Monday, June 22, 2026
Home Blog Page 604

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनाको अवधिमा रु ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले कुल वार्षिक लक्ष्यको पाँच महिनाको अवधिमा २९ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रु १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गरेको छ ।

भदौ महिनामा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख राजस्व सङ्कलन गरेको थियो । तर मङ्सिर महिनामा भने रु १४ अर्ब ४१ करोड ५९ लाख राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने राजस्व सङ्कलन दुई अर्ब ५९ करोड १६ लाख ३० हजार बढेको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा भने ६२ अर्ब ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।

जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने !

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुनुहुन्छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक–फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिनुभएको थियो ।

त्यस्तै खालको फरक दृश्य सङ्घीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उहाँहरुको बुबा–आमा पनि फरक–फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै हुुनुहुन्थ्यो । बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक हुनुहुन्थ्यो भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक हुनुहुन्थ्यो ।

बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाउनुभयो । “एउटै घरका दुई छोरा फरक–फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्काेले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो”, उहाँले भन्नुभयो, “एनपिएलमा दुवै छोरा फरकफरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।”

शनिबार बेलुकापख आरिफ र आसिफको घरपुग्दा भने बुबा हर्षित मुद्रामा देखिनुहुन्थ्यो भने आमा समा भने केही मलिन मुद्रामा देखिनुहुन्थ्यो। “मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ”, आमा समा प्रवीनले भन्नुभयो,“दुवै छोराहरु फरक-फरक टिमबाट खेल्ने भएपछि श्रीमान्ले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।”

सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शङ्का नै थिएन । उहाँ सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाउनुभयो । “मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्यो”, उहाँले भन्नुभयो, “जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।”

सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो ।तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो ।

शेख परिवारमा आमा र बुबा फरक–फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताउनुभयो । “आमा–बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरु बराबर भएकाले दुवैको फ्यान थिएँ”, उहाँले दाजुहरुको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताउनुभयो ।

बुबा मोहम्मद छोराहरु आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै सङ्घर्ष गरेको स्मरण गर्नुहुन्छ । “छोराहरुको जहाँजहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थें”, मोहम्मदले भन्नुभयो, “क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थें ।”

आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रुपमा परिचित हुनुहुन्छ । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आउनुभएको छ । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रुपमा परिचित हुनुहुन्छ उहाँ ।

नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रुपमा चिनिने गर्नुहुन्छ । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्नुहुन्छ । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सक्नुभएन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट हुनुभयो । सृदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो ।

आरिफका सहोदर भाइ हुनुहुन्छ आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रुपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती व्याट्सम्यानका रुपमा क्रिकेट मैदानमा छिर्नुभएको थियो । आसिफले फाइनल खेलमा १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट शुरुआत गर्नुभएको थियो ।

विश्वकप जितेको हेर्ने बुबाको धोको

मोहम्मदले आफ्ना छोराहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गर्नुुभएको थियो । “मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन”, उहाँले भन्नुभयो, “असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन् ।” उहाँलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ ।

आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउनहुन्छ । “क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था गराउनुपर्ने हुन्छ”, उहाँले भन्यो, “त्यसो भएको खण्डमा नयाँ–नयाँ खेलाडीहरु खेलप्रति आकर्षित हुन सक्थे ।”

जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनमत पार्टीको माग

0

काठमाडौं: डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्टस्का समर्थकमाथि भएको आक्रमण र अपमानप्रति विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।शनिबार सम्पन्न एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका समर्थकलाई लक्षित गर्दै नश्लीय सोचबाट प्रेरित केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्नुका साथै कुटपिट गरेको घटनाले मधेसी समुदायलाई चोट पु¥याएको जनमत पार्टीको भनाइ छ ।

