Friday, May 15, 2026
Home Blog Page 734

ट्रम्पमाथि गोली हान्ने व्यक्ति उनकै पार्टीका दर्तावाल २० वर्षीय सदस्य

0

काठमाडौं । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली हान्ने व्यक्ति २० वर्षका थोमस म्याथ्यू क्रक्स भएको बताएको छ । उनी ट्रम्पकै पार्टीको दर्तावाल सदस्यसमेत रहेको प्रहरीले बताएको छ।

थोमस म्याथ्यू क्रूक्स पिट्सबर्गको उपनगर बेथेल पार्कमा बस्थे । उनी बस्ने ठाउँ ट्म्पलाई गोली हानिएको ठाउँबाट करिब ३५ माइल दक्षिणमा पर्छ ।

स्थानीय मिडिया रिपोर्टका अनुसार उनले सन् २०२२ मा बेथेल पार्क हाई स्कुलबाट स्नातक गरेका थिए। विद्यालयमा त्यतिबेला भएको कार्यक्रमको भिडियोबाट यो कुरा पुष्टि गर्न सकिने सीएनएनले जनाएको छ ।

पेन्सिलभेनियाको मतदाता डेटाबेसमा उनको नाम, उमेर र बेथेल पार्क ठेगानासँग मेल खाने सूची भेटिएको छ । यो सूचीअनुसार उनी डेटाबेसमा रिपब्लिकन मतदाताको रूपमा सूचीकृत थिए । यस वर्षको राष्ट्रपति चुनाव उनले मतदान गर्न पाउने पहिलो निर्वाचन हुने थियो।

क्रुकको नाम ठेगाना सहित सबै विवरणहरू मेल खाने दाताले जनवरी २०२१ मा प्रोग्रेसिभ टर्नआउट प्रोजेक्ट भनिने डेमोक्र्याटिक-एलाइन्ड राजनीतिक कार्य समितिलाई १५ डलर दिएको सङ्घीय निर्वाचन आयोगको रेकर्डले देखाउँछ। यो दान उनले नै दिएको मानिएको छ ।

शनिबार राति सिएनएनले सम्पर्क गर्दा क्रूक्सका बुबा म्याथ्यू क्रूक्सले उनी “के भइरहेको छ” भनेर पत्ता लगाउने प्रयास गरिरहेको तर आफ्नो छोराको बारेमा कुरा गर्नु अघि “कानून प्रवर्तनसँग कुरा नगरेसम्म पर्खने” बताएका थिए ।

कानुन प्रवर्तन अधिकारीहरूका अनुसार सिक्रेट सर्भिसका एजेन्टहरूद्वारा मारिनुभन्दा केही अघि र्यालीको सुरक्षा परिधि बाहिर नजिकैको भवनको छतमा बसेको बेला क्रुक्सले ट्रम्पमाथि गोली हानेका थिए।

उनको शरीरमा उनलाई सजिलै चिन्न सकिने कुनै पहिचान थिएन । त्यसैले एजेन्टहरूले उनको पहिचानला लागि मारिएका आक्रमणकारीको डीएनए रिपोर्ट र बायोमेट्रिक पुष्टि गर्नुपरेको एफबीआईको पिट्सबर्ग फिल्ड अफिसका प्रभारी विशेष एजेन्ट केभिन रोजेकले पत्रकार सम्मेलनमा बताए ।

आक्रमणमा र्यालीमा सहभागी एकजनाको मृत्यु भएको थियो भने अन्य दुई जना गम्भीर घाइते भएका थिए।

 

डेलिगेट भण्डारीलाई अमेरिकामा विधायिकी नेशनल अवार्ड

0

मेरिल्याण्ड। नेशनल एशोसियसन अफ डेफ (एनएडि) ले मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट डा हयारी भण्डारीलाई नेशनल लेजिष्लेटिभ (विधायिकी ) अवार्डले पुरस्कृत गरेको छ।

भण्डारीले अमेरिका भरिका विधायकहरुवाट उनीहरुले निर्माण गरेका कानूनको प्रभावकारिताको आधारमा छनौट गरि दिइने अवार्ड प्राप्त गरेका हुन्। भण्डारी अमेरिकामा नेपाली मूलका पहिलो विधायकको रुपमा दुई पटक सम्म निर्वाचित जनप्रतिनिधि हुन्।

