म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको फुतफुते झरना हाल आन्तरिक पर्यटकहरूको प्रमुख आकर्षणस्थल बनेको छ। अन्नपूर्ण र निलगिरि हिमालबीचबाट बगेको मिस्त्री खोलाले बनाएको साँघुरो खोच र फेदीमा फैलिएको नीलो तालले झरनालाई झनै मनमोहक बनाएको छ।
अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेशद्वारमै पर्ने फुतफुते झरना प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। अग्लो चट्टानबीचबाट पानी छेडिएझैं खस्ने दृश्यले जो–कसैलाई मोहित बनाउँछ। करिब ५० मिटर उचाइबाट खस्ने झरनाको फेदीमा बनेको गोलो आकारको नीलो पोखरी यसको विशेष आकर्षण हो।
काठमाडौंका पर्यटक सुझाव आचार्यले भने, “फुतफुते झरनामा आउँदा यात्राको थकान मेटियो, यो स्थान प्रकृतिको दायाँ आँखाको मोतीजस्तै सुन्दर छ।” अर्का पर्यटक लक्ष्मण मर्हजनले फुतफुते झरनालाई अमेरिकाको ‘नायग्रा फल्स’सँग तुलना गर्दै यसको आवाज र दृश्यले जलको मोतीमा डुब्ने अनुभव दिलाएको बताए।
झरनाको फेदीमा रहेको नीलो पानीको पोखरी र वरिपरिको हरियो वातावरणले मनमा शान्ति ल्याउने काभ्रेकी अनुषा तामाङ बताउँछिन्। उनले भनिन्, “झरनाको फेदीमा बसेर हेर्दा धित नमर्ने रहेछ।”
फुतफुते झरना र मौरिस हर्जोग पदमार्ग पछिल्ला वर्षहरूमा नयाँ पर्यटन गन्तव्यका रूपमा विकसित भएका छन्। पदमार्गका अभियान्ता तेज गुरुङका अनुसार दशैंयता दैनिक करिब तीन सय आन्तरिक पर्यटकहरू यहाँ आउने गरेका छन्। “फेसबुक र टिकटकमा भाइरल फोटो–भिडियोका कारण फुतफुते झरना अहिले निकै चर्चामा छ,” उनले भने।
नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा सवारी र त्यसपछि डेढ घण्टा पैदल यात्रापछि फुतफुते झरनामा पुग्न सकिन्छ। यहाँ पुग्ने धेरैजसो पर्यटक झरनाको अवलोकनपछि साँधीखर्क, गुफाफाँट, भुस्केट हुँदै अन्नपूर्ण आधार शिविरतर्फ लाग्छन्।
अन्नपूर्ण गाउँपालिकाले गत वर्ष झरना नजिकै आश्रयस्थल र सार्वजनिक शौचालय निर्माण गरेको छ। गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार फुतफुते झरनालगायत मौरिस हर्जोग पदमार्गको गुरुयोजना बनाएर पूर्वाधार विस्तार र प्रवर्द्धनका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य भइरहेको छ।
झरनाको फेदीमा रहेको पोखरीमुनि काठको झोलुङ्गे पुल रहेको छ, जसको पारिपट्टि अर्को सानो झरना पनि देख्न सकिन्छ। पुल नजिकका ढुंगामाथि बसेर झरना हेर्ने पर्यटकहरूको भीड लाग्ने गरेकाले दुर्घटनाको जोखिम न्यूनिकरणका लागि सावधानी अपनाउन अनुरोध गरिएको छ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले फुतफुते झरनाको अवलोकनस्थल सुरक्षित बनाउन र झोलुङ्गे पुलको स्तरोन्नति आवश्यक रहेको बताए। उनले भने, “गुराँसे डाँडादेखि फुतफुते झरनासम्मको पदमार्ग, पुल र दृश्यावलोकन क्षेत्रको विकासका लागि सरकारसँग समन्वय गरिनेछ।”


