Tuesday, June 23, 2026
Home Blog Page 580

अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको मूल्य भने ओरालो लागेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ७० पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २३ पैसा र बिक्रीदर १२ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता

0

बरहथवा (सर्लाही): सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले चारवटा सडक स्तरोन्नतिका लागि सम्झौता गरेका छन्। आइतबार हरिवन र हरिहरपुरगढी जोड्ने केरावारी–रानीचुरी–रागेदोभान, हरिवन–क्यानेश्वर, तित्रीगाछी–धुम्बे–भुताहा–बरुण, र अत्रौली–केवनचुली–भुताहा–बरुण सडक खण्डको स्तरोन्नतिमा सहमति भएको हो।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सिन्धुलीको हरिहरपुरगढीका अधिकांश गाउँका बासिन्दाको व्यापारिक केन्द्र हरिवन बजार भए पनि अव्यवस्थित सडकका कारण आवतजावतमा कठिनाइ हुँदै आएको छ। “सडक राम्रो नहुँदा व्यापार र उपचारका लागि हरिवन पुग्न स्थानीयले सास्ती भोग्नुपरेको छ,” अध्यक्ष वाइबाले बताए।

सडक स्तरोन्नतिको पहलमा बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्ले र मधेश प्रदेशका अर्थमन्त्री सुनील यादवले समेत चासो देखाउँदै अवलोकन भ्रमण गरेका थिए।

हरिवनदेखि मरिणसम्मको ३५ किलोमिटर दूरीलाई सहज बनाउन दुवै पालिकाले आ–आफ्नो सीमा क्षेत्रभित्रको सडक सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ जिल्ला आदालतमा आज रविको थुनछेक बहस

0

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज फेरि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी हिरासतमा राख्ने आदेश दिएपछि लामिछानेलाई आइतबार प्रहरी हिरासतमा राखिएको थियो।

लामिछानेको बयान अधिकारीको इजलासमा आइतबार नै सम्पन्न भए पनि थुनछेक बहस सुरू नभएकाले सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको हो।

आइतबार बिहानै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले प्रारम्भमा नै बयान दिएका थिए। अदालतले कास्की जिल्ला अदालतझैं धरौटी माग गरेमा उनी छुट्ने सम्भावना रहेको जनाइएको छ। तर, थुनछेक बहस नसकिएकाले उनलाई कम्तिमा एक रात हिरासतमा बिताउनुपर्ने स्थिति आएको छ।

लामिछानेलाई अदालत परिसरबाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले नाराबाजी गरेका थिए। हिरासतमा जानु अघि उनले सबैलाई ‘स्यालुट’ गर्दै समर्थनप्रति आभार व्यक्त गरेका थिए।

लामिछानेलाई सूर्य दर्शन सहकारी ठगी प्रकरणमा कार्तिक २ गते पक्राउ गरिएको थियो। ८४ दिनपछि गत बिहीबार उनले ६५ लाख धरौटी बुझाएर पोखराबाट रिहा भएका थिए।

हाल उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनेका छन्। यसै मुद्दामा बयानका लागि उनलाई काठमाडौं अदालतमा तलब गरिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सिफारिस गरेको थियो। स्वर्णलक्ष्मी सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप उनीहरूमाथि लागेको छ।

साझा यातायातमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

0

काठमाडौँः साझा यातायातले रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ। यस पदलाई खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत पदपूर्ति गरिनेछ।

आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिदेखि २१ दिनभित्र पुल्चोकस्थित साझा यातायातको प्रधान कार्यालयमा रीतपूर्वक दरखास्त दिनुपर्नेछ। निर्धारित समयसीमाभित्र प्राप्त नभएका वा रीत नपुगेका दरखास्त स्वीकृत नहुने सूचनामा उल्लेख गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत पदका लागि व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ।

आवेदकले कुनै सरकारी सेवा, प्रचलित कानुन बमोजिम दर्ता भएको सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय संघ–संस्थामा अधिकृत स्तरमा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी, दशौँ तह वा सो सरहको पदमा सात वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ।

त्यसैगरी, दरखास्त दिने अन्तिम मितिसम्म उमेर कम्तीमा ३५ वर्ष पूरा भएको र ६३ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।

अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनियर विरुद्ध मुद्दा दायर

0

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, श्रेष्ठको सरकारी सेवामा प्रवेशपछि आर्जन गरिएको सम्पत्तिको विस्तृत अध्ययन गरिएको थियो। इञ्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका थिए, र २०७७ असार ३१ सम्मको सम्पत्तिको विवरणको छानबिन गरिएको हो।