अमेरिकाको शिकागो राज्यमा आयोजित ५७ औ नेशनल कन्भेन्सन अफ डेफमा नागरिकको अधिकारको लागि सुनिश्चित गर्दे आएका र सन् १८५० मा अमेरिकाको न्यूईग्ल्याण्डमा स्थापना भएको नेशनल एशोसियसन अफ डेफले भण्डारीलाई उक्त अवार्डले विभुषित गरेको हो।

श्रवण,दृश्य शक्ति कमजोर भएका र पूर्ण रुपमा अपांगता भएका लाखौ अमेरिकीहरु र उनीहरुको परिवारको लागि जीवनस्तर उकास्नको लागि वकालत गर्दै आएको उक्त संस्था अमेरिकामा भएका सवैभन्दा पुरानो ईतिहास बाेकेको संस्था हो।

उक्त संस्थाका सदस्यहरुमा युएस मेम्बर अफ दि वल्र्ड फेडेरेशन अफ दि डेफ जस अन्र्तगत एक सय विस देशका एशोसियसन अफ डेफका सदस्य रहेका छन्।

अमेरिका र विश्वभरिवाट जम्मा भएका उक्त क्षेत्रका व्यक्तिहरुको सामु भण्डारीलाई अवार्ड प्रस्तुत गरिएको थियो। उक्त सम्मेलन जुलाई १ देखि ६ तारिखसम्म शिकागोमा जारी छ।

सिभिल राईटको क्षेत्रमा विगत १७० वर्ष भन्दा वढी वर्षदेखि काम गर्दे आएको उक्त संस्थाको हरेक दुई वर्षमा हुने सम्मेलनमा अमेरिका भरिवाट विधायकहरुले पास गरेको विधयेकको आधार र प्रभावकारितामा उक्त अवार्ड प्रदान गरिन्छ।

एक राज्यले पास गरेको विधयेकको विषयलाई अरु राज्यमा पनि प्रभावकारिताको आधारमा कानून निर्माणको लागि मार्ग प्रशस्त हुन्छ। त्यसलाई आफनो सदस्य राष्टहरुमा पनि त्यसको अध्ययन, अनुसन्धान र तथ्यांकको आधारमा प्रमाणित गर्दे सर्वस्वीकार्यताको मापदण्डलाई समेत उत्कृष्ठ नमूनाको रुपमा लिँदै उक्त विधयेकलाई सन्दर्भ सामाग्रीरुपमा उपयोग गर्दे अनुवन्ध गरिन्छ। त्यसरी पास गर्ने विधायकहरुलाई एउटा च्याम्पेनको रुपमा ईतिहासमा दर्ज गरिन्छ।

मेरिल्याण्ड जनरल एसेम्वलीमा दोश्रो पटक निर्वाचित भएर डा भण्डारीले २३ विधयेक पास गराउन सफल हुनु भएको छ। त्यस मध्येको एउटा विधयेक डेफ एण्ड हेयरिङ सम्वन्धि विधयेक रहेको छ, उक्त विधयेकले सिनेमा घरहरुमा श्रवण शक्ति कमजोर भएकाहरुको लागि “ओपन क्याप्सन” मार्फत अडियोको सम्वाद प्रस्तुत गर्न बाध्यकारी वनाएको छ ।

पाँच वर्ष अगाडि डेलिगेट भण्डारीले बनाउनु भएको विधयेकले श्रवण शक्ति कमजोर भएका अभिभावकहरुले आफना सन्तान सँग हुने सम्वादमा अभिभावकहरुले सांकेतिक भाषामा समस्या भएको अनुसन्धानले देखाएकोले उनीहरुलाई निः शुल्क शिक्षाको लागि समेत वाईपार्रेटेशन विल रुपमा पारित गराएका थिए। साथै, उनीहरुलाई आवश्यक शैक्षिक सामाग्रीहरु पनि उपलब्ध गराउने व्यवस्था भएको थियो।

