काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन नबनाइने स्पष्ट पारेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको उद्देश्य केवल संरचना हटाउनु मात्र नभई असुरक्षित बसोबासको दीर्घकालीन समाधान खोज्नु रहेको बताए।
उनले अव्यवस्थित बसोबास र भूमिहीन सुकुमवासीका समस्या समाधानका लागि शक्तिशाली प्राधिकरण वा आयोग गठन गरी काम अघि बढाइने जानकारी दिए। सो आयोगको सिफारिसका आधारमा मात्रै अन्तिम कार्यान्वयन गरिने भएकाले नागरिकले अनावश्यक त्रास लिनु नपर्ने उनको भनाइ थियो।
लामिछानेका अनुसार सरकार विशेषगरी नदी किनार, पहिरो र बाढीको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूको सुरक्षाप्रति गम्भीर छ। उनले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र त्यस क्रममा कसैलाई पनि आश्रयविहीन नबनाइने स्पष्ट पारे।
काठमाडौंका विभिन्न स्थानमा सुरु भएको संरचना हटाउने अभियान देशभरका असुरक्षित बस्तीलाई व्यवस्थापन गर्ने लक्ष्यसहित अघि बढाइएको उनले बताए।
यस विषयमा फैलाइएको त्रासप्रति ध्यानाकर्षण गराउँदै उनले भूमिहीन सुकुमवासीहरूलाई नआत्तिन आग्रह गरेका छन्। सरकारले नागरिकको बासस्थानको अधिकार सुरक्षित हुने गरी नै काम अघि बढाउने भन्दै उनले सबैलाई संयमित भई सहयोग गर्न अपिल गरेका छन्।