छानबिनमा, वैधानिक रुपमा श्रेष्ठले रु ११ करोड २५ लाख ६५ हजार ११९ बराबरको आय गरेको देखिएको छ। तर, उनले रु १६ करोड १३ लाख ९५ हजार ५२८ बराबरको लगानी र खर्च गरेको पाइयो। आयोगले रु ४ करोड ८८ लाख ३० हजार ३२९ बराबरको रकमको वैधानिक स्रोत नदेखिएको बताएको छ।

आयोगका अनुसार, श्रेष्ठले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेका छन्। उनले अस्वाभाविक जीवनशैली अपनाएको पनि पुष्टि भएको छ।

गैरकानुनी रुपमा आर्जित सम्पत्तिलाई श्रेष्ठले आफ्नी पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठको नाममा राखेको पाइएको छ। त्यसैले, उनीहरूलाई पनि प्रतिवादी बनाई आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।

अख्तियारले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्नुपर्ने र रु ४ करोड ८८ लाख ३० हजार ३२९ बराबरको बिगो असूल गर्नुपर्ने मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

0

काठमाडौँ: प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ वर्षको उमेरमा निधन भएको छ। उहाँको आज राति १२:१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१, लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा उहाँको निधन भएको वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गर्नुभयो।

उहाँका दुई छोरा र तीन छोरी छन्। लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत हुनुहुन्थ्यो। साथै, पर्यटन व्यवसायमा संलग्न रहेका उहाँ चौँरीखर्कका पूर्व गाविस अध्यक्ष पनि हुनुहुन्थ्यो।

केही वर्षयता वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध हुनुहुन्थ्यो।

कुलमानले ऊर्जामन्त्री खड्कालाई बुझाए स्पष्टीकरण

0

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण बुझाएका छन्। ऊर्जा सचिव सुरेश आचार्यले पुस २२ गते घिसिङलाई ७ दिनको म्यादसहित स्पष्टीकरण माग गरेका थिए।

ऊर्जा मन्त्री दीपक खड्काको निर्देशनमा सोधिएको स्पष्टीकरणमा घिसिङलाई पदबाट किन नहटाउने भनेर प्रश्न गरिएको थियो। मन्त्रालयले विवरण माग्दा सत्यतथ्य नबुझाएको, पटक-पटक सरकारलाई असहयोग गरेको, पदीय मर्यादाविपरीतका कार्य गरेको, र निर्देशनको अवज्ञा गरेको जस्ता आरोप लगाएको छ।

मन्त्रालयले विशेष रूपमा १५ बुँदे विवरण स्पष्ट रूपमा नबुझाएको, असम्बन्धित कागजात पठाएको, र कार्य सम्पादन विवरण नबुझाएर लापरबाही गरेको आरोप लगाएको छ। साथै, टिओडी मिटर जाँच गर्न गठित समितिलाई भत्ता र गाडीको सुविधा दिन नमानी ‘नोट अफ डिसेन्ट’ लेखेको विषयमा पनि स्पष्टिकरण मागिएको छ।

यसका अतिरिक्त, सामान्य विषयमा विवाद गर्ने, मन्त्रालयसँग असहयोगी भूमिका खेल्ने, र औपचारिकता निर्वाह गर्ने शैलीमा जवाफ दिने गरेको आरोपसमेत लगाइएको छ।

स्पष्टीकरण बुझाउनुअघि घिसिङले आफ्नो कुल कामको ९८.९९ प्रतिशत कार्य सम्पादन गर्न सफल भएको विवरण मन्त्रालयमा प्रस्तुत गरेका थिए।

काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय

0

काठमाडौं: पुरानो बसपार्कस्थित भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने निर्णय

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने निर्णय गरेको छ। आइतबार एक सूचना जारी गर्दै महानगरले यो कदम चालेको हो।

सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबीच २०७१ साल फागुन २२ गते काठमाडौं भ्युटावर निर्माणका लागि सम्झौता भएको थियो। उक्त प्रालिबाट निर्माण हुँदै गरेको भ्युटावर भवनको नक्सा पाससम्बन्धी छानबिन समिति गठन भई काम भइरहेको हुँदा छानबिनको प्रतिवेदन प्राप्त नभएसम्मका लागि उक्त भवनको नक्सा पास प्रक्रिया निष्क्रिय रहने छ।”

यसअघि, काठमाडौं महानगरपालिकाले नक्सा पासमा अनियमितता भएको आशंकामा प्रमुख प्रशासकीय अधिकृत सुरेश गुरागाईंलाई निलम्बन गरेको थियो।

महानगरले सरोकारवालाहरूलाई छानबिन प्रक्रिया पूरा नभएसम्म नक्सा पाससँग सम्बन्धित कुनै पनि काम नगर्न सूचित गरेको छ।

हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

0

काठमाडौं: सरकारले माघ पहिलो साता संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। विपक्षी दलका नेताहरूले संसद् अधिवेशन छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्न लागेको आरोप लगाइरहेका बेला सरकार यस्तो तयारीमा जुटेको हो।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद् त सरकारलाई नै आवश्यक रहेको बताउँदै, माघ पहिलो साता अधिवेशन बोलाउने प्रक्रिया अघि बढिरहेको जानकारी दिए। उनका अनुसार कानुन निर्माणमा ढिलाइ भएपछि सरकार अध्यादेश ल्याउन बाध्य भएको हो।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले विभिन्न २७ ऐन अध्यादेशमार्फत संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। साथै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र निजीकरण ऐनमा संशोधन गरी अन्य दुई अध्यादेश जारी गरिएको छ।

विपक्षीको असन्तुष्टि
प्रमुख प्रतिपक्षी दल माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद्को हिउँदे अधिवेशन ढिलो गराइएकोमा असन्तुष्टि जनाए। काठमाडौँमा भएको एक कार्यक्रममा उनले संसद् अधिवेशन नियमित समयमै आह्वान हुनुपर्नेमा जोड दिए।

यता, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् अधिवेशन नचलिरहेको बेला संविधानको धारा ११४ बमोजिम अध्यादेश ल्याउन सकिने बताए। उनले अध्यादेशलाई संसद्को अधिकार कटौती भन्नु अनुचित भएको तर्क गर्दै, सदनको पहिलो बैठकमा अध्यादेशहरू पेस गरिने स्मरण गराए।

तर, सत्तारुढ दलकै नेता एनपी साउदले अध्यादेशमार्फत कानुन निर्माण गर्न सरकारको प्राथमिकता देखिएकोमा असन्तुष्टि व्यक्त गरे।

अन्य दलहरूको प्रतिक्रिया
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई अध्यादेशमार्फत सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाए। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार सदनसँग डराएर समस्याको समाधान अध्यादेशमार्फत खोज्न लागेको टिप्पणी गरे।

संसद्को बर्षे अधिवेशन भदौ ३१ गते अन्त्य गरिएको थियो। संघीय संसद् सचिवालयले अधिवेशन बोलाउनेबारे सरकार र सभामुखबीच अनौपचारिक छलफल भइरहेको हुनसक्ने जानकारी दिए।

ट्रम्पको सपथ समारोहमा बोइङ र गुगललगायत ठूला कम्पनीहरूले करोडौं खर्च गर्ने

0

काठमाडौं: अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङले डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको पुष्टि गरेको छ। बीबीसीलाई दिएको जानकारी अनुसार, यो योगदान राष्ट्रपतिको शपथ ग्रहण समारोहलाई समर्थन गर्ने बोइङको दीर्घकालीन परम्पराको हिस्सा हो।

बोइङमात्र होइन, प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरू गुगल र माइक्रोसफ्टले पनि समान रकम ($१ मिलियन) सहयोग गरेका छन्। यसका साथै, तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी क्षेत्रमा अग्रणी मेटा (पूर्व फेसबुक), अमेजन, र उबरले पनि योगदान दिएको पुष्टि भएको छ।

कार निर्माता कम्पनीहरू फोर्ड, जनरल मोटर्स, र टोयोटाले पनि ट्रम्पको सपथ ग्रहण समारोहमा १-१ मिलियन डलर प्रदान गरेका छन्।

बोइङको परम्परा बोइङका प्रवक्ताले भने, “हामी बोइङको द्विपक्षीय परम्परालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपतिको शपथ ग्रहणलाई समर्थन गर्न पाउँदा खुसी छौं।”

बोइङले पछिल्लो तीन राष्ट्रपतिको शपथ ग्रहणका लागि पनि समान स्तरको आर्थिक सहयोग गरेको बताएको छ।

डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा अमेरिकाको राष्ट्रपति पदको दोस्रो कार्यकालका लागि सपथ ग्रहण गर्दैछन्। यसलाई ऐतिहासिक अवसरको रूपमा लिने तयारी गरिएको छ, जसमा ठूला अमेरिकी कम्पनीहरूले ठूलो मात्रामा आर्थिक सहयोग पुर्‍याएका छन्।

यस किसिमका सहयोगहरूले ठूला कम्पनीहरूले राजनीतिक घटनामा खेल्ने भूमिकामाथि थप चर्चा सिर्जना गरेको छ। आलोचकहरूले यसलाई कर्पोरेट प्रभावको संकेत मान्ने गरे पनि, समर्थकहरूले यसलाई लोकतान्त्रिक परम्पराको समर्थनको रूपमा हेर्ने गर्छन्।

सपथ ग्रहण समारोहमा योगदान पुर्‍याउने यी ठूला कम्पनीहरूको भूमिका अमेरिकी राजनीतिमा कर्पोरेट सहभागिताबारे नयाँ बहसको विषय बन्नसक्छ।