शिकागोमा अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै भण्डारीले भने, “नागरिकको सेवामा खटिएको र नागरिकले निर्वाचन मार्फत आवश्यक कानून वनाउन निर्वाचित गरेकाले हरेक वर्ग र तप्काको नागरिक अधिकार मेरो पहिलो प्राथमिकता हो।” उनले थपे, ‘मैले सदैव आवाज विहीनहरुको आवाज वन्न कोशिस गर्दे आएको छु, मैले मेरिल्याण्डवाट पास गरेको विधयेकले भवितव्य या अन्य कारणले श्रवण,दृश्य शक्तिलाई गुमाउनु भएकाहरुको हक अधिकार एउटा मानव अधिकारको अभिन्न अंग हो भन्ने आत्मसात गरेर नै सो विधयेक संसदमा प्रस्तुत गरेको थिए ।आवाजविहीनहरुको आवाज वन्न चुनौतीपूर्ण हुन्छ।’

 

गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गर्नेलाई जरिवानासहित जेलसजाय

0

काठमाडौँ । प्रसिद्ध गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरी नक्कली ऋण लिनेहरूलाई विशेष अदालतले एकदेखि चार वर्ष कैद सजाय सुनाएको छ । अदालतले घटनामा संलग्न दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरेको हो ।

विशेष अदालतका सदस्यहरू डा.खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवाना पनि गरेको छ ।

विशेष अदालतले उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४ वर्ष कैद सजायको फैसला गरेको छ भने मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई–दुई वर्षका दरले कैद फैसला गरेको छ । सो अदालतले असार ३० गते उनीहरूको सजाय निर्धारण गरेको हो ।

त्यस्तै रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशल प्रधानलाई एक–एक वर्षका दरले कैद सजाय तोकिएको अदालतले जनाएको छ ।

यसअघि फर्जी कागजातका आधारमा ऋण लिएर बैङ्किङ कारोबार गरेको भन्दै प्रहरीले मुक्तिनाथ गौतम, यसकुमार महर्जन, सोनु ठाकुर, राजेश कुमार चौरसिया र कुशल प्रधानलाई मुद्दा चलाउने राय दिएको थियो ।

 

कांग्रेस–एमालेको भागबन्डा मिल्यो, यस्तो छ मन्त्रालय बाँडफाट

0

काठमाडौँ: नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा छिनोफानो लगभग तय भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डाको अन्तिम टुंगो लागेको हो।

दुवै दलका नेताहरुका अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ ।

यता एमालेको भागमा भने अर्थसहित भौतिक पूर्वाधार तथा यातायात,सञ्चार तथा सूचना प्रविधि र शिक्षा मन्त्रालय परेका छन् ।

त्यसबाहेक शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेको भागमा परेको छ । बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको छ ।

साना दल जसपा, जसपा नेपाल,लोसपा, जनतम सरकारमा जाने तयारीमा छन् ।

एमालेका एक नेताका अनुसार यी मन्त्रालय भागबन्डामा दुवै दल सहमति भए पनि सरकारमा सहभागी हुने दल थपघट भएमा केही परिवर्तन हुनसक्नेछन् । योसँगै नेपाली कांग्रेस र एमालेबाट मन्त्री हुनेको सुची तयार पार्न शीर्ष नेताहरू लागि परेका छन् ।

नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

0

काठमाडौँ: यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ ।
कारोबारको पहिलो दिन आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।

आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बैङ्किङ तीन दशमलव ७४ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ ।

विकास बैङ्क एक दशमलव २०, वित्त एक दशमलव ३३, होटल तथा पर्यटन एक दशमलव ०७, लगानी एक दशमलव ३० र जीवन बीमा समूह दुई दशमलव ०५ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन दुई दशमलव ६६, लघुवित्त शून्य दशमलव ८२, म्युचुअल फन्ड एक दशमलव ७४, निर्जीवन बीमा एक दशमलव २६, व्यापार दुई दशमलव २१ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले बढेको छ ।

रिदी पावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव १२ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेडको रु २४ करोड २७ लाख ५८ हजार पाँच सय ७२ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई लिमिटेड प्रमोटर शेयर २० लाख ७५ हजार एक सय दुई कित्ता शेयर किनबेच भएको छ ।

 

केपी ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसदको बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सपथ सोमबार विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

यस्ता छन् तीन निजी क्षेत्रले राष्ट्र बैङ्कलाई दिएको मौद्रिक नीति सुझाव

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारी गर्दैगर्दा तीन निजी क्षेत्रले पनि आफ्नो सुझाव दिएको छ।
साउनको पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने राष्ट्र बैंकको तयारी छ। सोही अनुरुप नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरुले मौद्रिक नीतिबाट सम्बोधन गरिनुपर्ने विषयमा राष्ट्र बैङ्कलाई सुझाव दिइएका हुन् ।

मुख्यगरी, अहिले बाह्य क्षेत्र सन्तुलनमा रहेको, बैङ्क वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको जस्ता सकारात्मक सूचकहरु वित्तीय क्षेत्रमा रहे पनि समग्र बजार माग घटेको, बैङ्क वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन नसकेको, खराब कर्जा बढेको, पुँजीकोष व्यवस्थापनमा चाप रहेकोजस्ता समस्या विद्यमान छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको छ प्रतिशतको आर्थिक वृद्धिदर र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति कायम गर्न सघाउ पुग्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने देखिन्छ । निजी क्षेत्रले पनि सरकारले लिएको वित्त नीतिलाई सघाउ पु-याउने र समग्र अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी मौद्रिक नीति आउनुपर्ने सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले यही असार २५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्र बैङ्कलाई सुझाव दिएको थियो । महासङ्घका तर्फबाट सुझाव दिँदै अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्क वित्तीय संस्थामा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार हुन नसकेको विद्यमान परिस्थितिमा बजार माग बढाउन र उद्योगको उत्पादन क्षमता विस्तार गर्न सहज हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिनुभएको थियो । उत्पादनमूलक उद्योगको क्षमता बढाउने र व्यापारिक प्रयोजनको भन्दा औद्योगिक प्रयोजनको कर्जा व्याजदर कम गर्ने विषय कार्यान्वयन गर्न मौद्रिक नीतिमा केही व्यवस्था ल्याइनुपर्ने सुझाव महासङ्घको छ ।

बजार मागमा आएको सङ्कुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएकाले त्यसलाई सम्बोधन गरिनुपर्ने र लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने माग महासङ्घको छ ।

पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र भएकाले यो व्यवसायलाई प्रवर्द्धन गर्ने तथा कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्ने सुझाव पनि महासङ्घले दिएको छ । गत वर्षभन्दा कर्जाको ब्याजदर घटे तापनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको, नगद प्रवाहमा समस्या भएको, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना स्थगन भइरहेकोलगायत समस्या रहेकाले पुराना लगानीकर्ताले लगानी बढाउने र नयाँ व्यवसायीले नयाँ लगानी गर्ने वातावरण आवश्यक रहेको महासङ्घले जनाएको छ ।

बजारमा माग सृजनाका लागि सानो कर्जा सुविधा विस्तार गर्न बैङ्क वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरिनुपर्ने तथा सहकारी र लघुवित्तमा आएका समस्याले रकम प्रवाह घटेका कारण यो विषयलाई मौद्रिक नीतिले समेट्नुपर्ने सुझाव महासङ्घले दिएको छ । त्यस्तै, उद्योग व्यवसाय बन्द गर्नुपरेमा साँवाब्याजको किस्ता तिर्ने प्रतिबद्धता भएका उद्योगहरु बन्द गर्न पाउने व्यवस्था गरी सहज कर्जा राफसाफको व्यवस्था गर्न महासङ्घले राष्ट्र बैङ्कसँग आग्रह गरेको छ ।

विगतमा फरक परिस्थितिमा ल्याइएका नीतिहरु अहिलेको अवस्थामा सान्दर्भिक भए–नभएको मूल्याङ्कन गरिनुपर्ने सुझाव महासङ्घको छ । आयात निरुत्साहित गर्ने, कर्जा नियन्त्रण गर्ने नीतिको असर अहिलेसम्म देखिएकाले त्यसलाई सुधार गरिनुपर्ने र चालु पुँजी कर्जासम्बन्धी व्यवस्था सहज बनाउन सकिनेबारे राष्ट्र बैङ्कले पुनर्विचार गर्नुपर्ने महासङ्घको भनाइ छ ।