पार्टीका प्रवक्ता शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा यस्तो घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषीहरूमाथि तत्काल कारवाहीको माग गरिएको छ ।‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि हासिल गरेकोमा जनकपुर बोल्ट्सका खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायत सम्पूर्णमा जनमत पार्टी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । तथा सहभागी सबै टिमले उत्कृष्टताका साथ प्रर्दशन गर्दै खेल सम्पन्न गरेकोमा सबैलाई हार्दिक धन्यवाद छ ।

एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्ट्स समर्थक मधेसी समुदायका मान्छेहरुलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरुद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिट प्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नको लागि जनमत पार्टी जोरदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।साथै जनमत पार्टीले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेको छ ।

सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो

0

काठमाडौँ: लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन थालेको छ । भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा वैदेशिक व्यापारमा सुधार देखिएको हो ।

उक्त तथ्याङ्कअनुसार यो अवधिमा आयात तीन प्रतिशत र निर्यात १६ दशमलव पाँच प्रतिशतले बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा रु छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको वस्तु आयात भएको छ । गत आवको सुरुआती पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन प्रतिशतले बढेको हो ।

गत आवको पहिलो पाँच महिनामा नेपालले रु ६३ अर्ब २० करोड ७४ लाख बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही अवधिमा निर्यात १६ दशमलव ५४ प्रतिशतले बढेर रु ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार पुगेको छ । आयात, निर्यात बढेसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ ।

मङ्सिर मसान्तसम्ममा कुल रु सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार बराबरको वैदेशिक व्यापार हुँदा नेपालले रु पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख घाटा व्यहोरेको छ । गत आवको पहिलो पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा चार दशमलव २१ प्रतिशतले बढेको हो ।

मङ्सिर मसान्तसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा रु ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार बराबरको डिजेल, रु २६ अर्ब ४५ करोड ४३ लाख बराबरको पेट्रोल र रु २४ अर्ब २२ करोड ९१ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै, रु २० अर्ब ९६ करोड बराबरको फलामजन्य वस्तु र रु १० अर्ब ३५ करोड ६१ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।

सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत वस्तु छन् । पाँच महिनामा रु आठ अर्ब ३६ करोड ८५ लाख बराबरको भटमास तेल, रु चार अर्ब ९६ करोड ३३ लाख बराबरको कार्पेट, रु तीन अर्ब ४५ करोड ७२ लाख बराबरको अलैँची, रु दुई अर्ब ९७ करोड ६१ लाख बराबरको सूर्यमुखी तेल र रु दुई अर्ब ७१ करोड २६ लाख बराबरको चिया निर्यात भएको भन्सार विभागद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र विभिन्न विभागीय कार्यलाई थप व्यवस्थित बनाउन केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकेको जानकारी दिनुभएको छ।

अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी, र उद्योग व्यवसाय जस्ता जनसङ्गठनलाई व्यवस्थित गर्न प्रदेशस्तरमा नेताहरूलाई खटाइएको उल्लेख छ। यस क्रममा सम्बन्धित प्रदेशका पोलिटब्यूरो सदस्यलाई प्रदेश सहइन्चार्जको भूमिका दिइएको छ।

प्रदेश इञ्चार्जको नेतृत्वमा पोलिटब्यूरो सदस्यहरूसँगको परामर्शमा केही विभागीय इञ्चार्जहरूको जिम्मेवारी बाँडफाँड गर्ने कुरा पनि उहाँले स्पष्ट पार्नुभएको छ। साथै, केन्द्रीय कमिटीका सदस्यहरूले तोकिएका विभागीय जिम्मेवारीलाई प्रभावकारी बनाउनेतर्फ जोड दिँदै जनसङ्गठनका अध्यक्षहरूले यथाशीघ्र आफ्नो जिम्मेवारी हस्तान्तरण गर्न निर्देशन दिनुभएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एउटा मात्र सङ्घीय निर्वाचन क्षेत्र भएको जिल्लामा एकभन्दा बढी सहइन्चार्ज भएमा, उनीहरूलाई जिल्ला इञ्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्र अनुसार जिम्मेवारी तोक्न सकिने बताउनुभएको छ।

यदि केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी परिमार्जन गर्नुपर्ने अवस्था आएमा, सम्बन्धित इञ्चार्जले नेताहरूको सहमति लिएर निर्णय गर्न सक्ने अधिकार दिइएको छ। यस्ता परिमार्जनहरूको जानकारी तुरुन्तै केन्द्रीय कार्यालयलाई दिनुपर्ने व्यवस्था गरिएको छ।

पार्टी कार्यालयका अनुसार, कामको आवश्यकता अनुसार केन्द्रीय आयोगका सदस्यहरूलाई पनि कतिपय स्थानमा जिम्मेवारी दिइएको छ।

नेपाली कम्युनिटि सेन्टर खरिद गर्ने प्रकृयामा नेपाली जनसंपर्क समितिले सघाउने

0

क्यालिफोर्निया (अमेरिका): अमेरिकाको उत्तर क्यालिफोर्नियामा बसोबास गर्दै आएका नेपाली समुदायले आफ्नै नेपाली कम्युनिटि सेन्टर खरिद भएको छ।

यसकालागि नेपाली जनसम्पर्क समितिले सघाउने भएको छ। जसका कारण उत्तर क्यालिफोर्नियाको वर्षौदेखिको सपना साकार हुने देखिएको छ।

सो अभियानमा प्रमुख भूमिका खेल्ने यस भेगको सर्वाधिक पुरानो र छाता संगठनको रुपमा चिनिएको नेप्लिज असोसियसन अफ नर्दन क्यालिफोर्निया NANC नान्स को वर्तमान नेतृत्वले सो अभियानलाई अर्को आयाममा पुर्याउँदै भवन खरिद प्रकृयामा अगाडि बढाएको हो।
सो अभियानलाई तात्विक निस्कर्षमा पुर्याउन नेपाली जनसंपर्क समितिले सघाउने भएको हो ।

नान्सको नेतृत्वले संस्थापक संस्थाहरू, चन्दा दाताहरू र समाजका सबै तप्काहरूलाई सहयोगका लागि आव्हान गरेको सन्दर्भमा सो अवधारणाको संस्थापक मध्य एक उत्तर क्यालिफोर्नियाको प्रभावसाली संस्था नेपाली जनसम्पर्क समिति अमेरिका, उत्तर क्यालिफोर्निया च्याप्टरले सो अभियानमा सक्रिय भूमिका खेल्ने भएको छ। सो को लागि यस संस्थाका केन्द्रिय वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी, केन्द्रीय सचीव ईश्वर सापकोटा, केन्द्रीय समिति सदस्य चन्द्र धिताल, केन्द्रीय समितिका सल्लाहकार उत्तम कार्की, भक्त थापा. च्याप्टरका कार्यवाहक सभापति नारायण खनाल, उपसभापति तथा महाधिवेसन प्रतिनिधि लक्ष्मी कार्की, सचिव हरि भट्ट आदिको सक्रियतामा दफावार छलफल भइरहेको छ।

जनसम्पर्क समितिको सक्रिय भूमिकाका लागि आर्थिक संकलन गर्न एक अधिकारयुक्त उपसमिति गठन गरिएको समाचार छ। सो उपसमिति निम्नासार गठन गरिएको छ:
१ पुष्प राना (संयोजक)
२ पुष्प राज गौतम
३ विनोद पुन मगर
४ पदम तामाङ
५ के पी ढकाल
६ जनक राज ढुङ्गाना
७ नारायण चापागाईँ
सो उपसमितिले संस्थामार्फत पहिला यस सामुदायिक भवन निर्माणमा आर्थिक सहयोग गर्ने वाचा गर्नुभएका महानुभावहरू तथा नयॉ थप महानुभावहरूसंग सामूहिक रूपमा नेपाली जनसम्पर्क समिति अमेरिकामार्फत आर्थिक सङ्कलन गरेर न्यान्समा(NANC) जम्मा गर्न महत्वपूर्ण भूमिका खेल्ने छ। सो को लागि सकारात्मक वातावरण बनाउन जनसम्पर्क समितिका सदस्यहरू र सुभेक्षुकहरूको एक भेला समेत बोलाएको छ।

सो भेला निम्न मिति स्थान र समयमा हुनेछ।
स्थान:-Downtown Event Center (1026 B st Hayward)
मिती:- December 23 Monday 2024
समय:- बेलुकी ५ बजे

हिमालयन ट्रिब्युन प्रतिनिधि, अमेरिका

पाँच महिनामा १३ अर्ब चार करोडको विद्युत् भारत निर्यात

0

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा भारततर्फ रु १३ अर्ब ४ करोड बराबरको विद्युत् निर्यात गरेको छ। प्राधिकरणले साउन, भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा आन्तरिक खपतपछि बचत भएको १ अर्ब ७६ करोड युनिट विद्युत् भारतलाई बेचेको हो। औसत बिक्री मूल्य प्रतियुनिट रु ७.३९ थियो।

भारतको ऊर्जा बजारमा प्राधिकरणले आफ्नो विद्युत् ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धात्मक दरमा बेच्दै आएको छ। साथै, हरियाणा र बिहार राज्यसँग द्विपक्षीय मध्यकालीन सम्झौताअनुसार पनि बिक्री भइरहेको छ। भारतसँगको विद्युत् कारोबार भारतीय रुपैयाँ (भारु) मा हुँदै आएको छ, जसबाट प्राधिकरणले भारु ८ अर्ब १५ करोड आम्दानी गरेको छ।

पाँच महिनाको आँकडाअनुसार, साउनमा सबैभन्दा बढी रु ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो भने मङ्सिरमा न्यूनतम रु २८ करोड १४ लाखको मात्र बिक्री भयो। भदौमा रु ३ अर्ब ६८ करोड, असोजमा रु ३ अर्ब ७ करोड, र कात्तिकमा रु १ अर्ब ८७ करोड बराबरको विद्युत् भारतलाई निर्यात गरियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र (४५६ मेगावाट) क्षतिग्रस्त भई उत्पादन ठप्प हुँदा निर्यात प्रभावित भएको जानकारी दिनुभयो। यसका साथै, सुक्खायाम सुरु भएसँगै उत्पादन घटेकाले विद्युत् आयात चाँडै सुरु गर्नुपरेको पनि उहाँले उल्लेख गर्नुभयो।

अहिले भने विद्युत् निर्यात बन्द गरी आयात थालिएको छ। नदी तथा खोलानालामा पानीको बहाव पुनः बढेपछि उत्पादन वृद्धि भई निर्यात पुनः सुरु हुने अपेक्षा गरिएको छ। यसैबीच, यो वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बङ्गलादेशलाई पनि निर्यात गर्न थालिएको छ।

चालु आर्थिक वर्षमा रु ३० अर्बको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ। तर, बाढीपहिरोले जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुर्‍याउँदा यो लक्ष्य प्रभावित हुने देखिएको छ। विशेष गरी, माथिल्लो तामाकोशी तथा काबेली करिडोर प्रसारण लाइनमा क्षतिले उत्पादन र निर्यातमा असर पुर्‍याएको थियो।

माई खोलामा आएको बाढीले काबेली करिडोरमा क्षति पुर्‍याउँदा सो लाइनमा जोडिएका आयोजनाका करिब २०० मेगावाट विद्युत् उत्पादन ठप्प भएको थियो। यही कारण असोज र कात्तिक महिनामा निर्यात घटेको थियो।

माथिल्लो तामाकोशीको मर्मतकार्य पुस १० सम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना छ भने काबेली करिडोरको पुनर्निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ। तर, हिउँदमा पानीको बहाव घट्ने भएकाले जलविद्युत् उत्पादन घट्नेछ र त्यसले गर्दा अब निर्यात क्रमशः कम हुँदै जानेछ।

हालसम्म, भारतीय बजारमा प्रतिस्पर्धी मूल्य र सम्झौताअनुसार नेपालले २८ जलविद्युत् आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्ने अनुमति पाएको छ।

