Tuesday, May 12, 2026
Home Blog Page 849

पीडितको भावनाअनुरुप न्याय पाउनुपर्ने द्वन्द्वपीडितको माग

0

काठमाडौँ: पीडितको भावनाअनुरुप सरकारले न्याय दिनुपर्ने द्वन्द्वपीडितको माग रहेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा द्वन्द्वपीडित गीता रसाइलीले द्वन्द्वमा बलात्कार र यौनजन्य हिंसाबाट पीडितको गोपनीयता राख्दै पीडक पहिचान गर्न सरकारसमक्ष अनुरोध गर्नुभयो ।

“द्वन्द्वकालमा महिलाले भोगेको यौनजन्य गम्भीर अपराधलाई सुरक्षित र गोपनीयता अपनाइ छानबिन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकार पक्ष संवेदनशील नभइदिँदा धेरै पीडित पीडा लुकाएर बस्न बाध्य हुनुहुन्छ ।”

सञ्चारिका समूह र इन्टरनेशनल कमिसन अफ जुरिस्टले संयुक्तरुपमा ‘सङ्क्रमणकालीन न्याय’ का विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा अधिवक्ता काशीराज ढुङ्गाना, लक्ष्मी पोख्रेल र सञ्चारिका समूहका सचिव दुर्गा कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अधिवक्ता काशीराज ढुङ्गानाले १० वर्षे जनयुद्धका पीडितले अहिलेसम्म सङ्क्रमणकालीन न्याय नपाउनुमा राज्यको गैरजिम्मेवारीपन रहेको बताउनुभयो । समाजमा विभेद र असमानताको कारण द्वन्द्व सिर्जना भएको र अहिले पनि पीडितले न्याय नपाए पुनःद्वन्द्वात्मक विद्रोह हुनसक्ने उहाँको भनाइ थियो ।“द्वन्द्वरहित समाज निर्माण गर्न राज्यले न्यायपूर्ण व्यवस्था ल्याउनुपर्छ”, उहाँले भन्नुभयो,“तर हामीकहाँ पीडित पीडामै छन् ।”

अधिवक्ता लक्ष्मी पोख्रेलले द्वन्द्वकालमा पीडित महिलाको अवस्था पृथक रहेको बताउनुभयो । द्वन्द्वपीडितमा महिलामाथि भएको बलात्कार र यौनजन्य अपराधलाई गम्भीर मानव अधिकार हननका रुपमा हेरिनुपर्ने उहाँको जोड थियो । पीडित महिलाको वास्तविक पीडा उजागर गर्दा सरकारले पीडितको संवेदनशीता र गोपनीयता अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । “खुला र सार्वजनिकस्थलमा द्वन्द्वपीडित महिलाले कुरा राख्न सक्दैनन्”, उहाँले भन्नुभयो, “सरकारले गोपनीयतासँगै सुरक्षाको ख्याल राख्नुपर्छ ।”

मिडियामा द्वन्द्वपीडितका पक्षमा समाचार लेखन कसरी गर्ने भन्ने विषयमा सञ्चारिका समूहका सचिव दुर्गा कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

“पत्रकारले पीडितका वास्तविक तर लुकेका कुरा बाहिर ल्याउन मद्दत गर्छ, यो काम सङ्क्रमणकालीन न्याय दिलाउन पुलको भूमिका निर्वाह गर्नु हो”, उहाँले भन्नुभयो, “तर मिडियाले पीडितको गोपनीयताको सम्मान भने गर्नैपर्छ ।”

सत्य र मेलमिलाप आयोगले निकालेको २०८० को तथ्याङ्कमा हालसम्म ६४ हजार द्वन्द्वपीडितले उजुरी दिएका छन् । जसमा महिलाको सङ्ख्या तीन सय १४ रहेको छ ।

अधिवेशन आह्वानप्रति कांग्रेसको असहमति

0

गण्डकी: नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ । पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आज विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा असन्तोष जनाउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ “सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न सिफारिस गर्नु र माननीय प्रदेश प्रमुखले बैठक आह्वान गर्नु गैरजिम्मेवार कदम हो । ” गण्डकी प्रदेशमा सभामुखसमेतको संलग्नतामा गत चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुुनुुभएको विषयलाई कांग्रेसले असंवैधानिक भएको जनाउँदै गत चैत २७ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो ।

सर्वोच्चले चैत २८ गते हालको सरकारलाई मुद्दाको टुङ्गो नलाग्दासम्म प्रदेश सरकारका नियमित कार्य सञ्चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । साथै उक्त मुद्दालाई अग्राधिकार दिएर यही वैशाख १० गतेका लागि पेसी तोकिएको थियो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ (१) बमोजिम वैशाख ७ गते ३ बजेदेखि बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ ।

स्ट्रबेरी खेतीमा रमाउँदै काभ्रेका मुक्ति

0

काभ्रेपलाञ्चोक: बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गर्नुभएको व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै लैजानुभएको छ ।

कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टदे भने स्वरोजगार बन्ने जुक्ति निकाले स्ट्रबेरी खेती सुरु गर्नुभक्एो थियो । उहाँ उक्त काममा कत्तिपनि विचलित नभइ निरन्तरको मेहनतले व्यवसायको दायरा बढाउँदै रमाइरहनुभएको छ ।

दैनिक हजाराैँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै केही गरौँ भन्ने लाग्नलाई विष्टको स्ट्रबरी खेती उदाहरणीय बन्ने गरेको छ । अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै आउनुभएको छ । उहाँले आफ्नै माटोमा बगाउनुभएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको बताउनुभयो ।

विष्टले आफ्नो १० रोपनी जग्गामा स्ट्रबेरी रोपेर युवालाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने अभियानमा लागेको बताउनुभयो । बयालीस वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको होइन । रुले रोपेको देखेर र भनेको सुनेको भरमा काम थालेको उहाँको भनाइ छ ।

गतवर्ष स्ट्रबेरी बेचर सबै खर्च काट्दा पनि रु ४० लाख मुनाफा भएको विष्टले जानकारी दिनुभयो । उहाँले यसवर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यसबाट गत वर्षभन्दा बढी आम्दानी हुने बताउनुभयो ।

उहाँले स्ट्रबेरी खेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोप्नुभएको छ । विष्टले भन्नुभयो, “बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरुवा उत्पादन गर्न थालेको छु ।” उहाँले चितवन, नवलपरासी र बारामा स्ट्रबेरी खेतीका लागि अध्ययन भइरहेको भन्दै गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेको जानकारी दिनुभयो ।

दुई महिनामा हुर्केको स्टेबरीले उत्पादन दिन थाल्छ । हाल स्ट्रबेरीको बजारमा प्रतिकेजी रु तीन सयदेखि रु सात सयसम्ममा बिक्री हुने गरेको विष्टले बताउनुभयो । बनेपा र आसपासका किसानले खेतमै आएर हेर्ने र किनेर लैजाने गर्न थालेका उहाँको भनाइ छ ।

“आजभोलि दैनिक बेरी खेती हेर्न आउने क्रम बढ्दैछ । उहाँहरु आएर हेर्नुहुन्छ अनि फर्किँदा किनेर लैजानुहुन्छ । बजारको भन्दा यहाँ केही सस्तो पर्ने भएकाले पनि उहाँहरुले लैजाने गर्नुभएको छ”, विष्टले भन्नुभयो । उहाँका अनुसार उत्पादित स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडाँै, पोखरा तथा चितवनसम्म जाने गरेको छ ।

उहाँले भन्नुभयो, “देशका प्रमुख सहरमा मेरा उत्पादन पु¥याउने लक्ष्य लिएको छु, स्ट्रबेरीका बिरुवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ । त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।” प्रतिबिरुवा रु २५ देखि रु ३० सम्ममा बिक्री हुने गरेको विष्टले जानकारी दिनुभयो ।

करिब रु ४० लाख लगानीबाट थालिएको व्यवसायमा अहिले उहाँको रु दुई करोड लगानी पनि थपिएको छ । अमर भूमण्डलीय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी नयाँनयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको हो ।

“सुरुआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुप¥यो, अहिले त्यस्तो छैन”, विष्टले भन्नुभयो । उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ भएको उहाँले अनुभव सुनाउनुभयो ।

विष्टको व्यवसायमा अहिले स्ट्रबेरी मात्र छैन, करिब दुई सय बोट ड्रागनफ्रुट पनि उत्पादन हुने क्रममा रहेका छन् । परीक्षणका रुपमा रोपिएका ड्रागनफ्रुटको उत्पादनलाई हेरी व्यवसायिकता दिने सोचमा उहाँ हुनुहुन्छ । फार्ममा स्थानीयवासीले रोजगारी पाएका छन् । तीन जनालाई नियमित तथा दैनिक आवश्यकता अनुसार कामदार लगाउने गरेको विष्टको भनाइ छ ।

हाल मुक्तिको व्यवसायमा कुखुरापालन र बाख्रापालन पनि देख्न सकिन्छ । उहाँको फार्ममा पाँच सयदेखि एक हजारसम्म कडकनाथ जातका काला कुखुरा छन् । जसबाट उत्पादन भइरहेको अण्डा र मासु बिक्री भइरहेको छ ।

व्यवसायका लागि विष्टले वित्तीय संस्थाबाट ऋण लिएको बताउनुभयो । “अहिलेसम्म सरकारी अनुदानमा ऋण पाएको छैन, प्रयास गर्दैछु । सरकारले पौरखी किसानलाई सहुलियत ऋण दिए व्यावसायिक कृषि उत्पादनमा लाग्नेको सङ्ख्या बढ्नसक्छ र युवा विदेशिने क्रम घट्ला कि !”, उहाँले भन्नुभयो ।

गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै

0

कालुखेती (बझाङ): भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ । परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति बालबालिका आकर्षित देखिन थालेका हुन् ।

सुशील जोशी दुर्गा महालिङ माविमा सात कक्षामा अध्ययन गर्नुहुन्छ । ११ वर्षीय सुशील गाउँमा दुई वर्षदेखि क्रिकेट खेलिरहनुभएको छ । उहाँ भारतीय क्रिकेट स्टार विराट कोहलीको खेलबाट प्रभावित भएको बताउनुहुन्छ । कोहलीको खेल कुन दिन, कुन समूहसँग हुन्छ भन्ने उहाँलाई प्रायः थाहा भइरहन्छ ।

फुर्सद भयो कि सुशीलसहित मेखराज, सुवास, टङ्क, खेमराज, सायदको टोली खुला चौरमा क्रिकेट खेल्न जानुहुन्छ । खेल खेल्दै गर्दा आफूलाई क्रिकेटका वादशाह धोनी, कोहली, रोहित शर्मालगायत नेपाली क्रिकेटका नाममा आफूलाई चिनाउँनुहुन्छ ।

गणेश जोशी क्रिकेटमा लामो सर्ट हान्नसक्ने हुँदा दीपेन्द्रसिंह ऐरीलाई सम्झनुहुन्छ । दीपेन्द्रको खेलबाट प्रभावित भएको बताउने उहाँले ब्याडिङ गर्दा ‘छक्का दीपेन्द्र’ भन्दै सके जति बल टाढा फाल्ने कोसिस गर्नुहुन्छ । टिमका सहभागीले पनि दीपेन्द्रको चौका छक्का सुरू भन्दै हुटिङ गर्छन् । त्यसपछि गणेशले सके जति बल ढाढा फाल्नुहुन्छ ।

खप्तडछान्ना–५ पिठातोलाको सुकिला ढङ्गमा खुला चौर हुँदा हरेक साँझ बालबालिका जम्मा भएर क्रिकेट खेल्छन् । क्रिकेटका सबै नियम थाहा पाएका बालबालिका आफैँले बनाएको काठको ब्याड र कपडाको बलले क्रिकेट खेल्ने गरेको सुवास जोशीले बताउनुभयो ।

“पहिले–पहिले टाइमपास, डण्डिबियो, चुन्नी, आरामविश्राम (खुट्टाले खेलिने) खेल्थ्यौँ । आजभोलि कसले चौका÷छक्का हान्छ, कसले विकेट लिन सक्छ भनेर क्रिकेट खेल्न रूचि लाग्छ”, उहाँले भन्नुभयो ।

सुवासका अनुसार गाउँघरमा सबै बालबालिकाको नजरमा क्रिकेट नै हुन्छ । “राति मोबाइलमा क्रिकेट हेर्ने र दिउँसो अभ्यास गर्दैगर्दा क्रिकेटको लत बसेको थाहै भएन”, उहाँले भन्नुभयो ।

