Wednesday, June 17, 2026
Home Blog Page 666

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

0

पाटन (ललितपुर): ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ ललितपुर महानगरपालिकाको वडा नं १६ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते साँझ ४ देखि ९ बजेसम्म रात्रिकालीन व्यापार मेला गर्न लागिएको हो ।

वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनको प्रचुर सम्भावना बोकेको सहरमा बसेका स्थानीयलाई आयआर्जनमा जोड्न यो प्रयास महत्त्वपूर्ण हुने बताउनुभयो । “यो मेलामा हस्तकला महासङ्घ, पाटन पर्यटन विकास संस्थाको पनि सहयोग रहने विश्वास छ, महानगरपालिकाको दीर्घकालीन योजनालाई सहयोग पुर्याउने उद्देश्यअनुसार यो कदम चालिएको हो । महिलाले घरघरमा उत्पादन गरेका हस्तकलालगायत सामग्री बिक्री गरेर आर्थिकोपार्जन गर्न सक्ने अवसर मिल्ने छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष शाक्यले यसबाट स्थानीय श्रम, सीप र क्षमताको बजारीकरण हुनुका साथै समुदायको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाका समयमा साङ्गीतिक कार्यक्रमसमेत गरिने उहाँले जानकारी गराउनुभयो ।

मेलामा स्थानीय हस्तकलाका सामग्री, स्थानीय नेवारी खानाका परिकार समावेश हुने आयोजकले जनाएको छ । जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायले हुन लागेको यो कार्यक्रमलाई अझ परिस्कृत गरेर लैजाने अध्यक्ष शाक्यले बताउनुभयो । आगामी वर्षदेखि मेलालाई व्यवस्थित बनाउन बृहत् रूपमा तालिका बनाएर सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो ।

रात्रिकालीन व्यापार र बजारलाई प्रोत्साहन र प्रवर्द्धन गर्दै हस्तकलाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र पर्यटनको विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन समितिका संयोजक बबिता श्रेष्ठले जानकारी गराउनुभयो ।

“स्थानीय व्यापार वृद्धि गरी महिलाको आयआर्जन वृद्धि गर्न सानो प्रयास हो, पाटनलाई चौबीसै घण्टा जागृत गराउने उद्देश्यले यो क्षेत्रलाई उकास्न दीर्घकालीन योजनाअनुसार काम गर्ने लक्ष्यका साथ यो मेला गर्न लागिएको हो । नुनदेखि सुनसम्म पाइने व्यवस्था मिलाइनेछ, ८० वटा स्टलको व्यवस्था गरिनेछ, हरेक स्थलमा फरकफरक सामान राख्ने व्यवस्था मिलाइनेछ, तिहारलाई चाहिने खाद्यान्नसहित अन्य सामग्री राख्नेछौँ”, उहाँले भन्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई ‘स्मार्ट सिटी’ बनाउने अभियानभित्रै ‘पाटन डज नट स्लीप’ योजनालाई पनि समेट्ने र त्यसका लागि आवश्यक पूर्वाधारसहित विपद् व्यवस्थापनलगायत काम गरेरमात्र घोषणा गर्ने बताउँदै आउनुभएको छ ।

आधुनिक सिंगापुरका संस्थापकका छोराले बेलायतमा शरण पाए

0

काठमाडौं: आधुनिक सिंगापुरका संस्थापकका छोरालाई पारिवारिक कलहमा उत्पीडन गरेको दाबीपछि बेलायतमा शरण दिइएको छ ।

ली सिग याङले लामो समयदेखि उनले सिंगापुर सरकारबाट उत्पीडनको सामना गरिरहेको आरोप लगाएका छन् । जसको नेतृत्व उनको दाजु ली सिएन लुङले २० वर्षसम्म गरेका थिए।

यद्यपि, सिंगापुर सरकारले यी दाबीहरूलाई अस्वीकार गर्दै आएको छ। सरकारले ली सिएन याङ आफ्नो देश फर्कन स्वतन्त्र रहेको जनाएको छ ।

उनीहरु दुवै सिंगापुरका प्रख्यात नेता ली क्वान युका सन्तान हुन्, जसको सन् २०१५ मा मृत्यु भएको थियो ।

उनको मृत्युपछि दुई दाजुभाइबीच बुबाको घरमा लामो समयदेखि विवाद रहँदै आएको थियो, जुन ठूलो सार्वजनिक पारिवारिक झगडामा परिणत भएको छ ।

लण्डनमा बस्ने लीले आफ्नी श्रीमतीलाई पनि शरण दिइएको बताए ।

कमला ह्यारिसले ‘फासिस्ट’को आरोप लगाएपछि डोनाल्ड ट्रम्पले के भने ?