उद्योगी–व्यवसायीहरुको अर्को संस्था नेपाल उद्योग परिसङ्घले नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन बैङ्कलाई आग्रह गरेको छ । गत शुक्रबार परिसङ्घका तर्फबाट नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिँदै आर्थिक गतिविधिमा महिनौँदेखि कायम शिथिलता र उद्योग–व्यवसायको उत्पादन तथा कारोबारमा मन्दीको बहुआयामिक प्रभावलाई ध्यानमा राख्दै मौद्रिक नीति ल्याउन सुझाव दिएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका लक्ष्यहरु हासिल गर्न सघाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता परिसङ्घले औँल्याएको छ । निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने र यसबाट नयाँ रोजगारी सृजना तथा बजार मागमा वृद्धिमार्फत अर्थतन्त्र पुनरुत्थानमा सहयोगी हुनेगरी मौद्रिक नीति आउनुपर्ने परिसङ्घको भनाइ छ ।

परिसङ्घले प्रमुख मौद्रिक उपायहरु, समष्टिगत विवेकपूर्ण मौद्रिक उपायहरु र संरचनागत सुधारका विषयमा राष्ट्र बैङ्कलाई सुझाव दिएको छ । राष्ट्र बैङ्कले नीतिगत दर घटाउँदासमेत बैङ्क ब्याजदरमा त्यो प्रतिबिम्बित हुन नसकेको, बरु उल्टै बैङ्क ब्याजदर घट्नुको साटो बैङ्कहरुले बढाएको देखिएको अवस्थामा बैङ्क ब्याजदरलाई अनुशासित गर्न सक्ने गरी नीतिगत दरलाई प्रभावकारी बनाउनुपर्ने सुझाव परिसङ्घको छ । वैधानिक तरलता अनुपात (एसएलआर) लचिलो हुनुपर्ने, अन्तर्राष्ट्रिय अभ्यासअनुरुप हुनेगरी आधार दरको उन्नत विकल्पमा जानुपर्ने, राष्ट्र बैङ्कले हाल लागू गरेको शून्य दशमलव पाँच प्रतिशत काउन्टर साइक्लिकल क्यापिटल बफर (सिसिबी) स्थगन गर्नुपर्ने, निर्देशित क्षेत्रको लगानी सीमा घटाउनुपर्नेलगायत सुझाव परिसङ्घले दिएको छ ।

परिसङ्घले मौद्रिक नीति बनाउन राष्ट्र बैङ्कभित्र छुट्टै मौद्रिक नीति समिति गठन गर्न, सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न, निष्क्रिय कर्जाको वर्गीकरण तथा त्यसअन्तर्गत समूहको कर्जाका सम्बन्धमा गरिएका सम्पूर्ण नयाँ प्रावधानहरु खारेज गर्न, चालु पुँजी कर्जाको प्रावधान तत्काललाई स्थगन गर्न, मुद्दति र बचत निक्षेपमा विद्यमान अधिकतम र न्यूनतम ब्याजदर अन्तर (बढीमा पाँच प्रतिशत) को व्यवस्था हटाउन, ब्याजदरमा पुनरावलोकन गर्दा अघिल्लो महिना प्रकाशित दरमा १० प्रतिशतभन्दा धेरैले र एकपटकभन्दा बढी घटाउन वा बढाउन नपाउने व्यवस्था हटाउनुपर्नेलगायत सुझाव दिएको छ ।

त्यस्तै, निजी क्षेत्रको अर्को संस्था नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार एक औपचारिक कार्यक्रममार्फत मौद्रिक नीतिमा समावेश गरिनुपर्ने विषयबारे राष्ट्र बैङ्कलाई सुझाव दिइसकेको छ । उच्च आर्थिक वृद्धिका लागि स्थायी रुपमा एकल अङ्कको ब्याजदर कायम हुने नीति लिनुपर्ने, बैङ्क दर तथा नीतिगत दरहरु क्रमशः घटाउँदै लैजानुपर्ने, मुद्दति खाता र बचत खाताका फरक सीमामा विगतझैँ खुला राख्नुपर्नेलगायत सुझाव राष्ट्र बैङ्कलाई दिएको छ । आर्थिक मन्दीबाट उन्मुक्ति नपाउन्जेलसम्ममा उद्यमी–व्यवसायीहरुलाई चालु पुँजीको उपलब्धता सरल र सहज तवरले हुनुपर्ने एवं चालुपुँजी कर्जा मार्गदर्शनलाई स्थगित गर्नुपर्नेलगायत सुझाव चेम्बर अफ कमर्सबाट आएका छन् ।

