Monday, June 29, 2026
Homeअन्तराष्ट्रियसी जिनपिङको भ्रष्टाचारविरुद्ध ठूलो कदम: ६ शीर्ष सैन्य जनरलसहित प्रभावशाली नेताहरू संसदबाट...

सी जिनपिङको भ्रष्टाचारविरुद्ध ठूलो कदम: ६ शीर्ष सैन्य जनरलसहित प्रभावशाली नेताहरू संसदबाट निष्कासित

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ ले भ्रष्टाचारविरुद्धको अभियानलाई थप तीव्र बनाउँदै एकैपटक ६ जना शीर्ष सैन्य जनरलसहित राजनीतिक र वित्तीय क्षेत्रका प्रभावशाली उच्च अधिकारीहरूको सांसद पद खारेज गरेका छन्।

चीनको सर्वोच्च विधायिकी निकाय नेसनल पिपुल्स कंग्रेस (एनपीसी) को स्थायी समितिले जारी गरेको सूचनाअनुसार ती अधिकारीहरूको संसद सदस्यता रद्द गरिएको हो। सरकारी समाचार संस्था सिन्ह्वाले निर्णय सार्वजनिक गरे पनि बर्खास्तीको औपचारिक कारण भने खुलाएको छैन।

राजनीतिक विश्लेषकहरूले यसलाई राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी र जनमुक्ति सेनाभित्र सञ्चालन गरिरहेको भ्रष्टाचारविरुद्धको अभियानकै सबैभन्दा ठूलो र प्रभावशाली कारबाहीका रूपमा व्याख्या गरेका छन्।

सांसद पद गुमाउने सैन्य अधिकारीहरूमा सेन्ट्रल मिलिटरी कमिसन अन्तर्गतको इक्विपमेन्ट डेभलपमेन्ट विभागका प्रमुख जनरल सु सुइचियाङ, वेस्टर्न थिएटर कमान्डका राजनीतिक आयुक्त जनरल लि फेङ्बियाओ, वायुसेनाका राजनीतिक आयुक्त जनरल गुओ पुक्सियाओ, इस्टर्न थिएटर कमान्डका लेफ्टिनेन्ट जनरल वाङ काङ्पिङ, साइबरस्पेस फोर्सका लेफ्टिनेन्ट जनरल झाङ मिङ्हुआ तथा स्थलसेनाका लेफ्टिनेन्ट जनरल यिन होङ्सिङ रहेका छन्।

जनरल सु सुइचियाङ सन् २०२२ देखि चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमका कमान्डर–इन–चीफको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए।

यस अभियानको दायरा सैन्य क्षेत्रमै सीमित नरही राजनीतिक र वित्तीय क्षेत्रमा पनि विस्तार भएको छ। संसदबाट हटाइएकामध्ये नेसनल फाइनान्सियल रेगुलेटरी एडमिनिस्ट्रेशन का पूर्वप्रमुख लि युन्जे तथा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोका पूर्वसदस्य एवं सिन्जियाङका पूर्व पार्टी प्रमुख मा सिङ्रुई पनि छन्।

मा सिङ्रुईमाथि गत अप्रिलदेखि चीनको केन्द्रीय भ्रष्टाचार अनुसन्धान निकायले अनुसन्धान गरिरहेको थियो भने लि युन्जेलाई यसअघि नै वित्तीय अनुशासन उल्लङ्घनको आरोपमा पदमुक्त गरिएको थियो। मा सिङ्रुईका निकट सहयोगी तथा ग्वान्झाउका पूर्व पार्टी सचिव गुओ योङ्हाङ पनि कारबाहीको दायरामा परेका छन्।

विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा चीनको रक्षा र रणनीतिक क्षेत्रमा भएको यो सम्भवतः सबैभन्दा ठूलो नेतृत्व परिवर्तन हो। सन् २०२२ को पार्टी कंग्रेसबाट चयन भएका सात सदस्यीय सर्वोच्च सैन्य नेतृत्वमध्ये अहिले राष्ट्रपति सी जिनपिङ र भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरिरहेका झाङ सेङ्मिन मात्र आफ्नो पदमा कायम रहेका छन्।

यसअघि संसदको वार्षिक अधिवेशनमा राष्ट्रपति सीले सेनाभित्रको भ्रष्टाचारविरुद्ध कठोर चेतावनी दिँदै पार्टीप्रति पूर्ण निष्ठा नभएका र भ्रष्ट व्यक्तिहरूका लागि सेनामा कुनै स्थान नहुने बताएका थिए।

यद्यपि, आलोचकहरूले भने यस अभियानलाई राष्ट्रपति सीले आफ्ना सम्भावित राजनीतिक प्रतिद्वन्द्वीलाई कमजोर पार्दै सत्तामाथिको नियन्त्रण अझ बलियो बनाउन प्रयोग गरेको आरोप लगाउँदै आएका छन्। चीन सरकारले भने राष्ट्रिय सुरक्षा, सैन्य खरिद प्रक्रिया र रणनीतिक स्रोत व्यवस्थापनमा पारदर्शिता तथा अनुशासन कायम गर्न यस्तो कदम आवश्यक रहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका