Friday, September 11, 2026
Homeखेलकुद२०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

२०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई बिदाइ गरिएको छ ।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा नेपाली टोलीलाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूले पछिल्ला केही महिनादेखि गरेको मेहनत, अनुशासन र तयारीको प्रशंसा गर्दै देशको शिर उच्च हुने गरी खेल्न आग्रह गरे ।

मन्त्री पोखरेलले खेलाडीका लागि नतिजाभन्दा देशको प्रतिनिधित्व गर्दै गरेको मेहनत, परिश्रम, अनुशासन र त्याग महत्वपूर्ण रहेको बताए । उनले जापानमा निर्धक्क भएर खेल्न र उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे ।

“तपाईंहरू निर्धक्क भएर नडराईकन खेल्नुहोला । धेरै तनाव नलिनुहोस् । तपाईंहरूले आफ्नो उत्कृष्ट प्रदर्शन दिने हो । जापानमा गएर देशको शिर ठाडो पार्ने गरी अनुशासनका साथ खेल्नुहोस् र राम्रो खेलभावना प्रस्तुत गर्नुहोस्,” उनले भने ।

मन्त्री पोखरेलका अनुसार २०औँ एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा ५७ महिला र ७८ पुरुष गरी १३५ खेलाडी सहभागी हुनेछन् । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, ६ जना मेडिकल टिमका सदस्य, ४ जना पत्रकार तथा विशिष्ट अतिथि, सेफ द मिसन, डेपुटी सेफ द मिसनलगायत अफिसियलसहित कुल २११ जना सहभागी हुनेछन् ।

नेपालबाट आर्चरीमा २, एथलेटिक्समा ६, ब्याडमिन्टनमा ४, बक्सिङमा ७, क्रिकेटमा १५, साइक्लिङमा २, गल्फमा ४, जुडोमा ६, कबड्डीमा २४, करातेमा ८, र्‍याफ्टिङमा २, स्केट एवं स्केटबोर्डिङमा २, सफ्ट टेनिसमा ४, स्क्वास र्‍याकेटमा २, पौडीमा ५, टेबल टेनिसमा ६, तेक्वान्दोमा ३, टेनिसमा ५, भलिबलमा १२, कुस्तीमा ६ र उसुमा १० जना खेलाडी सहभागी हुनेछन् ।

मन्त्री पोखरेलले कराते टोली जापान पुगिसकेको र अन्य खेलका टोलीहरू विभिन्न मितिमा जापान जाने जानकारी दिए । उनले एसियाली खेलकुदमा नेपाललाई आधिकारिक रूपमा प्रतिनिधित्व गर्ने टोलीको संख्या २११ जना रहेको स्पष्ट पारे ।

उनका अनुसार यसपटक पहिलोपटक एसियाली खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई विमानस्थलबाट भीआईपी तथा भीभीआईपी एक्सेसमार्फत बिदाइ गर्ने व्यवस्था गरिएको छ ।

मन्त्री पोखरेलले खेलाडीहरूले गरेको मेहनत र परिश्रमको सम्मानस्वरूप यस्तो व्यवस्था गरिएको बताए । आगामी दिनमा खेलाडीले पाउनुपर्ने सम्मान र सुविधालाई थप व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता पनि उनले जनाए ।

एसियाली खेलकुदबाट फर्किएपछि खेलाडीहरूसँग अनुभव आदानप्रदान गर्ने तथा आगामी प्रतियोगिताका लागि आवश्यक तयारी र सुधारका विषयमा छलफल गरिने उनले बताए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका