Tuesday, May 12, 2026
Home Blog Page 850

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

0
A view of plywood industry in Jhapa in July 2021 . Photo courtesy: Lalan Yadav

राँझा (बाँके): बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ । उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताउनुभयो । “कामको खोजीमा दैनिक भौतारिनुपथ्र्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,” उहाँले भन्नुभयो ।

स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताउनुभयो । उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताउनुभयो । देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उहाँले बताउनुभयो ।

उद्योगमा ट्रेड युनियन गठनका नाममा काममा अवरोध भएको प्रति उहाँलाई चित्त बुझेको छैन । आफूलाई उद्योग नै बन्द गराउने ट्रेड युनियन नचाहिएको उहाँले बताउनुभयो । “ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि केही दिन उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ”, उहाँले भन्नुभयो । उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताउनुभयो । अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उहाँले जानकारी दिनुभयो । उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा दैनिक करिब रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगले मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ, घाटामा गएको उद्योगले अहिले तत्काल मजदुरको पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्था छैन, तर परिस्थिति सुध्रिनासाथ मजदुरको सेवा सुविधा र सङ्ख्या बढाउँदै लैजाने हाम्रो सोच छ ।” ट्रेड युनियन गठनले कर्मचारी विभाजित उद्योग पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गर्ने काम भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको गुनासो छ ।

अहिले सञ्चालन हुँदा दैनिक रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योग बन्द हुँदा दैनिक रु १० लाखभन्दा बढी घाटा हुने भएकाले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन उहाँले अनुरोध गर्नुभएको छ । स्थानीयवासीको बाहुल्य रहेको उक्त उद्योगमा तीन सय बढी मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा नरहेका गैरमजदुरलाई सङ्गठित गरी जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि त्यहाँ कार्यरत मजदुर त्यसको विपक्षमा उत्रिएका छन् । उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर सङ्घले शान्ति रानाको नेतृत्वमा मजदुर सङ्घ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर विष्टले सङ्घको नेतृत्व गरेकी रानासहितका अधिकांश सदस्य उद्योगमा कार्यरत नै नरहेको बताउनुभयो ।

उहाँले उद्योगमा कार्यरत नै नरहेका फर्जी नाम राखेर ट्रेड युनियन गठन गरेकामा आपत्ति जनाउनुभयो । ट्रेड युनियनकी अध्यक्ष रानाले आफूहरूले मजदुरको हकहितका लागि ट्रेड युनियन खोलेको बताउनुभयो । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उहाँको आरोप छ । ट्रेड युनियन गठनसँगै मजदुर विभाजित भएका छन् । अधिकांश मजदुर उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् ।

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

0

गोरखा: जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताउनुुभयो । शिविरमा नौ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

आज देशभर मौसम सफा रहने

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

इरान–इजरायल युद्ध भयो भने आफू पनि खुलेर मैदानमा उत्रिने रुसको घोषणा

0

काठमाडौं । इरानले इजरायलमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानले शनिबार–आइतबार राति अबेरसम्म इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो । तर, इजरायलले इरानका ९९ प्रतिशत मिसाइल र ड्रोन खसालेको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड एर्डनले भने – यो आक्रमणले सबै सीमा पार गरेको छ र इजरायलसँग यसको जवाफ दिने अधिकार छ।

योसँगै इरान र इजरायलबीचको युद्धले विश्वलाई फेरि दुई गुटमा बाँडेको छ । ह्वाइट हाउसले इजरायलले इरानमाथि आक्रमण गरे अमेरिकाले समर्थन नगर्ने बताएको छ । यसैबीच रुसले अमेरिकालाई चेतावनी दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई इरान र इजरायलमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । पुटिनले इरानमाथि इजरायलको काउन्टर आक्रमणमा अमेरिका सहभागी भए वा कुनै पनि प्रकारले सहयोग गरेमा रूस चुपचाप नबस्ने बताएका छन् । रूसले इरानको समर्थनमा खुलेर उभिने घोषणा गरेको छ ।

यसअघि रुसले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेको थियो । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लायानसँग टेलिफोनमा कुराकानी पनि गरेका छन् ।

इरानको आक्रमणपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानको आक्रमणपछि अमेरिका, बेलायत र फ्रान्स इजरायलको पक्षमा दृढताका साथ उभिए ।

अमेरिका र बेलायतले इरानका धेरै मिसाइल र ड्रोन हावामा खसालेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच फोनमा कुराकानी भएको छ ।

सो क्रममा दुई नेताबीच समसामयिक विषयमा छलफल भएको थियो । बाइडेनले इरानको धम्कीका बिरुद्ध इजरायलको सुरक्षाका लागि प्रतिबद्ध रहेको र त्यसको पक्षमा दृढताका साथ खडा रहेको बताए ।

अमेरिकाले नेतन्याहुलाई इरानको आक्रमणबाट इजरायललाई बचाउने लडाइमा इजरायलको साथमा उभिने तर यदि इजरायलले कुनै पनि ढाँचामा इरानमाथि जवाफी हमला गरे अमेरिकाले साथ नदिने बताएको छ ।

२० वर्षदेखि पदमा रहेका सिंगापुरका प्रधानमन्त्रीद्वारा पद त्याग गर्ने घोषणा

0

काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले सोमबार मे १५ मा राजीनामा दिने बताएका छन् । यससँगै उनले आफ्नो स्थानमा उपप्रधानमन्त्री लरेन्स वोङलाई नियुक्त गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा पद हस्तान्तरणको मिति घोषणा गरिएको हो ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा जारी विज्ञप्तिमा ७२ वर्षीय लीले नेतृत्व परिवर्तन कुनै पनि देशका लागि महत्त्वपूर्ण क्षण भएको बताए। “म मे १५, २०२४ मा प्रधानमन्त्रीको पदबाट राजीनामा दिनेछु र उपप्रधानमन्त्री लरेन्स वोङले आगामी प्रधानमन्त्रीको रूपमा सपथ लिनेछन्,” विज्ञप्तिमा भनिएको छ।

ली सन् २००४ देखि सिंगापुरको तेस्रो प्रधानमन्त्री र सत्तारुढ पीपुल्स एक्शन पार्टीको महासचिवको रूपमा सेवा गर्दै आएका छन्। उनले भने, ‘लरेन्स र उनको टोलीले विशेष गरी महामारीको समयमा मानिसहरूको विश्वास जित्न कडा मेहनत गरेका छन्।’ यो सत्ता हस्तान्तरणको केही महिनापछि सिंगापुरमा चुनाव हुने विश्वास गरिएको छ ।

वोङलाई अप्रिल २०२२ मा प्राइममिनिस्टर-इन-वेटिङको रूपमा नियुक्त गरिएको थियो। यस अवधिमा सिंगापुरको राजनीतिमा एउटा दुर्लभ घटना देखियो। वोंगको अघिल्लो उत्तराधिकारीले अचानक पद त्याग्दा सिंगापुरको नेतृत्व योजना बिग्रिएको थियो । वोङ यसपछि नियुक्त भए ।

‘महिला हिंसा अन्त्य र सामाजिक न्याय कायम गर्न कानुन कार्यान्वयन आवश्यक’

0

मोरङ : समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानुनको कार्यान्वयन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हकहित र अधिकार विषयमा विद्यमान कानुनी व्यवस्था र कार्यान्वयनसम्बन्धी अन्तरक्रियाका सहभागीले तीनै तहको सरकारले महिलासम्बन्धी कानुन कार्यान्वयनको आवश्यक अनुगमन गरे मात्र हिंसा न्यूनीकरण हुने धारणा राखेका हुन् ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले अन्तरक्रियाको उद्घाटन गर्दै समुन्नत समाज निर्माण गर्न महिला र पुरुष दुवैलाई समान व्यवहार हुनुपर्ने बताउनुभयो । उहाँले महिलालाई राज्यले प्रदान गरेको उपलब्धि प्राप्त गर्न थप आन्दोलन जरुरी रहेको धारणा राख्नुभयो ।

आयोगकी केन्द्रीय अध्यक्ष कमलाकुमारी पराजुलीले महिलाको क्षमता विकासका लागि तीन तहको सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । प्रदेशका कायममुकाम प्रमुख सचिव केदारनाथ शर्माले महिला हकहितका लागि प्रदेश मन्त्रालय उत्तरदायी रहेको जानकारी दिँदै महिला हिंसा न्यूनीकरणमा कानुन कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकार गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालका सचिव लक्ष्मीप्रसाद पौडेल, जिल्ला समन्वय समिति मोरङकी उपसंयोजक उषा झा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महिलालाई आत्मनिर्भर बनाउन आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास मन्त्रालय महिला विभाग प्रमुख दुर्गा भण्डारीले लैङ्गिक समानता, महिला सशक्तिकरण र लैङ्गिक हिंसाको अवस्था विषयमा कोशी प्रदेश सरकारको प्रयास विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी

0

काठमाडौँ: सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ ।

सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो । उक्त प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका ५० कलाकारको कलाकृति राखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले उक्त प्रदर्शनीको शुभारम्भ गर्नुभयो । नेता पराजुलीले कला प्रदर्शनीको माध्यमबाट विभिन्न देशबीचको सम्बन्ध थप प्रगाढ भएको बताउनुभयो । उहाँले यस्ता कला प्रदर्शनीले नेपालको कला क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

सोन्जा आर्ट ग्यालरीका अध्यक्ष एवम् होटल आर्ट ठमेलका सञ्चालक चिरञ्जीवी भट्टले नेपालको कला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । सन् २००४ देखि सोन्जा आर्ट ग्यालरीले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको उहाँको भनाइ छ ।

बङ्गलादेशका वरिष्ठ फोटोग्राफर डा इमरान विन युनुसले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु भारत र बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिनुभयो । तीन दिनसम्म चल्ने कला प्रदर्शनीमा बङ्गलादेशका वरिष्ठ कलाकार सफिक अहमद सजिव, अजिजुल कादिर, रफिया अख्तर, भारतीय वरिष्ठ कलाकार रेहेमान पटेल, डा सुवया याम निला, नारायण सुकम्बरलगायतका चित्र राखिएका छन् ।

पाँच देशका छ स्थानमा कला प्रदर्शन गरिसकेको सरोङ आर्ट गुप्रले सातौँ कला प्रदर्शन नेपालमा गरेको गुप्रका अध्यक्ष नारगिस सोमाले जानकारी दिनुभयो । उक्त गुप्रले यसअघि जापान, श्रीलङ्का, बङ्गलादेश र भारतमा कला प्रदर्शन गरिसकेको छ ।

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

0

काठमाडौँ: ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ ।ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीसम्बन्धी प्रणाली प्रयोगमा आएपछि उक्त झन्झटबाट सेवाग्राही मुक्त हुँदै गएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताउनुभयो ।

“उक्त प्रणालीमार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारबाहीको विवरण अभिलेखमा राख्दछ । कति जरिवाना तिर्नुपर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्छ । पटके कसूरको विवरण पनि यस प्रणालीले आफैँ हिसाब राख्नछ”, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो, “नेपाल प्रहरी कार्ययोजना, २०८० ले व्यवस्था गरेको प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने लक्ष्य अनुरूप आधुनिक प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई थप चुस्त बनाउन उक्त प्रणाली महत्वपूर्ण बनेको छ ।” उहाँका अनुसार हालसम्म ४५ जिल्लामा यो प्रणाली कार्यान्वयनमा आएको छ ।

प्रणालीले ट्राफिक जरिवाना असूल गर्न र सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा प्रहरीले गरेको छ । धेरै अघिदेखि सुरु गरिएको टिभिआरएस प्रणाली समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/७७ देखि हालको अवस्थामा काठमाडौँ उपत्यकामा उक्त प्रणाली सञ्चालनमा आएको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ३१ लाख ४७ हजार नौ सय ५३ वटा ट्राफिक नियम उल्लङ्घनका घटना यस प्रणालीमा दर्ता भएका छन् । जसबाट कूल रु दुई अर्ब ३३ करोड दुई लाख २८ हजार नौ सय ६४ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । प्रणाली सञ्चालनसँगै सर्वसाधारणले ट्राफिक जरिवाना पारदर्शी रूपमा सहजै तिर्न पाएका छन् ।

टिभिआरएस प्रणालीको विकास र अनुगमन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ । निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार भण्डारीले सेवाग्राहीको सहजताका लागि यो प्रणालीको विकास गरिएको भन्दै यसको सफ्टवयरले ट्राफिक नियम उल्लङघन गर्नेको नाम, सवारी साधनको नम्बर र कसूरको प्रकार ट्र्याक राख्ने जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार विभिन्न नियम उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना तथा कारबाही गर्छ । कारबाहीमा परेका व्यक्तिको चिट नम्बर र लाइसेन्स नम्बर, ब्ल्यु बुक, नाम र अन्य विवरण इन्ट्री गरिन्छ । कारबाहीमा परेका व्यक्तिले अनलाइनमार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखामा गई जरिवाना बापतको राजस्व रकम भुक्तान गर्न सक्नेछन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले यस प्रणालीले ट्राफिक कारबाही गर्न पटके हो वा होइन हेर्न सजिलो बनाएको बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीलाई पनि आफ्नो अभिलेख कहाँ छ र कसरी लिने भन्ने सजिलै थाहा पाउन सकिने बनाएको छ ।

अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट

0

काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज गणतन्त्र कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको भ्रमण टोलीले भेट गरेको हो ।

भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध,संसदीय अनुभव आदानप्रदान र आपसी सहयोगका विषयमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझै उँचाइमा पुर्याउन आगामी दिनमा संसदीय अनुभव आदानप्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

“संसद् जनताको सरोकारसँग जोडिने संस्था भएकाले संसदहरुको सम्बन्ध सुदृढ गर्न जनताबीचको सम्बन्ध सुदृढ गर्न जरुरी छ”, अध्यक्ष दाहालले भन्नुभयो, “तपाईंहरुको नेपाल भ्रमणले हाम्रो सम्बन्ध थप घनिष्ट र सुदृढ भएको मैले महसुस गरेको छु ।”

कोइकामार्फत कोरियन सरकारले नेपालको जलविद्युत्, कृषि, अटोमोबाइल्सलगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै उहाँले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।

नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि उक्त प्रतिनिधि मण्डलमार्फत आग्रह गर्नुभयो । भेटका क्रममा कोरिया–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्दत गरेको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटोछरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले नेपालमा आफू यसअघि पनि धेरै पटक आइसकेको चर्चा गर्दै हरेक पटक आउँदा केही न केही नयाँ विकास भएको पाएको उहाँले बताउनुभएको थियो ।

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

0

झापा: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । मेचीनगर नगरपालिकाद्वारा सीमा सुरक्षालगायत समसामयिक विषयमा आज आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुला सिमानाको फाइदा उठाएर अवैध व्यापार नगर्न आग्रह गर्नुभएको हो । उहाँले अवैध व्यापारको बढोत्तरीका कारण राज्यले राजस्व गुमाइरहेको विषयमा चिन्ता प्रकट गर्नुभयो ।

उहाँले नेपालमा उत्पादित कृषिजन्य सामग्रीको बजारीकरणको लागि उद्योग वाणिज्य सङ्घ, अन्य सङ्घसंस्था र जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले कोभिड महामारीपछि पूर्वी नाकाबाट ठप्प भएको तेस्रो देशको पर्यटक आवागमन खुलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने बताउनुभयो ।

“मन्त्री फेरबदल भइरहे पनि नेपालको तर्फबाट पर्यटन आगमनलाई सहज बनाउन भारत सरकारसँग कुराको उठान भइरहेको छ”, उहाँले भन्नुभयो, “तर भारतीय तर्फबाट सन्तोषजक जवाफ आएको छैन । कूटनीतिक ढङ्गले समस्या समाधान गर्न सरकार लागेको छ ।” कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले पूर्वी नाका काँकरभिट्टा हुने कारोबार, पर्यटकलाई सहज नेपाल प्रवेश गराउन गर्नुपर्ने पहल, भन्सारभित्रै अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय ल्याब, बङ्गलादेशका पर्यटकलाई काँकरभिट्टाबाट एराइभल भिसाको व्यवस्थालगायतका १५ बुँदे माग राखेर ध्यानाकर्षण पत्रसमेत सभामुख घिमिरेलाई बुझाउनुभएको छ ।

कार्यक्रममा मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले आसामबाट पूर्वी नाका भएर आउने कोइला विहार हुँदै अन्य नाकाबाट नेपाल प्रवेश हुँदा यहाँको राजस्व घटेको बताउनुभयो । उहाँले बङ्गलादेशसँगको व्यापार र पर्यटक आगमन बढाउनका लागि पहल गर्न सभामुखसमक्ष आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारीकर्मी रामचन्द्र उप्रेती, नगरपालिकाका पूर्वप्रमुख विमल आचार्य, उद्योग वाणिज्य सङ्घका पूर्वकेन्द्रीय सदस्य केशव पाण्डे, कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनाली, सुपारी व्यवसायी नीलकण्ठ तिवारी, मेची उद्योग वाणिज्य सङ्घका महासचिव दिनेश शाक्यलगायतले कोभिडपछि पूर्वी नाकाबाट आउने पर्यटक आगमन रोकिएको, कृषिजन्य वस्तुको निकासीको समस्यालगायतका विषयमा सभामुख घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।