमा आयोजित कार्यक्रममा हिमानी ट्रष्ट युएसएको उद्घाटन गरिएको हो । समारोहमा पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो संस्था र यसको सेरोफेरोमा चर्चा गरेकी थिइन् ।

उक्त समारोहमा हिमानी ट्रस्ट युएसएका विभिन्न शाखाका पदाधिकारी, स्थानीय सामाजिक अभियन्ता, विदेशी पाहुना उपस्थित थिए । समारोहमा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाइएको थियो । समारोहमा हिमानी ट्रस्ट युएसएका महासचिव आनन्दु लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विदेशी पाहुनाहरुले मन्तव्य राख्दै हिमानी शाह र उनकै नेतृत्वमा खोलिएको हिमानी ट्रस्टले सामाजिक सेवामा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

समारोहमा विदेशी अतिथिहरुमा भर्जिनियाका सिनेटर मार्क वार्नरका प्रतिनिधि, लाउडन काउन्टीका प्रतिनिधिहरु, अमेरिकी विदेश विभागका पूर्व पदाधिकारी लगायत सहभागी थिए । समारोहमा स्वयंसेवक, दाता तथा पदाधिकारीहरुलाई हिमानी शाहले प्रशंसापत्र वितरण गरेकी थिइन् । सञ्चारकर्मी रमा सिंहले सञ्चालन गरेको कार्यक्रममा महासचिव आनन्दु लामाले अमेरिकामा स्थापित शाखा र यसको उद्देश्यबारे जानकारी गराएका थिए । हिमानी ट्रस्ट युएसएका अध्यक्ष हरि शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

हिमानी शाह गत मंगलबार डिसी महानगर क्षेत्रमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेकी थिइन् । विमानस्थलमा उनको स्वागतमा भर्जिनिया, वाशिंगटन डिसी, क्यालिफोर्निया ,ओहायो, टेक्सस, कोलोराडो लगायतबाट पदाधिकारीहरु आएका थिए ।

हिमानी शाहको अमेरिका बसाई करिव २ हप्ता हुनेछ भने यस पटक उनी डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ । हिमानी ट्रस्ट युएसए अमेरिकी सरकारमा आधिकारिक रुपमा दर्ता भएको गैर मुनाफायुक्त सामाजिक संस्था हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका