Monday, June 22, 2026
Home Blog Page 603

जनता प्रगतिशील पार्टीद्वारा अन्य पार्टीसँग सहकार्यका लागि वार्ता टोली गठन

0

काठमाडौँ: जनता प्रगतिशील पार्टी, नेपालले विभिन्न राजनीतिक दलसँग सहकार्यका लागि वार्ता टोली गठन गरेको छ । पार्टी अध्यक्ष हृदयश त्रिपाठीले विज्ञप्ति जारी गरी देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख भएको अवस्थामा दलहरूबीच सहकार्यको आवश्यकता औँल्याउँदै पार्टीले वार्ता टोली गठन गरेको जानकारी दिनुभयो ।

पार्टीका नेता डा शिवजी यादवको संयोजकत्वमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

“देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख छ । बिग्रिदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा छ, यो गति निरन्तर ह्रासोन्मुख छ । ग्रामीण जनजीवन आक्रान्त छ । जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ । नैराश्यता बढ्दो छ”, अध्यक्ष त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ । तसर्थ जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आमजनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायत दलहरूलाई सहकार्य गर्न अनुरोध गर्दछौँ ।”

पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटक घटे

0

दमौली(तनहुँ): तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। चिसो मौसममा लोकप्रिय गन्तव्य मानिने बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढेपनि बास बस्नेको सङ्ख्या घटेको छ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानका अनुसार बास बस्ने पर्यटक कम भए पनि घुमघाम गरेर सोही दिन फर्किने पर्यटकको सङ्ख्या उल्लेख्य छ। उहाँले भन्नुभयो, “बास बस्ने पर्यटक प्रायः ‘प्याकेज’मा आउँछन्, तर धेरैजसो घुमघाम गरेर साँझ फर्कने गरेका छन्।” अहिले बन्दीपुरमा दैनिक ५०० भन्दा बढी पर्यटक आउने अनुमान छ। शनिबार र सार्वजनिक बिदाका दिनमा पर्यटकको सङ्ख्या अझै बढ्ने गरेको छ।

समितिका अध्यक्ष प्रधानले विदेशी पर्यटकको आगमन पनि राम्रो भएको जानकारी दिनुभयो। उहाँका अनुसार चीनका पर्यटक बढी आएपनि जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक पनि बन्दीपुर पुग्ने गरेका छन्।

‘बन्दीपुर भ्रमण वर्ष २०२५’ का संयोजक वैश गुरुङले गाउँपालिकाको पहलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन एक वर्षभरि विविध कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। “अङ्ग्रेजी नयाँ वर्षको अवसरमा विशेष कार्यक्रमको तयारी भइरहेको छ,” गुरुङले भन्नुभयो। भ्रमण वर्षको अवसरमा काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी लगायतका मुख्य सहरमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने लक्ष्य राखिएको छ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, र सूचना केन्द्र पर्यटकका लागि प्रमुख आकर्षण हुन्। दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुग्न सकिन्छ।

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमश्रृङ्खला र प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता र मनोरम दृश्यका कारण बन्दीपुर पर्यटकहरूको रोजाइमा परेको संयोजक गुरुङले बताउनुभयो।

डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल कार्यबाहक सभापति बनेका छन्। सभापति रवि लामिछाने विरुद्ध सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गरेसँगै बसेको पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको हो।

नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो

0

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २८.९१ अंकले अर्थात् १.११ प्रतिशतले वृद्धि भई २,६१२.२० विन्दुमा पुगेको छ।

नेप्सेका तथ्यांकअनुसार, आज ३२८ कम्पनीका ८९,०८,८५१ कित्ता शेयर ५५,९३८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु ४ अर्ब ४३ करोड २४ हजार ६०३ पुगेको छ।

आजको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९.९३ प्रतिशत, र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ८.८६ प्रतिशतले वृद्धि भएको छ।

यता, मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कूल ४२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।

नेप्सेका अनुसार, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ३.१६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको २.३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को १.९० प्रतिशत, र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको १.८६ प्रतिशतले घटेको छ।

पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा

0

लिस्बन (पोर्चुगल): पोर्चुगलमा आयोजना गरिएको घुम्ती सेवा शिविरबाट ३,३०० भन्दा बढी नेपालीले विभिन्न कन्सुलर सेवा प्राप्त गरेका छन्। फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको यो शिविरले राहदानी वितरणदेखि कागजात प्रमाणीकरणसम्मका सेवाहरू उपलब्ध गराएको हो।

दूतावासका अनुसार, शिविरबाट २,४५१ विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गरिएको छ। त्यस्तै, ६७८ प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र २२९ अन्य कागजात प्रमाणीकरण गरी सेवाग्राहीहरूलाई सहजीकरण गरिएको हो। नेपाली राजदूत सुधीर भट्टराईका अनुसार, शिविरले कुल ७७,३९० युरो (अन्दाजी १ करोड ९ लाख ११ हजार ९ सय रुपैयाँ) राजस्व सङ्कलन गरेको छ।

राजदूत भट्टराईले घुम्ती शिविरले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूको समस्या समाधानमा महत्वपूर्ण योगदान दिएको बताए। “राहदानीको पर्खाइमा रहेका र कागजात प्रमाणीकरणका समस्या झेलिरहेका नेपालीका लागि यो सेवा उपयोगी भएको छ,” उनले भने। २०२४ मा मात्रै पोर्चुगलमा चारपटक घुम्ती शिविर सञ्चालन गरिएको र आगामी दिनमा आवश्यकताअनुसार थप शिविर सञ्चालन गरिने जानकारी उनले दिए।

शिविरमा दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, तृतीय सचिव दिपेन्द्रप्रसाद साह, र स्थानीय कर्मचारीहरूको टोलीले डिसेम्बर १२ देखि २१ सम्म सेवा प्रदान गरेका थिए।

लिस्बनमा सक्रिय नेपाली संघसंस्थाको समन्वयमा सञ्चालन गरिएको यस घुम्ती सेवाले पोर्चुगलवासी नेपालीहरूको दैनिक जीवनमा सहजता ल्याएको छ। राहदानी र कागजात प्रमाणीकरण जस्ता सेवा स्थानीय स्तरमै पाउँदा धेरैलाई ठूलो राहत भएको छ।

टरीगाउँ विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता र पर्यटनमन्त्रीको भेट

0

दाङ: तुलसीपुरको टरिगाउँ विमानस्थलको विस्तार गर्न पहल सुरु भएको छ। सत्ता साझेदार दलका नेताहरूले यस विषयमा सक्रियता देखाएका छन्।

आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल तथा नेपाली कांग्रेसका नेता, पूर्वसिँचाईमन्त्री, र दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेका छन्। छलफलमा उनीहरूले विमानस्थलको धावनमार्ग विस्तारका लागि बजेट र जग्गा व्यवस्थापनको माग गरेका थिए।

साथै, विमानस्थल विस्तारसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि मन्त्री पाण्डेलाई प्रस्तुत गरिएको छ। पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारको लागत लगभग तीन अर्ब ४२ करोड २८ लाख रुपियाँ अनुमान गरिएको छ। प्रस्तावित योजना अनुसार, हालको ७५० मिटरको धावनमार्गलाई १,५०० मिटरमा विस्तार गरिनेछ।

लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता

0

काठमाडौँ: नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

म्याग्दी हाइड्रोले प्रतिसेयर रु एक सयका दरले ४७ लाख ४५ हजार कित्ता बापत रु ४७ करोड ४५ लाख बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि छ महिनाको हुने कोषले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा आचार्यसहित तीन जना मनोनित

0

काठमाडौँ:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य–सचिवमा पार्टीका केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) र सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मतजङ्ग कार्की (स्याङ्जा) र सुश्री स्वाती थापा (रूपन्देही) लाई मनोनयन गर्नुभएको छ ।

पार्टीले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन पार्टी अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति गठन पनि गरेको छ ।

यसैबीच, पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौँ केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठकमा पार्टी सङ्गठन तथा भावी योजनाबारे छलफल हुने पार्टीका नेता राजाराम श्रेष्ठले बताउनुभयो ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको आज १०१औँ जन्मजयन्ती

0

काठमाडौँ: नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् । विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुभएका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्कनुभएको थियो ।

विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भन्नुभएको स्वामी आनन्द अरुण स्मरण गर्नुहुन्छ । प्रधानमन्त्री भएका बेला काठमाडौँमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गर्नुभएको थियो । जीवनकालमा किसुनजी पटकपटक ध्यान गर्न त्यहाँ पुग्नुहुन्थ्यो ।

उहाँ किसुनजीलाई आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा सम्झनुहुन्छ । तत्कालीन सरकारले तयार पारेको कागजातमा हस्ताक्षर गरेर बिपी कोइराला र गणेशमान सिंह सुन्दरीजल बन्दीगृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बस्नुभएको उहाँको स्मृतिमा ताजै छ । सन्तनेताको निष्ठाको राजनीति र चट्टानी अडान उहाँ सधैँ सम्झनुहुन्छ र त्यसको मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ ।

“किसुनजी राजनीतिमा रहेर आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्नुहुन्थ्यो, विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उहाँ सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रुपमा समेत स्थापित हुनुभएको छ, अडानमै रहेर उहाँ भारत प्रवासमा पनि जानुभएन, नेपालमै बसेर नेपाल विद्यार्थी सङ्घको स्थापना गर्नुभयो, त्यसबापत थप तीन वर्ष जेलमा बस्नुभयो”, आनन्द अरुणले भन्नुभयो । अहिंसावादी नेताका रुपमा चिनिने महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रुपमा परिचित हुनुभएको उहाँको बुझाइ छ ।

किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा गतवर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरेर त्यसका अध्यक्ष लोकेश ढकालले निष्ठाको राजनीति र देशको विकासमा उहाँले गर्नुभएको योगदानको प्रचार थाल्नुभएको छ ।

“किसुनजी आफैँले स्थापना गर्नुभएको पार्टी आफैँ आँसु झारेर किन छोडेर हिँड्नुभयो ? यसको खोजी गरेपछि नै उहाँप्रति सच्चा सम्मान हुनेछ, उहाँले पार्टी छोड्नुभयो, आदर्श छोड्नुभएन, उहाँप्रतिको सम्मानका लागि केन्द्र स्थापना गरिएको हो”,अध्यक्ष ढकालले भन्नुभयो ।प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा किसुनजीसँगसँगै भई सक्रिय रहँदै आउभएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल पद र पैसाका लागि लोभ नभएको राजनीतिज्ञका रुपमा आफूले चिनेको उहाँ बताउनुहुन्छ ।

भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल

0

लन्डन: भूतपूर्व गोर्खाहरूका माग समाधानका लागि लन्डनस्थित नेपाली दूतावासले नयाँ टिमसहित अनौपचारिक छलफल अघि बढाएको छ। यस विषयमा प्रगतिका लागि हालै लन्डनमा नियुक्त नयाँ अधिकारीहरूले सक्रिय प्रयास गरिरहेका छन्।

यसअघि राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य सबै कूटनीतिज्ञहरूको चारवर्षे कार्यकाल पूरा भई नेपाल फर्किएपछि नयाँ टिमले गोर्खा मुद्दालाई प्राथमिकतामा राख्दै गृहकार्य सुरु गरेको हो।

दूतावासका कार्यवाहक राजदूत एवं उपनियोग प्रमुख विपिन दुवाडीले तीन महिनाअघि जिम्मेवारी सम्हालेदेखि नै गोर्खा समस्यामा ध्यान दिन थालेका छन्। यस क्रममा उहाँले बेलायती संसद हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसहित विदेश मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका छन्। दुवाडीले गोर्खा मुद्दा समाधान बेलायतकै प्रतिष्ठासँग जोडिएको बताउँदै यो विषयमा गम्भीर भएर काम गर्न आग्रह गरेका छन्।

दुवाडीले भने, “यो केवल गोर्खाहरूको पीडा मात्र होइन, यो बेलायतको प्रतिष्ठाको सवाल पनि हो। मैले हरेक भेटघाटमा गोर्खाहरूको योगदानलाई सम्मान गर्न र समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गरेको छु।” उहाँका अनुसार, ब्रिटिश अधिकारीहरूले गोर्खाहरूको योगदानलाई महत्त्वपूर्ण मानेका छन् र सशर्त सेवा सुविधाका लागि सकारात्मक धारणा व्यक्त गरेका छन्।

नवनियुक्त राजदूत चन्द्र घिमिरे आगामी जनवरी पहिलो साता लन्डन आएपछि औपचारिक वार्ता सुरु गरिने जानकारी कार्यवाहक राजदूत दुवाडीले दिएका छन्। साथै, दुवाडीले गोर्खा संगठनका प्रतिनिधिहरूसँग निरन्तर छलफल भइरहेको बताएका छन्।

पछिल्ला तीन वर्षमा त्रिपक्षीय वार्ताका क्रममा प्राविधिक संयन्त्रका १३ बैठक र झण्डै आधा दर्जन मन्त्रीस्तरीय वार्ता भइसकेका छन्। यद्यपि, प्राविधिक स्तरका घनीभूत छलफलहरूबाट अपेक्षित उपलब्धि हासिल नभएकोमा गोर्खा समुदाय निराश छन्।

गोर्खाहरूले समतामूलक पेन्सन, समान सेवा सुविधा, र बेलायतमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकहरूका परिवारका लागि भिसा सहुलियतलगायत माग राख्दै आएका छन्। यस विषयमा बेलायत सरकारको प्रगतिशील कदम आवश्यक रहेको आवाज उठाउँदै दुवाडीले गोर्खाहरूका लागि न्याय सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

गोर्खा मुद्दाको दीर्घकालीन समाधानका लागि दुवैतर्फको इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ। बेलायतमा रहेका गोर्खा संगठनहरूले यसबारे थप दबाब दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।