0

काठमाडौं: एक टेलिभिजन कार्यक्रममा अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई फासीवादी भनेकी थिइन् ।

कमला ह्यारिसले आफ्ना प्रतिद्वन्द्वीहरू फासिस्ट भएको र ‘अनियन्त्रित शक्ति’ चाहेको बताएकी थिइन्।

कमला ह्यारिसलाई सीएनएनको कार्यक्रममा सोधिएको थियो कि उनी ट्रम्पको पूर्व सहयोगीसँग सहमत छिन् कि ट्रम्प फासीवादी हुन्। यसमा कमला ह्यारिसले ‘म सहमत छु’ भनिन् ।

अब पूर्व राष्ट्रपति र अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा कमला ह्यारिसको फासीवादी भनाइप्रति प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले भनेका छन्, “उनले आफ्नो बयानबाजीलाई यति हदसम्म बढाइरहेकी छिन् कि उनी मलाई एडोल्फ हिटलर भन्छिन् र उनको दिमागमा जे आउँछ त्यही भन्छिन्।”

डोनाल्ड ट्रम्पले ह्यारिसलाई ‘कमरेड कमला ह्यारिस’ भनेका छन् र उनलाई लोकतन्त्रका लागि खतरा भएको बताएका छन् ।

क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्रीको घोषणा

0

काठमाडौं: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन् ।

जस्टिन ट्रुडोले सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भने, “क्यानडामा अस्थायी विदेशी कामदारहरूको संख्या घटाइनेछ।”

उनले भनेका छन् , “हामी कम्पनीहरूका लागि कडा नियमहरू लिएर आउँदैछौं, जसमा उनीहरूले पहिले क्यानाडाली कामदारहरूलाई किन काममा राख्न सक्दैनन् भनेर व्याख्या गर्नुपर्नेछ।”

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

0
file photo

काठमाडौं: सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले ६ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो। जुन आज सकिँदै थियो।

हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले बयानका लागि रुपन्देही समेत लैजाने तयारी गरेको छ।


रविको म्याद थपपछि पोखरामा प्रदर्शनकारी आक्रोशित, प्रहरीले हान्यो अश्रुग्यास

0

काठमाडौं। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएसँगै पोखरामा रास्वपाका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन्।

उनीहरुले निषेधित क्षेत्र समेत तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियाे। लामिछानेलाई अदालत पेश गर्दा रास्वपा समर्थकले धर्ना सहितको प्रदर्शन गरेका थिए।

बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

त्यस्तै अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

रास्वपाले काठमाडौँमा भोलिदेखि प्रदर्शन गर्ने

0

काठमाडौँ: पार्टी सभापति रवि लामिछाने पक्राउपछि रास्वपाको पोखरा केन्द्रित आन्दोलन अब काठमाडौँमा पनि हुने भएको छ ।

पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएको छ।
तर भोलि शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिएका छन् ।

बिहीबारको पत्रकार सम्मेलनमा उनले भने, ‘हामी आन्दोलनलाई अब काठमाडौँ केन्द्रित गर्छौँ । पोखराको आन्दोलन आज अन्तिम हो ।’

पोखरामा रास्वपाले प्रदर्शन गरे पनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।

 

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

0

वासिङ्टन: विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिनुभएको उक्त राजदूतावासले जनाएको छ ।

यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गर्नुभएको छ । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिनुभएको थियो ।

उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गर्नुभएको
छ ।

भक्तपुर अस्पतालले पायो बागमती प्रदेशको सबैभन्दा उत्कृष्ट अस्पतालको पुरस्कार

0

भक्तपुर: बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ ।

बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आज राससलाई बताउनुभयो । समीक्षा बैठक बुधबार समापन भएको हो ।

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा गौतमले जानकारी दिनुभयो ।

 

बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

0

दमौली (तनहुँ): बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन यो वर्ष २० किलोमिटर बाटो कालोपत्र गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त भएकाले अब धमाधम काम हुन्छ । ”

बेलभन्ज्याङ– बानियाँटार सडकमा रु एक करोड, रिमाल्नी– भुडाटार जाने सडकमा रु ५० लाख, बन्दीपुर– ढाडखोला मोटरमार्गअन्तर्गत भुमर्से– हल्थुम्कासम्म तीन किमि सडक कालोपत्र, वडा २ कै सिमलटारमा रु ५० लाख, वडा नम्बर ३ नम्बरको सेराटारबाट सुखौरा जाने सडकमा रु दुई करोड, वडा नम्बर ३ को कार्यालयदेखि रामकोटसम्म जाने सडकमा रु ५० लाखको कालोपत्रको योजना सुरु भएको अध्यक्ष थापाले जानकारी
दिनुभयो ।

यसैगरी, वडा नम्बर ४ को बन्दीपुर रिङरोडमा कालोपत्र तथा प्रहरी बिटबाट टँुडिखेल जाने बाटो कालोपत्र भएको छ । अध्यक्ष थापाले शहरी आयोजना मार्फत शिखरडाँडाबाट तल्लो डुम्रे जाने बाटो कालोपत्र भएको जानकारी दिनुभयो ।

वडा नम्बर ५ को याम्पा र थुम्काको बीचमा पाँच सय मिटर ढलान, तीनधाराबाट वडा नम्बर ५ को कार्यालय बाहुनभन्ज्याङ जाने सडकमा रु दुई करोडको कालोपत्रको काम यथाशीघ्र सुरु गरिने थापाले जानकारी
दिनुभयो । उहाँका अनुसार वडा नम्बर ६ को साँधभन्ज्याङबाट घमलछापसम्म रु दुई करोडको बजेटमा कालोपत्र, वडा नम्बर ६ कै सराङघाटबाट भुतखोलासम्म रु एक करोडको लागतमा बाटो स्तरोन्नति भइरहेको छ ।

सङ्घीय र गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ रु २० करोड बजेट प्राप्त भएको र उक्त बजेटबाट गाउँपालिकाका मुख्य सबै सडकमा कालोपत्र गर्ने लक्ष्य रहेको उहाँले
बताउनुभयो ।