पिठातोलामा बालबालिकाले क्रिकेट खेल्न थालेको धेरै भएको छैन । भरत खत्रीले भन्नुभयो, “हाम्रो पालामा पुरानै खेलहरू खेलिन्थे । अहिले गाउँघरमा सबैका हालमा मोबाइल फोनहरू छन् । नेटवर्कले राम्रै काम गर्छ । इन्टरनेट पनि फोरजी चल्न थाल्यो । बालबालिका मोबाइलमै झुम्मिन थाले । सदरमुकाम चैनपुर, प्रदेश राजधानी धनगढीसम्म पनि आवतजावत हुन थाल्यो । त्यो ठाउँमा देखे । गाउँमा पनि खेल्न थाले ।”

खत्रीका अनुसार खप्तडछान्नामै पिठातोला धेरै पछाडि परेको गाउँ हो । “अन्य ठाउँभन्दा पछाडि पिठातोला छ । त्यही ठाउँमा पनि क्रिकेटलाई माया गर्न नयाँ पुस्ता देखिएका छन् । अहिले हेर्दा त नयाँ पुस्ताको मन मस्तिष्कमै क्रिकेट देखिन्छ”, उहाँले भन्नुभयो ।

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

0

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् ।

ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।

ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।

 

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

0

गोरखा: गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ ।

विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

“नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि कक्षा १ मा छोराछोरीलाई भर्ना गराउने अभिभावकलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “यसले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने चेतनाको विकास पनि गर्न सकोस् भन्ने पनि चाहाना हो ।”

सामुदायिक विद्यालयमा घट्दो क्रममा रहेको विद्यार्थी संख्यालाई बढाउन नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमाको नयाँ नीति ल्याएको नगरप्रमुख रानामगरको भनाइ छ । “पछिल्लो समय कमजोर आर्थिक अवस्था भएका अभिभावकले मात्र छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अवस्था छ”, उहाँले भन्नुभयो, “यसले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग पनि पुग्ने र सरकारी विद्यालयमा बालबालिका पढाउनुपर्छ भन्ने भावना जागृत गराउन पनि मद्दत पुग्छ भन्ने विश्वास छ ।”

कार्यक्रम कार्यान्वयन गर्न चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेट अपुग भए थप गर्न सकिने उहाँले बताउनुभयो । विनियोजित बजेटअनुसार विद्यार्थी भर्नासँगै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम हुँदा नगरपालिकाभित्रका दुई सय ८५ परिवार लाभान्वित हुनेछन् ।

आगामी आर्थिक वर्षदेखि अन्य कक्षामा पनि सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने योजना नगरपालिकाले बनाएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । यो कार्यक्रमले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको स्वास्थ्य र शिक्षा दुवै निःशुल्क हुने उहाँको भनाइ छ ।

नगरपालिकाभित्र सञ्चालन भइरहेको विद्यालय भर्ना अभियानमा क्रममा अहिले घरघरमा पुगेर विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले नगरपालिकाले ल्याएको कार्यक्रमका बारेमा अभिभावकलाई जानकारी गराइरहेको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।

“कमजोर आर्थिक अवस्था भएका धेरैले स्वास्थ्य बीमा गर्न नसकेको अवस्था पनि छ”, उहाँले भन्नुभयो, “हामीले ल्याएको यस कार्यक्रमले उहाँहरुको स्वास्थ्य बीमा पनि हुने र विद्यालय भर्ना अभियान पनि प्रभावकारी हुन्छ भन्ने लागेको छ ।” नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमाका बारेमा सबै विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गराएर अभिभावकको घरघरमा पठाएको छ ।

“नगरपालिकाले गरिदिने स्वास्थ्य बीमाले एउटा परिवारका पाँच जनासम्मले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा गराइसकेका अभिभावकको हकमा भने कार्यक्रम लागू हुँदैन ।” अन्य पालिकाबाट आएर गोरखा नगरपालिकामा अस्थायी बसोबास गरेकाहरुलेसमेत आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरे निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउने उहाँको भनाइ छ ।

नगरपालिकाले यसअघि नगरपालिकाभित्र सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्ना छोराछोरीलाई अनिवार्यरुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ ।

 

अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त

0

वासिङ्गटन डिसी: अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

हाल अमेरिकामा रहनुभएका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजना गरेको राउण्ड टेवल छलफलमा सो आग्रह गर्नुभएको हो ।

कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्नली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राख्नुभएको थियो । सो कार्यक्रममा नेपालमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरुको समेत सहभागिता रहेको थियो ।

नेपालमा वैदेशिक लगानी भित्र्याउने अभिप्रायले गर्न लागिएको तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते आयोजना गरिएको छ ।

यसैबीच अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षहरु अकिहितो निशीओ र गुन्जे चेनसँग भेटघाट गर्नुभएको छ । चेनसँगको भेटघाटमा मन्त्री पुनले उपल्लो अरुण जलविद्युत् आयोजनाका लागि बैंकको लगानीसम्बन्धी विषयमा छलफल गर्नुभएको थियो ।

यसैगरी अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग भेट गरी अर्को चरणको निगमको लगानीमा विस्तार गर्नेबारेमा समेत छलफल गर्नुभएको थियो । निगमले नेपालमा साना व्यवसायको वित्तीय साधन पहुँचका लागि महिलाहरुले सञ्चालन गरेका फर्म तथा पर्यावरणमैत्री आयोजनाका लागि ग्लोबल आइएमई बैंकमार्फत पाँच करोड ६० लाख डलर बराबरको लगानी गरेको छ ।

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

0

काठमाडौँ: निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको स्मरण गराइएको छ ।

त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रतिकमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउनपूर्ण रूपमा निषेध गरिएको छ । आचार संहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ । अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन एकाइ गठन गरी कार्य हुने भएको छ ।

आमसञ्चारमाध्यमबाट हुने गलत, भ्रामक, झुटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चारमाध्यमको अनुगमन तथा कानुनबमोजिम आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालसमक्ष पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

0
A view of plywood industry in Jhapa in July 2021 . Photo courtesy: Lalan Yadav

राँझा (बाँके): बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ । उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताउनुभयो । “कामको खोजीमा दैनिक भौतारिनुपथ्र्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,” उहाँले भन्नुभयो ।

स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताउनुभयो । उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताउनुभयो । देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उहाँले बताउनुभयो ।

उद्योगमा ट्रेड युनियन गठनका नाममा काममा अवरोध भएको प्रति उहाँलाई चित्त बुझेको छैन । आफूलाई उद्योग नै बन्द गराउने ट्रेड युनियन नचाहिएको उहाँले बताउनुभयो । “ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि केही दिन उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ”, उहाँले भन्नुभयो । उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताउनुभयो । अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उहाँले जानकारी दिनुभयो । उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा दैनिक करिब रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगले मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ, घाटामा गएको उद्योगले अहिले तत्काल मजदुरको पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्था छैन, तर परिस्थिति सुध्रिनासाथ मजदुरको सेवा सुविधा र सङ्ख्या बढाउँदै लैजाने हाम्रो सोच छ ।” ट्रेड युनियन गठनले कर्मचारी विभाजित उद्योग पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गर्ने काम भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको गुनासो छ ।

अहिले सञ्चालन हुँदा दैनिक रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योग बन्द हुँदा दैनिक रु १० लाखभन्दा बढी घाटा हुने भएकाले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन उहाँले अनुरोध गर्नुभएको छ । स्थानीयवासीको बाहुल्य रहेको उक्त उद्योगमा तीन सय बढी मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा नरहेका गैरमजदुरलाई सङ्गठित गरी जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि त्यहाँ कार्यरत मजदुर त्यसको विपक्षमा उत्रिएका छन् । उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर सङ्घले शान्ति रानाको नेतृत्वमा मजदुर सङ्घ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर विष्टले सङ्घको नेतृत्व गरेकी रानासहितका अधिकांश सदस्य उद्योगमा कार्यरत नै नरहेको बताउनुभयो ।

उहाँले उद्योगमा कार्यरत नै नरहेका फर्जी नाम राखेर ट्रेड युनियन गठन गरेकामा आपत्ति जनाउनुभयो । ट्रेड युनियनकी अध्यक्ष रानाले आफूहरूले मजदुरको हकहितका लागि ट्रेड युनियन खोलेको बताउनुभयो । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उहाँको आरोप छ । ट्रेड युनियन गठनसँगै मजदुर विभाजित भएका छन् । अधिकांश मजदुर उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् ।

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

0

गोरखा: जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताउनुुभयो । शिविरमा नौ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।