काठमाडौं: सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरूमा हृदयाघातको जोखिम तीन गुणा बढी हुने तथ्य विभिन्न अध्ययनले देखाएको छ। शहीद गंगालाल हृदय रोग राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार चुरोट, हुक्का, सुर्ती र खैनीको प्रयोगले मुटु सम्बन्धी समस्या अत्यधिक बढ्ने गरेको छ।
डा. अधिकारीले चुरोट सेवन गर्ने व्यक्तिमा मधुमेह, उच्च रक्तचाप, र कोलेस्टेरोलका कारण हृदयाघातको सम्भावना उच्च रहेको बताए। नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेको अध्ययनले देखाएको छ।
उनले थपे, “चुरोट सेवन गर्न छाडेपछि स्वास्थ्यमा चाँडै सुधार देखिन्छ। चुरोट छोडेको २० मिनेटमै उच्च रक्तचाप सामान्य हुन थाल्छ। तीन दिनमा स्वासप्रश्वासमा सुधार देखिन्छ। एक वर्षपछि हृदयाघातको जोखिम आधाले घट्छ भने १५ वर्षमा सामान्य व्यक्तिको जस्तै मुटुको स्थिति सुधारिन्छ।”
जाडोयाममा हृदयाघातको जोखिम किन बढी?
जाडोयाममा मानिसको रक्तनली खुम्चिने हुँदा रगतको प्रवाहमा समस्या हुने गर्छ। चुरोट र मादक पदार्थको सेवनले यो समस्या झन् गम्भीर बनाउँछ। गंगालाल अस्पतालका निर्देशक डा. रवि मल्लका अनुसार जाडोमा शारीरिक गतिविधि कम हुने, अस्वस्थ खानपान बढ्ने र मानिसहरू घरमै बसिरहने प्रवृत्तिले जोखिम थपिएको हो।
कसरी हुन्छ हृदयाघात?
मुटुलाई रगत आपूर्ति गर्ने नलीमा अवरोध हुँदा हृदयाघात हुन्छ। उमेरसँगै यी नली साँघुरिँदै जान्छन्। अस्वस्थ जीवनशैली, चिल्लो तथा बोसोयुक्त खाना, तनाव, र प्रदूषणले यो प्रक्रिया छिटो हुन्छ।
डा. अधिकारीले भने, “हृदयाघात भएका व्यक्तिहरूलाई १२ घण्टाभित्र अस्पताल पुर्याउन सके समयमै उपचार सम्भव छ। एन्जिओप्लास्टी प्रविधिमार्फत बन्द भएको नली खोल्न सकिन्छ।”
प्रमुख तथ्यांकहरू
गंगालाल अस्पतालको २०१८ को अध्ययनअनुसार ४५ वर्षमुनिका ११.८ प्रतिशत व्यक्तिमा चुरोट सेवनकै कारण हृदयाघात भएको देखिएको छ।
३६.६ प्रतिशतमा उच्च रक्तचाप, २५.३ प्रतिशतमा मधुमेह, र ७.८ प्रतिशतमा कोलेस्टेरोलले हृदयाघात भएको पाइएको छ।
नेपालमा वार्षिक २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गर्छ।
जीवनशैली सुधार गर्न आवश्यक
डा. अनिल भट्टराईका अनुसार स्वस्थ जीवनशैली अपनाएर हृदयाघातको जोखिम कम गर्न सकिन्छ। “चुरोट, हुक्का, र तारेको–भुटेको मासु सेवन बन्द गर्ने, नियमित व्यायाम गर्ने र स्वस्थ आहार अपनाउने व्यक्तिमा हृदयाघातको जोखिम निकै घट्छ,” उनले भने।
सचेतना र शीघ्र उपचारको आवश्यकता
डा.अधिकारीका अनुसार हृदयाघातका लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्तै अस्पताल पुग्नुपर्छ। “छाती दुख्ने, स्वासप्रश्वासमा समस्या आउने, र नबज्ने संकेत देखिनासाथ चिकित्सकको परामर्श लिनु जरूरी छ,” उनले बताए।
नेपालमा मुटुरोगसम्बन्धी सचेतना अभाव र समयमै अस्पताल नपुग्दा धेरै व्यक्तिको ज्यान गइरहेको चिकित्सकहरूको भनाइ छ। स्वस्थ जीवनशैली र समयमै उपचारले यस्तो जोखिमबाट बच्न सकिने उनीहरूको सुझाव छ।