गत वर्ष नेपालले भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरेको थियो। त्यही अवधिमा रु १७ अर्ब ६ करोडको विद्युत् निर्यात भएको थियो। यसरी, आयातभन्दा रु १३ करोड बढीको निर्यात गरेपछि नेपाल खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको थियो।

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला

0

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । शनिवार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ ।’

पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको समेत उनले बताए । सम्बोधनका क्रममा उनले भने- ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसमा किन्तु परन्तु भन्न पाइँदैन ।’

महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने समेत उनले बताए । कोइरालाले भने, ‘महाधिवेशनले नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ।’ नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए ।

पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि प्रजातन्त्र सेनानीसहित जिल्लाका सबै साथीहरूले पहल गर्नुपर्ने बताए । ‘अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ । बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले म चिन्तित छु’ उनले भने ।

उनले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरे । ‘अब पार्टीभित्र न्याय हुन्छ । त्यसको जिम्मा म लिन्छु ।’ उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराशा भएको समेत बताए ।

‘छिटो छिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठुला दलको सरकार बनाएका हौँ । तर सो अनुसार परिणाम दिन सकिएन’ उनले भने । फरक प्रसङ्गमा उनले एमालेसँग नेपाली कांग्रेसले सहकार्य र प्रतिस्पर्धा सँगसँगै गर्नुपरेको बताए ।

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका उनले बिहान भातृ तथा शुभेच्छुक संस्थाहरूसँग अन्तरक्रिया तथा छलफल गरेका थिए । उक्त भेटघाटमा सबै भातृ तथा शुभेच्छुक संस्थाहरूको तोकिएको समयमा महाधिवेशन हुनुपर्ने बताए ।

जनकपुरले चुम्यो एनपीएलको पहिलो संस्करण उपाधि (तस्बिरसहित )

0

काठमाडौं: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जित्न सफल भएको छ। मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै इतिहास रच्यो।

जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसहित ट्रफी आफ्नो कब्जामा लियो।

ऐरीले जिते कार

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट नेपाली खेलाडीको रुपमा कार जितेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले ओमाडो एण्ड जेईकोको सहयोगमा कार प्रदान गरेको हो।

६१ लाख ९९ हजार रुपैयाँ मूल्यको उक्त कार नेपाल क्रिकेट संघ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपको सहकार्यमा दिइएको हो।

लुम्बिनीले फेयर प्ले अवार्ड हात पार्यो
नेपाल प्रिमियर लिगको फेयर प्ले अवार्ड लुम्बिनी लायन्सले जितेको छ। फाइनल खेलपछि यो पुरस्कार घोषणा गरिएको हो।
खेल अवधिभर अनुशासित प्रदर्शन गर्ने टोलीलाई यो अवार्ड प्रदान गरिन्छ।

मिलन्था बने प्लेअर अफ द म्याच
जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि जित्दै टोलीलाई जित दिलाए। उनले ४९ बलमा ८७ रन बनाउँदै ९ चौका र ४ छक्का प्रहार गरे। यो प्रतियोगितामा उनको दोस्रो अर्धशतक थियो।

मिलन्थाले प्लेअर अफ द म्याचको रुपमा ५० हजार रुपैयाँ पुरस्कार जिते। साथै, सुपर फोरका लागि २५ हजार रुपैयाँ र ५ हजार रुपैयाँको रिचार्ज भौचर पनि हात पारे।

अन्य पुरस्कारहरू
क्याच अफ द म्याचको अवार्ड शेर मल्लले जित्दै २५ हजार रुपैयाँ पाए। एनर्जेटिक मुमेन्ट अफ द म्याचको अवार्ड हेमन्त धामीले जिते, जसका लागि उनले पनि २५ हजार रुपैयाँ प्राप्त गरे।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ ।

लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोलगायतको मूल्य आज भने घटेको छ । यस्तै, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ ।

त्यसैगरी युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउ पनि घटेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।