ढोरपाटन (बागलुङ): बागलुङमा यस वर्ष रु २६ करोड ४६ लाख ५४ हजार बराबरको सुन्तला उत्पादन भएको छ। उत्पादनमा केही गिरावट आए पनि किसानले गत वर्षभन्दा राम्रो मूल्य पाएका छन्। उत्पादन अघिल्लो वर्षभन्दा २८ मेट्रिकटनले घटे पनि मूल्यमा रु १ करोड ८६ लाख ५४ हजारको वृद्धि भएको छ।
कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष चार हजार १०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष घटेर चार हजार ७१.६ मेट्रिकटनमा सीमित भएको छ। तर, अघिल्लो वर्ष न्यूनतम मूल्य रु ६० प्रतिकिलो रहेकोमा यस वर्ष रु ६५ पुगेपछि किसानले उत्पादन घटे पनि राम्रो आम्दानी गरेका छन्।
अघिल्लो वर्ष रु २४ करोड ६० लाखको सुन्तला उत्पादन भएको थियो। सूचना अधिकारीका अनुसार यो वर्ष समयमा वर्षा नहुनु र हिउँदे सिँचाइको अभावका कारण उत्पादनमा कमी आएको हो। कृषि ज्ञान केन्द्रले किसानलाई प्राविधिक सहयोग र अनुदान प्रदान गर्दै आएको छ।
“उत्पादन घटे पनि मूल्य बढेकाले किसानले घाटा व्यहोर्नु परेको छैन,” सूचना अधिकारी अधिकारीले बताउनुभयो। “थोरै भए पनि फाइदा नै लिनुभएको छ। किसानले अझै पनि सुन्तला बजारमा पठाइरहनुभएको छ।”
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। यस वर्ष ३७७ हेक्टरमा लगाइएका बिरुवाले उत्पादन दिएका छन्। बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन मुख्य रूपमा हुने गरेको छ।
काठेखोलाका किसान लोकनाथ कँडेलले यस वर्ष रु १३ लाख ५० हजारको सुन्तला उत्पादन गर्नुभएको छ। अघिल्लो वर्षको तुलनामा उत्पादन घटे पनि आम्दानी बढी भएको उहाँले बताउनुभयो। “पोहोर साल रु ११ लाखको सुन्तला बिक्री गरेको थिएँ,” उहाँले भन्नुभयो। आफ्नो बगैँचामा ३०० बोट सुन्तला रहेको जनाउँदै यस वर्ष २१० बोटले फल दिएको उहाँले जानकारी दिनुभयो।


