काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा संलग्न शक्तिहरूले नै संविधानलाई कमजोर बनाउने प्रयास गरिरहेको टिप्पणी गरे।
भट्टराईले प्रतिनिधिसभाको पहिलो र दोस्रो विघटनबाट संविधानलाई “पटरीबाट उतार्ने” र यसको “चिरहरण गर्ने” प्रक्रिया सुरु भएको दाबी गरे।
विगतमा प्रतिनिधिसभा विघटन हुँदा नागरिक र राजनीतिक दलहरू सडकमा उत्रिएको तथा अदालतले संविधानलाई पुनः सही मार्गमा ल्याएको स्मरण गर्दै उनले अहिलेको अवस्था भने फरक रहेको बताए।
“विगतमा अदालतले दुवै पटक संविधानलाई सही मार्गमा ल्याइदिएको थियो, तर अहिले अदालतमा त्यो हिम्मत देखिन्न,” उनले भने, “अदालत संविधानको मर्मअनुसार चल्न नसक्ने अवस्थामा पुगेको छ। पछिल्ला घटनाक्रमले न्यायालय भय र त्रासमा चलेको जस्तो देखिन्छ।”
उनले वर्तमान राजनीतिक दलहरू “निजी कम्पनीजस्ता” बन्दै गएको आरोप पनि लगाए। उनका अनुसार दलहरू विचार, सिद्धान्त र सामूहिक निर्णयभन्दा सीमित समूहको नियन्त्रणमा चल्न थालेका छन्।
भट्टराईले राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा नागरिक स्वतन्त्रतामाथि समेत गम्भीर असर परेको बताए।
“दलहरू अब विचार र सामूहिक निर्णयका आधारमा चल्न छाडेका छन्,” उनले भने, “उनीहरूलाई प्रतिरोध गर्ने क्षमता पनि समाजमा कमजोर बन्दै गएको छ।”


