काठमाडौँ: भारतीय राजदूतावासले शुक्रबार साँझ विशेष समारोहका बीच ६०औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनायो।
समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको अनुभव स्मरण गर्दै विकास र शिक्षाका क्षेत्रमा भारत सरकारको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक कार्यक्रमलाई नेपाल सरकारका प्राथमिकताअनुसार थप अनुकूल बनाउने प्रतिबद्धता जनाउनुभयो।
समारोहमा महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेक पूर्वविद्यार्थी सहायक रथी पवन खत्री, र सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेक कार्यक्रमसँग सम्बन्धित आफ्ना अनुभव साझा गर्नुभयो।
कार्यक्रममा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को सहयोगमा प्रख्यात कलाकार कुलेश्वरकुमार ठाकुरको नेतृत्वमा ‘यज्ञ’ सांस्कृतिक समूहले मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुत गर्यो। साथै, नेपालको कान्त दब दब ब्यान्डले वाद्य लोक फ्युजन र ज्याज संगीत प्रस्तुत गर्यो।
समारोहमा सांसद, वरिष्ठ सरकारी अधिकारी, आइटेकका पूर्वविद्यार्थी, तथा भारतीय शैक्षिक संस्थानका नेपाली पूर्वविद्यार्थी उपस्थित थिए।
आइटेक सन् १९६४ मा स्थापना भएको अन्तर्राष्ट्रिय क्षमता निर्माण कार्यक्रम हो, जसअन्तर्गत हालसम्म १६० भन्दा बढी देशका दुई लाखभन्दा बढी अधिकारीलाई तालिम प्रदान गरिएको छ।
सन् २०२४–२५ मा नेपालका ५१० जना विभिन्न पेशाकर्मीलाई भारतका प्रमुख संस्थानहरूमा विविध कोर्सहरूमा तालिम दिइएको छ। यस वर्ष नेपालका चिकित्सक (५०), सरकारी वकिल (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठानका सदस्य (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्सको व्यवस्था गरिएको छ। विगत १५ वर्षमा नेपालबाट ३,००० भन्दा बढी अधिकारी आइटेक अन्तर्गत तालिम प्राप्त गरिसकेका छन्।


