सुनसरी। बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीतर्फ आकर्षित भएका छन्। यहाँका किसानहरूले अहिले धान र मकै लगाउने खेतबारीमा कोदो लगाउन थालेका छन्।
स्थानीय किसान अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा नियमित रूपमा कोदो खेती गर्दै आएका छन्। उनले अरु बालीको तुलनामा कोदो लगाउन सहज र उत्पादन राम्रो हुने भएकाले यसतर्फ लागेको बताए।
‘पछिल्लो १७ वर्षदेखि कोदोखेती गरिरहेको छु। अहिले त यसैबाट घर खर्च धान्ने गरी खेती गरिरहेको छु। व्यावसायिक उत्पादन थालेपछि सन्तोषजनक आम्दानी भइरहेको छ,’ उनले भने।
कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भएको विश्वकर्माले बताए। उनका अनुसार कतिपय किसानले कोदोबाट घरेलु मदिरा र तोङ्बा बनाएर बिक्री गरी लाखौँ आम्दानी गरिरहेका छन्, भने अन्यले पारिवारिक उपभोग र बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन्।
अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीलाई प्राथमिकता दिन छोडेर कोदोखेतीतर्फ लागेको बताइन्। ‘धान र मकैमा जति मेहनत गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन। रोग र किरा लागेर मेहनत खेर जाने जोखिम रहन्छ, तर कोदोमा त्यस्तो समस्या कमै आउँछ,’ उनले भनिन्, ‘पछिल्लो समय रोग लागेको छैन र उत्पादन राम्रो भएको छ। एक कठ्ठा जग्गामा एक सय २० किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ, र बिक्रीको समस्या पनि छैन। इनरुवा, इटहरी, र धरानसम्म पठाउने गरेकी छु।’
किसान नारायण विकले पनि १६ कठ्ठा जग्गामा कोदोखेती गरिरहेका छन्। पाँच वर्षदेखि मकै र धान खेती छोडेर उनी कोदोखेतीमा लागेका हुन्।
‘कोदोखेती गर्दा पछुताउनु परेको छैन। आम्दानी राम्रो भइरहेको छ। कोदो बेच्न र तोङ्बा, रक्सी बनाएर बिक्री गर्न पनि सजिलो छ,’ उनले भने, ‘इनरुवा, इटहरी, धरानसम्म कोदो लैजाने गर्छु। प्रतिकिलो रु ७० देखि १०० सम्ममा बिक्छ भने तोङ्बा प्रति एक १५० र कोदोको रक्सी एक बोतल २०० मा बिक्री गर्छु।’
उनले कोदोखेती गर्ने किसानलाई स्थानीय र प्रदेश सरकारले आर्थिक अनुदान र प्रोत्साहन दिन सके थप सहज हुने धारणा राखे। विश्वकर्माले कम्तीमा बीउ उपलब्ध गराए पनि किसानलाई सहयोग पुग्ने बताए।
हाल बराहक्षेत्र-६ मा मात्र १५ भन्दा बढी किसान कोदोखेती गर्दै आएका छन्। स्थानीय अर्जुन विष्टले कोदोखेतीतर्फ राम्रो प्रगति भएको बताए। सुनसरीमा हाल चार सय ५८ हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कोदोखेती गर्ने किसानको सङ्ख्या घटेको भए पनि त्यसको मूल्य वृद्धि हुँदा हाल यसतर्फ लागेका किसानले राम्रो आम्दानी गरिरहेका छन्। ‘धुसिजन्य रोग नलागेमा सुनसरीमा कोदो उत्पादन राम्रो हुने गर्छ। घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्दा आम्दानी बढेको छ,’ उनले भने।
यहाँ धरान उपमहानगरपालिकाको वडा नं ४, ५, ६ र २० तथा बराहक्षेत्र नगरपालिकाको वडा नं १, ६ र ५ लगायतका ठाउँमा बढी कोदोखेती हुने गर्छ। कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, ट्रिप्टोफेन, एन्टिअक्सिडेन्टजस्ता तत्व पाइने भएकाले यो मुटु र पाचनसम्बन्धी स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
रासस