बेनी (म्याग्दी), १८ भदौ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गमा फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई मोहित बनाएको छ ।
हिमाल, तालतलैया, झरना र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँस पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौ महिनासम्म यो क्षेत्रमा पोथ्रे गुराँस विशेष आकर्षणको रूपमा देखिन्छ ।
वनस्पति विज्ञ कमल मादेनका अनुसार नेपालमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजाति हो । यसको उचाइ करिब तीन मिटरसम्म हुन्छ । तर डढेलो लगायतका कारण यो दुर्लभ प्रजाति संकटमा पर्न थालेको बताउँदै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
अन्नपूर्ण पदमार्गमा पोथ्रे गुराँससँगै रातो, गुलाबी, सेतो र बैजनी रङका गुराँसका फूल पनि फुल्ने गर्छन् । यी प्रजातिको संरक्षणमा सम्बन्धित निकाय संवेदनशील बन्नुपर्नेमा मादेनले जोड दिनुभयो ।


