Thursday, August 20, 2026
Homeराजनीतिअख्तियारको संवैधानिक मर्यादा कमजोर हुँदै गएको छ : अमरेशकुमार सिंह

अख्तियारको संवैधानिक मर्यादा कमजोर हुँदै गएको छ : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँगको छलफलमा बोल्दै सिंहले आयोगले आफ्नो संवैधानिक हैसियत र मर्यादा कायम राख्नुपर्ने बताए ।

अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको उल्लेख गर्दै उनले आयोगका पदाधिकारी संसदीय समितिमा छलफलका लागि उपस्थित हुन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा त्यहाँ जान नहुने धारणा राखे ।

उनले अख्तियारको मर्यादा कमजोर हुनुमा आयोगका पदाधिकारीको कार्यशैली पनि जिम्मेवार रहेको दाबी गरे । यस्तो प्रवृत्तिको अन्त्य गरी आयोगले आफ्नो संवैधानिक भूमिकाअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो ।

सिंहले संवैधानिक निकायमा हुने भागबन्डाको राजनीतिसमेत अन्त्य गर्नुपर्ने बताए । संवैधानिक निकायहरूमा पूर्वकर्मचारीहरूको बाहुल्य रहेको दाबी गर्दै उनले त्यस्ता संस्थालाई पूर्वकर्मचारीहरूको ‘क्लब’ बन्न दिन नहुनेमा जोड दिए ।

उनले भने, “भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्वकर्मचारीहरूको क्लब बन्न नदिऔँ ।”

बैठकमा सिंहले भ्रष्टाचारबाट आर्जित रकम सुनलगायत विभिन्न क्षेत्रमा लगानी गरी सुरक्षित राख्ने प्रवृत्तिको विषयसमेत उठाए । भ्रष्टाचारबाट प्राप्त रकमलाई विभिन्न माध्यमबाट लुकाउने तथा सुरक्षित राख्ने प्रवृत्तिमाथि अख्तियारले गम्भीर अनुसन्धान गर्नुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका