Thursday, May 7, 2026
Home Blog Page 49

कानुनमन्त्री सोविता गौतमद्वारा पदबहाली, ‘कानुन सुधारलाई तीव्रता दिने’ प्रतिबद्धता

0

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन्। शुक्रबार शपथ ग्रहण गरेपछि उनले मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी हुन्।

पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले सुधार आवश्यक रहेका कानुनहरूलाई तीव्र गतिमा अघि बढाइने बताइन्। उनले कानुन निर्माण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउनेतर्फ मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिन्।

‘हाम्रो मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरूलाई तीव्र गतिमा सुधारको बाटोमा लैजाने छौं। कानुन निर्माणमा मेरो मन्त्रालय छिटोभन्दा छिटो काम गर्न तत्पर छ। आज के काम गर्दैछौं भन्ने विषयमा छलफल गर्न बाँकी छ। खाका तयार गरेर मात्रै कामहरू अगाडि बढ्नेछन्,’ उनले भनिन्।

गृहमन्त्री सुधन गुरूङद्वारा पदभार ग्रहण, ‘जेनजी भावना अनुसार सेवा सुधार’मा जोड

0

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले पदभार ग्रहण गरेका छन्। शीतलनिवासमा शपथ ग्रहण गरेपछि उनी सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहणका क्रममा मन्त्री गुरूङले ‘जेनजी’ को भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गृहमन्त्रालय अन्तर्गतका सबै निकायबाट प्रदान हुने सेवाहरूलाई एकद्वार प्रणालीमार्फत प्रवाह गर्न निर्देशन दिएका छन्।

सुशासनलाई प्राथमिकतामा राख्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने र भिआइपीहरूको यात्राका कारण सर्वसाधारणलाई दुःख नपर्ने अवस्था सुनिश्चित गर्ने बताएका छन्।

‘जेनजी आन्दोलनको जनादेश अनुसार त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहित अगाडि बढ्छौं। परिवर्तनको सुरुवात गृहमन्त्रालय अन्तर्गतका निकायबाट हुनेछ। सेवा प्रवाहको विषयमा जनताका गुनासाहरू सिधै सरकारले सुन्ने गरी प्रणाली विकास गर्छौं,’ पदभार ग्रहणका क्रममा उनले बताएका छन्।

योग्यता र समावेशितामा आधारित बालेन नेतृत्वको १५ सदस्यीय मन्त्रिमण्डल गठन

0

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । शुक्रबार गठन गरिएको मन्त्रिमण्डल योग्यता र समावेशिताका आधारमा बनाइएको पाइएको छ।

नवनियुक्त मन्त्रीहरूमध्ये दुई जनाले विद्यावारिधि (PhD) तहसम्म अध्ययन गरेका छन्। १० जनाले स्नातकोत्तर उत्तीर्ण गरेका छन् भने तीन जनाले स्नातक तहसम्म अध्ययन गरेका छन्। एक जनाको भने उच्च माध्यमिक (ए-लेभल) सरहको शैक्षिक योग्यता रहेको छ।

प्रधानमन्त्री बालेनले इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। दोस्रो वरीयतामा अर्थमन्त्री बनेका स्वर्णिम वाग्लेले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट विद्यावारिधि गरेका छन्।

तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङले ए-लेभल गरेका छन्, जुन उच्च माध्यमिक तहसरह हो। चौथो वरीयतामा परराष्ट्रमन्त्री बनेका शिशिर खनालले युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री सुनिल लम्सालले काठमाडौँ विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले स्नातक तहसम्म अध्ययन गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क पौडेल (गनेश) ले औपचारिक रूपमा आफ्नो शैक्षिक विवरण सार्वजनिक नगरे पनि अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेको जनाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ विश्वविद्यालयबाट स्नातक गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले नर्सिङमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी दुवैले कानुनमा स्नातकोत्तर गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साहले बेलायतको लन्डन स्कुल अफ हाइजिनबाट स्नातकोत्तर गरेका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले पनि स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेकी छन्।

बालेन शाह प्रधानमन्त्री बने, मन्त्रिपरिषद् संरचना तय

0

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले बालेनलाई शुक्रबार विहान प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। बालेनले आज १२ बजेर २४ मिनेटमा प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

यसैबीच, रास्वपाले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अन्तिम रुपमा तय गरेको छ। प्रधानमन्त्री बालेनले आफू रक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने भएका छन्।

अन्य मन्त्रीहरू यसप्रकार रहेका छन्:

  • अर्थ मन्त्री: डा. स्वर्णिम वाग्ले
  • कानुन मन्त्री: सोविता गौतम
  • परराष्ट्र मन्त्री: शिशिर खनाल
  • गृह मन्त्री: सुधन गुरुङ
  • ऊर्जा: बिराजभक्त श्रेष्ठ
  • उद्योग: अमरेशकुमार सिंह
  • सामान्य प्रशासन: प्रतिभा राउव
  • कृषि: गीता चौधरी
  • सञ्चार: डा. विक्रम तिमल्सिना
  • शिक्षा: सिस्मित पोखरेल
  • श्रम: दीपक साह
  • पर्यटन: गणेश पौडेल
  • महिला बालबालिका: सीता वादी
  • स्वास्थ्य तथा जनसंख्या: निशा मेहता

राष्ट्रपति पौडेलद्वारा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। यससँगै शाह नेपालको ४७औँ प्रधानमन्त्री बनेका छन्।

सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा ४,६०० रुपैयाँले ओरालो

0

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ लाख ८१ हजार रुपैयाँ निर्धारण गरिएको छ।

अघिल्लो दिन बिहीबार सुन तोलामा २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४० हजार ९१० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको ४ हजार ८२० रुपैयाँभन्दा कम हो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका आधारमा महासंघले दैनिक रूपमा स्थानीय बजारमा सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

बालेन शाहका पीएसओमा डीएसपी दिपेश बस्याल नियुक्त

0

काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का निजी सुरक्षा अधिकृत (पीएसओ)का रूपमा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन्।

शाहको सचिवालयका अनुसार बस्याललाई पीएसओको जिम्मेवारी दिइएको हो।

बालेन शाहले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय गरिएको छ। आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहे पनि हालसम्म मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छैन।

बालेनलाई ज्ञानेन्द्र शाहीको आग्रह: २२ ठूला भ्रष्टाचार काण्ड छानबिन गर

0

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाह (बालेन)लाई देशका २२ प्रमुख भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहीले बालेन शाहको नेतृत्वसँगै देशमा नयाँ आशा पलाएको बताएका छन्। उनले भ्रष्टाचारविरुद्धको लडाइँमा आफूले भोगेका पीडा र संघर्ष स्मरण गर्दै अबको नेतृत्वले दोषीहरूलाई कानुनी कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका छन्।

शाहीले वि.सं. २०७६ साल जेठ १५ र असोज ११ गते सुर्खेत र चितवनमा आफूमाथि भएको साङ्घातिक हमलाको प्रसंग पनि उठाएका छन्। भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफू ज्यान जोखिममा परेको उल्लेख गर्दै उनले भने, “संसद् सदस्यका रूपमा करिब साढे दुई वर्षसम्म भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा घाँटी दुख्यो, तर कार्यान्वयन हुन सकेन। तर आज आशा जागेको छ।”

आज बालेन शाह प्रधानमन्त्रीको शपथ लिँदै

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शपथ ग्रहण समारोहमा १०८ जना बटुकद्वारा स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ तथा ७ वटा शंखबाट शंखनाद गरिनेछ।

शपथ अघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल सरकार गठन हुन लागेको हो।

शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी छ।

यद्यपि बिहान ८ः३० बजेसम्म मन्त्रिपरिषद्का सदस्यबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रीहरूको टुंगो लाग्ने प्रक्रिया जारी छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। सोही दलले बिहीबार बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको थियो।

झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित विजयी भएका शाहलाई बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

आजको विदेशी विनिमयदर: अमेरिकी डलर १५०.६७ मा, पाउण्ड २०१ नजिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ०६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४० पैसा र बिक्रीदर १०८ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर २१ रुपैयाँ ८१ पैसा रहेको छ।

यस्तै, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ र बिक्रीदर ४० रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४ रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १९ पैसा र बिक्रीदर २३ रुपैयाँ २८ पैसा तोकिएको छ।

त्यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४० पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।