वर्षायाममा खानै पर्ने यी खानेकुरा

0

काठमाडौँ : वर्षायाममा पानीजन्य तथा अन्य विभिन्न कारणले रोग लाग्ने र सर्ने हुन्छ। यस्तो समयमा रोग लाग्नबाट बच्न यी विभिन्न खानेकुरा दैनिक भोजनमा समावेश गर्नु उपयुक्त हुनेछ:

१. अदुवा: अदुवाले घाँटीमा न्यानो प्रभाव पार्छ, जसले घाँटीसँग सम्बन्धित दुखाइ र असुविधालाई कम गर्न मद्दत गर्दछ। अदुवामा प्राकृतिक एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले शरीरलाई सङ्क्रमणसँग लड्न मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ। मानिसहरूले दिनमा एक वा दुई पटक अदुवाको चिया पनि पिउन सक्छन्।
२. लसुन: आहारविद्का अनुसार वर्षायाममा लसुन खाँदा अथाह फाइदा हुन्छ । लसुनमा एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले शरीरलाई सङ्क्रमणबाट बचाउन प्रभावकारी हुन्छ। लसुनमा तातो स्वभाव हुन्छ, जसले यस मौसममा शरीरलाई न्यानो राख्छ । यसले रोगबाट बचाउँछ र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। लसुन खाली पेटमा काँचो वा भुटेर खान सकिन्छ । यसबाहेक यसलाई तरकारीमा मिसाएर पनि खान सकिन्छ ।

३. कागती: वर्षायाममा मानिसहरू कागती मन पराउँदैनन् र त्यसबाट टाढा रहन्छन् । तर, कागती भिटामिन सीको उत्कृष्ट स्रोत हो र यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सक्छ। कागतीलाई तरकारी, सलाद वा अन्य खानेकुरामा मिसाएर सेवन गर्न सकिन्छ । यदि तपाई चाहनुहुन्छ भने मनतातो पानीमा कागती मिसाएर पनि पिउन सक्नुहुन्छ । यसले तपाईंको शरीरलाई सङ्क्रमणबाट छिट्टै निको पार्न मद्दत गर्न सक्छ।

४. सूप: यदि कुनै व्यक्तिलाई रुघाखोकी, ज्वरो वा घाँटी दुख्ने समस्या छ भने उसले तरकारीको सूप तयार गरी दिनमा एक वा दुई पटक पिउनुपर्छ । टमाटरको सूपले घाँटीमा ठुलो राहत प्रदान गर्न र शरीरलाई बलियो बनाउन सक्छ। मौसमी तरकारी मिसाएर पनि सूप बनाउन सकिन्छ । तरकारीमा पाइने पौष्टिक तत्त्वले तपाईंको शरीरबाट सङ्क्रमण हटाउन मद्दत गर्छ । स्वस्थ व्यक्तिहरूले पनि तातो सूपको मजा लिन सक्छन्।

गर्मी र वर्षाको मौसममा ३ घण्टाभन्दा बढी समयसम्म राखिएको खानेकुरा नखाने र सधैँ तताएर खाने । यसले तपाईंको शरीरलाई धेरै फाइदा पुर्‍याउन सक्छ र चिसो र खोकीबाट राहत दिन्छ। वर्षायाममा तातो खानेकुरा खानुपर्छ र चिसोबाट टाढा रहनुपर्छ । ताजा फलफूल र तरकारीमा नुन हालेर तातो पानीले धोएर प्रयोग गर्नुपर्छ ।

अमेरिका चुनाव : डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीमा चल्यो गोली

0

पेन्सिल्भानिया, अमेरिका । अमेरिकामा चुनावी सरगर्मी नजिकिएसंगै विभिन्न घटना घट्न थालेका छन्।
यसैक्रममा पेन्सिल्भानियाको बटलरमा अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा गोली चलेको छ ।

पूर्व राष्ट्रपति ट्रम्प मञ्चमा बोल्दै गर्दा ठुलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ ।

घटनास्थलमा एक जनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

 

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भने भोलि

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आज गर्नुहुने भएको छ । उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुुहुने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । त्यस्तै आज समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।