Sunday, July 5, 2026
Homeखेलकुदस्याङ्जा गण्डकी प्रदेश टि–२० क्रिकेटको फाइनलमा प्रवेश

स्याङ्जा गण्डकी प्रदेश टि–२० क्रिकेटको फाइनलमा प्रवेश

कास्की, ३ असार: स्याङ्जा टिमले गण्डकी प्रदेशस्तरीय तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम लिग खेलमा तनहुँलाई २९ रनले पराजित गर्दै स्याङ्जा उपाधिनजिक पुगेको हो।

स्याङ्जाले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनायो। कप्तान सन्दीप क्षेत्रीले मात्र ६६ बलमा ६ चौका र ८ छक्का सहित शानदार ९९ रनको योगदान दिए।

१८९ रनको लक्ष्य पछ्याएको तनहुँ १९ ओभरको तेस्रो बलमा १५९ रनमै अलआउट भयो। तनहुँका बंश क्षेत्रीले ४५ बलमा ६ चौका सहित सर्वाधिक ५६ रन बनाए।

त्यसैगरी, सोमबारकै अर्को खेलमा बागलुङले म्याग्दीलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताबाट सान्त्वना जित हात पार्‍यो। वर्षाका कारण १० ओभरमा सीमित खेलमा म्याग्दीले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेट गुमाएर ६४ रन बनाएको थियो। जवाफमा बागलुङले ५.३ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। बागलुङका सन्दीप यादव २० रनमा अविजित रहे।

समूह ‘ए’ अन्तर्गत स्याङ्जा समूह विजेता बन्दै फाइनल प्रवेश गर्न सफल भयो। बागलुङले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरी २ अंकसहित तेस्रो स्थान हासिल गर्दा म्याग्दी अंकविहीन रह्यो।

गण्डकी प्रदेश खेलकुद परिषदको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सञ्चालित प्रतियोगितामा ८ टोली सहभागी छन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ —
समूह ‘ए’: स्याङ्जा, बागलुङ, तनहुँ, म्याग्दी
समूह ‘बी’: कास्की, नवलपुर, पर्वत, गोरखा

समूह ‘बी’को खेल भोलि हुनेछन्। पहिलो खेल कास्की र पर्वतबीच र दोस्रो खेल नवलपुर र गोरखा बीच हुनेछ। समूह ‘बी’को विजेता टोलीले फाइनलमा स्याङ्जासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेता टोलीले रु १ लाख नगद र ट्रफी, उपविजेताले रु ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै,

उत्कृष्ट खेलाडीलाई रु ४,०००,

उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २,००० नगदसहित ट्रफी प्रदान गरिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका