Sunday, November 8, 2026
Homeअर्थ र ब्यापार‘स्वदेशमै गाडी उत्पादन गरौं’

‘स्वदेशमै गाडी उत्पादन गरौं’

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले स्वदेशमै सवारीसाधन उत्पादन गर्न जोड दिएका छन्।

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)को ४५औं वार्षिक साधारणसभामा बोल्दै उनले राजस्वमा २५ प्रतिशत योगदानलाई घटाएर भए पनि उत्पादनमा जोड दिएका हुन्।

अटोमोबाइल्स कम्पनीहरूले देशभित्रै सवारीसाधनको उत्पादन गरेर ५० प्रतिशत योगदान बढाउन उनले सुझाएका छन्।  ‘नाडाको भूमिका बदलियोस्, स्वदेशमै उत्पादन बढोस्’ उनले भने।

नाडाले आर्थिक वर्ष २०७७/०७८ को वैशाखसम्म सवारी साधन आयातबाट भन्सार, अन्तशुल्क तथा मूल्य अभिवृद्धि करबापत ९२ अर्ब ९१ करोड रुपैयाँ योगदान गरेको छ।  सवारी साधनमा लाग्ने सम्पूर्ण करसमेत (सडक सुधार शुल्क, सवारी कर तथा अनुमतिपत्र नवीकरण) बाट ३२ अर्ब योगदान पुर्‍याएको जनाएको छ।

 दुवै क्षेत्र गरेर १ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ राजस्व तिरेकाले नेपालको राजस्व क्षेत्रमा अटोमोबाइल क्षेत्रको योगदान पुर्‍याएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको भनाइ छ।  अर्थमन्त्री शर्मा भने राजस्वमा योगदानभन्दा पनि स्वदेशमै सम्भव भएसम्म उत्पादन गरेर व्यापारघाटा कम गर्न सुझाएका हुन्।

बजार उपलब्ध छ भने नेपालमै अटो म्यानुफ्याक्चरिङ गर्न जोड दिएका छन्। ‘जग्गा उपलब्ध, सुविधा, निरन्तर फ्याक्ट्री चल्ने ग्यारेन्टी दिन सक्छु। यसकारण  सवारी आयात मात्रै गर्नुभन्दा नाडाको भूमिका बदल्नुहोस्’ उनले भने।

नेपालमा जलस्रोतको अधिक समभावना र उत्पादन हुने भएकाले यसको उपयोग गरी व्यापारघाटा कम गर्नतर्फ उनको जोड थियो।  अब नाडाले विद्युत् र श्रमशक्तिलाई  राम्रो उपयोग गर्न जरुरी भएको औंल्याए।

उनले अब विद्युतीय गाडीको प्रयोग बढाउन सबै पेट्रोलियम पम्मलाई चार्जिङ स्टेसनमा बदल्नुपर्ने तर्फ जोड दिए। तर नाडाका अध्यक्ष दुलाल सरकारले चार्जिङ स्टेसन बनाउन नसक्दा विद्युतीय बस प्रभावकारी हुन नसकेको तर्क गरे।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमलाई समयानुकूल बनाउन आग्रह गरे।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले परम्परागत नीति, नियम परिवर्तन गर्न जरुरी भएको बताए।

उनले भने ‘यसका लागि राज्यले अग्रसरता लिनुपर्छ। तर अर्थमन्त्री शर्माले ढकाललाई प्रतिउत्तर दिँदै भने, ‘नीति परिवर्तन भएपछि यसका प्रभावहरू पर्छन्। यसलाई व्यवसायीहरूले थेग्न सक्नुपर्छ।’ मुलुकभित्र सवारीसाधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ विशेष पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालले जोड दिए।  उनका अनुसार अहिले मुलुकभित्र दुईपांग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन्। यसको विस्तारसँगै चारपांग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने उनको भनाइ छ।  बिजुली भारतमा निर्यात सुरु भएको बताउँदै  उनले औद्योगिक क्षेत्रलाई सस्तोमा उपलब्ध गराउन सके उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए।

‘विद्युतीय बसको ब्याट्री नेपालमै उत्पादन गर्न सकिन्छ। यसको उत्पादनमा सरकारले एक प्रतिशत मात्रै कर तोक्नुपर्छ’ उनले भने।नाडाको साधारणसभाका अवसरमा प्रहरीका चार जवानलाई सम्मान गरेको छ।

प्रहरी निरीक्षक छविलाल ढकाल, भोलासिंह अधिकारी, बाबुराम नेपाल र प्रभात ढकाललाई नगदसहित सम्मान गरिएको थियो। नाडाको नयाँ कार्यसमितिको निर्वाचन बिहीबार हुने भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका