काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको हो। शैक्षिक संस्था बाहेक अन्य सरकारी कार्यालयहरूको समय भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिनेछ।
मन्त्रिपरिषद्का अन्य प्रमुख निर्णयहरू:
१. डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजनाका लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
२. दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
३. नेपाल सरकारअन्तर्गतका मन्त्रालय, सचिवालय, आयोग तथा निकायहरूको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्वस्वीकृति दिने।
४. राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने।
५. डिजेल तथा पेट्रोल सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने।
६. आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने।


