Wednesday, June 24, 2026
Homeअर्थ र ब्यापारघुन्सा खोला जलविद्युत् आयोजनामा १२ अर्ब ७० करोडको लगानी जुट्यो

घुन्सा खोला जलविद्युत् आयोजनामा १२ अर्ब ७० करोडको लगानी जुट्यो

काठमाडौँ: वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यसहित विकास गरिएको ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनामा १२ अर्ब ७० करोड लगानी जुटेको छ। आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्दैछ।

आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ। लक्ष्मी सनराइज बैंकले रु ५ अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीले रु ३ अर्ब, नागरिक लगानी कोषले रु २ अर्ब, माछापुच्छ्रे बैंकले रु १ अर्ब ४५ करोड, र एभरेष्ट बैंकले रु १ अर्ब २५ करोड लगानी गर्नेछन्।

आयोजना ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानी उपयोग गरेर निर्माण हुनेछ। आयोजनाको अनुमानित लागत ब्याजसहित रु १८ अर्ब १३ करोड रहेको छ। वित्तीय व्यवस्थापन स्वपूँजी र ऋण लगानीबाट हुनेछ।

शेयर वितरण

कम्पनीमा ५१ प्रतिशत स्वपूँजी लगानी संस्थागत छ, जसमा नेपाल विद्युत् प्राधिकरणको २१%, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १५%, र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १५% हिस्सेदारी छ। बाँकी ४९ प्रतिशत जनताको लागि छुट्याइएको छ।

४९ प्रतिशत जनताको शेयरमध्ये २९% वैदेशिक रोजगारीमा गएका नेपालीका लागि, १०% आयोजना प्रभावित स्थानीयवासीका लागि, र १०% सर्वसाधारणका लागि सुनिश्चित गरिएको छ।

निर्माण प्रगति
आयोजना निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विद्युत् गृह तथा आवास गृहसम्मको बाटो र तमोर नदीमा बेली ब्रिज निर्माण कार्य सम्पन्न भइसकेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका