काठमाडौँ । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार अपराह्न करिब साढे ५ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल फर्काइएका हुन्।
फर्काइएकामध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए। उनीहरू नेपाल फर्किएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार अधिकांशले तल्लो (अवैध) बाटो प्रयोग गरी अमेरिका पुगेको खुलेको छ। एक जना अध्ययन भिसामा अमेरिका गएको भए पनि बाँकीले दलालमार्फत करोडौँ रुपैयाँसम्म खर्च गरेको पाइएको छ। कतिपयले एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन्।
पछिल्ला सात वर्षको अवधिमा अमेरिकाबाट सात सयभन्दा बढी नेपाली नागरिक डिपोर्ट भइसकेका छन्। तीमध्ये अधिकांश व्यक्तिहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि फर्काइएका हुन्।


