Wednesday, June 24, 2026
Home Blog Page 561

सहकारीका बचतकर्ताको रकमको ग्यारेन्टी गर्न अध्यादेश: सभापति देउवा

0

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी क्षेत्रलाई समयानुकूल ऐन, नियममार्फत सशक्त बनाउन सरकारले नयाँ अध्यादेश ल्याएको बताएका छन्।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपाली कांग्रेस र सहकारी’ विषयक एकदिने विचार गोष्ठीमा देउवाले सहकारी प्रणालीले गरिबी निवारण र सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

उनले भने, “सहकारी प्रणालीले गरिबी निवारण, सशक्तिकरण र लोकतान्त्रिक समाजवादको स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्छ। यसैले समयानुकूल सहकारीमैत्री ऐनको आवश्यकता महसुस गरी सरकार नयाँ अध्यादेश ल्याएको हो। सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा सकारात्मक परिवर्तन हुनेमा मेरो पूर्ण विश्वास छ।”

देउवाले नेपालको संविधानले सरकारी, निजी, र सहकारी क्षेत्रलाई अर्थतन्त्रका तीन आधारका रूपमा मान्यता दिएको भन्दै सहकारी क्षेत्रको महत्व अझ स्पष्ट भएको उल्लेख गरे।

सभापति देउवाले नेपाली कांग्रेसले सहकारी आन्दोलनलाई नागरिकस्तरसम्म पुर्याउन अभियानका रूपमा विस्तार गर्न लागेको जानकारी दिए। गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारीको भूमिका महत्वपूर्ण भएको उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारी क्षेत्रको विश्वसनीयता कायम राख्न सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए।

मोन्टी देसाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

0

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ।

क्यानले देसाईको सम्झौता अवधि सकिएको र सम्झौता नवीकरण नगर्ने जानकारी दिँदै उनको प्रशिक्षण अवधिमा नेपाली क्रिकेट टिमले हासिल गरेको सफलताका लागि धन्यवाद ज्ञापन गरेको छ।

देसाईको नेतृत्वमा नेपाली क्रिकेटका ऐतिहासिक उपलब्धि

२०७९ माघमा नेपाली पुरुष क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका देसाईको नेतृत्वमा नेपालले लिग-२ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल भएको थियो।

त्यसैगरी, उनको प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेल्ने अवसर पायो भने १० वर्षपछि आईसीसी टी-२० विश्वकपमा समेत सहभागिता जनायो।

क्यानले देसाईको योगदानलाई उच्च कदर गर्दै भविष्यका लागि सफलताको शुभकामना दिएको छ।

साउदी अरबमा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

0

काठमाडौं: साउदी अरबको पश्चिमी क्षेत्र जिजान नजिकै भएको भीषण सडक दुर्घटनामा तीन नेपाली कामदारको मृत्यु भएको छ। जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार दुर्घटनामा परेर कृष्ण खत्री, रूपक कार्की, र मानबहादुर रानाले ज्यान गुमाएका छन्।

सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको महावाणिज्य दूतावासका सुवास यादवले जानकारी दिए। मृतकका परिवारलाई घटनाबारे सूचना दिइसकिएको छ। शव स्वदेश पठाउने प्रक्रिया कम्पनीसँग समन्वय गरेर अगाडि बढाइने यादवले बताए।

अन्य विदेशी नागरिक पनि मारिए

साउदी प्रेस एजेन्सीका अनुसार उक्त दुर्घटनामा १५ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नौ भारतीय र तीन घानाका नागरिक पनि रहेको भारतीय महावाणिज्य दूतावासले पुष्टि गरेको छ।

दुर्घटनाको विवरण

दक्षिणी बन्दरगाह सहर जिजानमा २६ कामदारलाई कार्यस्थलतर्फ लैजाँदै गरेको बस एक ट्रेलरसँग ठोक्किँदा दुर्घटना भएको हो। ठक्कर यति भीषण थियो कि बस पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।

घटनामा ११ जना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार गति सीमा नाघेको कारण दुर्घटना भएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्।

नेपाली समुदायलाई दूतावासको आग्रह
दूतावासले साउदीमा रहेका नेपाली समुदायलाई सडक सुरक्षा नियमको पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै कुनै आपत्कालीन अवस्थामा दूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

गायक रायमाझीको नयाँ गीत “लाहुरे टाँसेको” सार्वजनिक

0


अर्घाखाँचीका लोकप्रिय गायक तथा संगीतकार विशाल रायमाझीले नयाँ म्युजिक भिडियो ‘लाहुरे टाँसेको’ सार्वजनिक गरेका छन्। काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रायमाझीले शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।

नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीलाई समर्पण गर्दै उक्त गीतको छायांकन सुपादेउरालीको काखमा गरिएको छ। सुटिङका क्रममा रायमाझीले स्थानीयलाई पनि निमन्त्रणा दिएका थिए।

गीतमा शब्द तथा संगीत स्वयं रायमाझीकै रहेको छ भने उनलाई स्वरमा सलिना नेपालीले साथ दिएकी छन्। गीतले प्रदेशबाट फर्किएका लाहुरेको कथा र प्रेमलाई पन्जे बाजाको लयमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

रायमाझीको सांगीतिक यात्रा देशभित्र र बाहिरसमेत चर्चित छ। उनले ‘साइनो हरायो’, ‘गाउँका लाहुरे’, ‘पूर्वे धरान’, ‘संगिनी’, र ‘नक्कले भिनाजु’ जस्ता लोकप्रिय गीतमार्फत दर्शकको मन जितिसकेका छन्।

‘लाहुरे टाँसेको’ गीतको एरेञ्ज विश्वास नेपालले गरेका हुन् भने रेकर्डिङ राजु सुनाम र अडियो मिक्सिङ बिनोद परियारले स्टुडियो ओजनमा गरेका हुन्।

गीतको भिडियोमा कलाकार तथा मोडल एलिना रायमाझी, विशाल रायमाझी, सलिना नेपाली, आरजे अनु र शुशान्त पछाईको दमदार अभिनय देख्न सकिन्छ। छायांकन प्रकाश खड्काले गरेका हुन् भने मेकअप कबिन भाइको रहेको छ।

आजको मौसम : तराईमा हुस्सु र कुहिरो

0

काठमाडौँ: कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध

0

काठमाडौँ: चन्द्रागिरि नगरपालिकाले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री र वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। शुक्रबार सूचना जारी गर्दै नगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागलगायत मुखमा राख्ने वा रस लिने सूर्तिजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “शिक्षण संस्था, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेन्ट, छात्राबास, ब्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका स्थानमा सूर्तिजन्य पदार्थको सेवन र बिक्री सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ अनुसार निषेध गरिएको छ।”

विज्ञप्तिमा सूर्तिजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा नकारात्मक असर गर्नुका साथै प्लास्टिक वा बट्टामा प्याकेजिङ गरिएका पदार्थहरूले भूमि प्रदूषण गर्ने, ढल जाम गराउने र शहरको सुन्दरतामा पनि प्रतिकूल असर पर्ने बताइएको छ।

नगरपालिकाले सार्वजनिक स्थानमा धूमपान र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागजस्ता पदार्थहरूको बिक्री वितरणलाई यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी पूर्ण रूपमा प्रतिबन्ध लगाएको जनाएको छ।

सूचनामा भनिएको छ, “कसैले यो सूचनाको उल्लङ्घन गरी सूर्तिजन्य पदार्थको बिक्री गरेको पाइएमा नगर प्रहरीमार्फत जफत गरिने र सम्बन्धित व्यवसायीलाई कानुनअनुसार अधिकतम सजाय गरिने छ।”

यस वर्ष बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री

0

ढोरपाटन (बागलुङ): बागलुङमा यस वर्ष रु २६ करोड ४६ लाख ५४ हजार बराबरको सुन्तला उत्पादन भएको छ। उत्पादनमा केही गिरावट आए पनि किसानले गत वर्षभन्दा राम्रो मूल्य पाएका छन्। उत्पादन अघिल्लो वर्षभन्दा २८ मेट्रिकटनले घटे पनि मूल्यमा रु १ करोड ८६ लाख ५४ हजारको वृद्धि भएको छ।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष चार हजार १०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष घटेर चार हजार ७१.६ मेट्रिकटनमा सीमित भएको छ। तर, अघिल्लो वर्ष न्यूनतम मूल्य रु ६० प्रतिकिलो रहेकोमा यस वर्ष रु ६५ पुगेपछि किसानले उत्पादन घटे पनि राम्रो आम्दानी गरेका छन्।

अघिल्लो वर्ष रु २४ करोड ६० लाखको सुन्तला उत्पादन भएको थियो। सूचना अधिकारीका अनुसार यो वर्ष समयमा वर्षा नहुनु र हिउँदे सिँचाइको अभावका कारण उत्पादनमा कमी आएको हो। कृषि ज्ञान केन्द्रले किसानलाई प्राविधिक सहयोग र अनुदान प्रदान गर्दै आएको छ।

“उत्पादन घटे पनि मूल्य बढेकाले किसानले घाटा व्यहोर्नु परेको छैन,” सूचना अधिकारी अधिकारीले बताउनुभयो। “थोरै भए पनि फाइदा नै लिनुभएको छ। किसानले अझै पनि सुन्तला बजारमा पठाइरहनुभएको छ।”

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। यस वर्ष ३७७ हेक्टरमा लगाइएका बिरुवाले उत्पादन दिएका छन्। बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन मुख्य रूपमा हुने गरेको छ।

काठेखोलाका किसान लोकनाथ कँडेलले यस वर्ष रु १३ लाख ५० हजारको सुन्तला उत्पादन गर्नुभएको छ। अघिल्लो वर्षको तुलनामा उत्पादन घटे पनि आम्दानी बढी भएको उहाँले बताउनुभयो। “पोहोर साल रु ११ लाखको सुन्तला बिक्री गरेको थिएँ,” उहाँले भन्नुभयो। आफ्नो बगैँचामा ३०० बोट सुन्तला रहेको जनाउँदै यस वर्ष २१० बोटले फल दिएको उहाँले जानकारी दिनुभयो।

चितवन राष्ट्रिय निकुञ्जले आजदेखि गैँडा स्थानान्तरण गर्ने

0

चितवन: चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण कार्य सुरु गरेको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँबाट चारवटा गैँडालाई पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो।

केही वर्षअगाडि नै गैँडा आन्तरिक स्थानान्तरणको अध्ययन भए पनि यो कार्य गत वर्षबाट मात्रै सुरु भएको थियो। गत वर्ष छ वटा गैँडा सफलतापूर्वक स्थानान्तरण गरिएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार स्थानान्तरणको लागि आवश्यक सबै तयारी पूरा गरिएको छ। प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट स्थानान्तरण प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो। हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी र सुरक्षार्थ खटिएको सेनाको सहयोगमा स्थानान्तरण कार्य अघि बढाइएको छ।

डा. पन्तले भन्नुभयो, “अहिले दुई भाले र दुई पोथी गैँडा स्थानान्तरण गरिँदैछ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण थालिएको हो। प्रतिवेदनमा कसराबाट पश्चिम क्षेत्रमा ६० प्रतिशत गैँडा रहेको उल्लेख थियो। स्थानान्तरणले वासस्थान सहज बनाउने अपेक्षा गरिएको छ।

स्थानान्तरणका लागि वयस्क गैँडालाई प्राथमिकता दिइएको छ भने निगरानी प्रक्रिया जारी रहेको उहाँले जानकारी दिनुभयो। स्थानान्तरण कार्य पूरा गर्न दुई साता लाग्ने अनुमान गरिएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार स्थानान्तरणपछि पश्चिम र पूर्वी क्षेत्रका गैँडाबीच संसर्ग भई प्रजननमा सहयोग पुग्ने आशा गरिएको छ। पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिने तयारी गरिएको छ।

स्थानान्तरणको अनुगमनका लागि विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलको टोली चितवन आइपुगेको छ।

तीन वर्षअघि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोलीले गैँडा स्थानान्तरणको अध्ययन गरेको थियो। पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन्। तीमध्ये बर्दियामा ३८, शुक्लाफाँटामा १७, पर्सा राष्ट्रिय निकुञ्जमा ३ तथा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।

सेती राजमार्गअन्तर्गत बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु

0

घोडाघोडी (कैलाली): सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको सेती राजमार्गअन्तर्गत कैलालीको बौनियाँ–टीकापुर खण्ड निर्माण कार्य सुरु भएको छ। बौनियाँ बजारबाट साढे चार किलोमिटर दक्षिणतर्फ आजदेखि ‘कङ्क्रिट वाल’, नाली तथा सडक भरानको काम थालिएको छ।

चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित रु ६ करोड १५ लाख लागतमा निर्माण कार्य सुरु गरिएको हो। उक्त योजनामा १,१०० मिटर पक्की नाला, सडकको दुवै छेउमा २,००० मिटर कङ्क्रिट वाल तथा १६ मिटर चौडाइमा साढे चार किलोमिटर सडक भरानको काम हुने बौनियाँ–टीकापुर सडक निर्माण आयोजना कार्यालयले जनाएको छ।

आज आयोजित शुभारम्भ कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधिभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो। “सेती राजमार्ग निर्माण लामो समयदेखि ढिलाइ हुँदै आएको छ, यसलाई चाँडो सम्पन्न गर्न निर्माण कम्पनीले गम्भीरता देखाउनुपर्छ। स्थानीय तह आवश्यक समन्वय र सहकार्य गर्न तयार छ,” उहाँले भन्नुभयो।

अध्यक्ष कुँवरले बर्दगोरिया गाउँपालिकाको क्षेत्रमा एउटा पक्की पुल सम्पन्न भइसकेको र अर्को पुल केही महिनाभित्र सम्पन्न हुने जानकारी दिनुभयो। “सेती राजमार्गमा सुविधासम्पन्न सडक बन्नुले सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्नेछ। त्यसैले काम समयमा सम्पन्न गर्न समन्वय गर्न आवश्यक छ,” उहाँले जोड दिनुभयो।

उहाँका अनुसार यही खण्डअन्तर्गत दुर्गौली–प्रतापपुर १० किलोमिटर सडक कालोपत्रे कार्य भइरहेको छ। कैलालीको मोहन्याल गाउँपालिका क्षेत्रमा तीन किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी रहेको जानकारी दिँदै उक्त ट्रयाक खुलेपछि टीकापुर–खिमडी–ठुलीगाड सिधा यातायात सञ्जालमा जोडिने उहाँले बताउनुभयो।

सरकारका तर्फबाट प्रतिनिधिसभामा ६ ओटा अध्यादेश पेस

0

काठमाडौं: प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सरकारद्वारा ६ ओटा अध्यादेश पेस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसदमा पेस गरेका छन्।

आर्थिक सुधार र निजीकरणसम्बन्धी अध्यादेशहरू पेस

उपप्रधानमन्त्री पौडेलले नै ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१,’ ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पनि संसदमा प्रस्तुत गरे।

भूमि र सहकारीसम्बन्धी अध्यादेश

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरे।

सूचना प्रविधि र सुशासनमा ध्यान

सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश’ पेस गरेका छन्।

अध्यादेश पेसको प्रक्रिया

संसद् बैठक नचलेका बेला सरकारले ल्याएका अध्यादेश प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पेस गर्ने कानुनी व्यवस्था छ। यी अध्यादेशहरू ६० दिनभित्र पारित गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ।

विश्लेषकहरूका अनुसार यी अध्यादेशहरू सरकारी सेवा सुधार, लगानीमैत्री वातावरण निर्माण, वित्तीय व्यवस्थापन र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।