Monday, June 29, 2026
Homeअन्तराष्ट्रियइरानको दाबी: कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन आक्रमण

इरानको दाबी: कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन आक्रमण

तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) ले आइतबार कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रहरूलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यसअघि इरानका तटीय चौकीहरूमा भएको अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप उक्त कारबाही गरिएको आईआरजीसीले जनाएको छ।

आईआरजीसीको आधिकारिक समाचार माध्यम सेपाह न्यूज मा प्रकाशित विज्ञप्तिअनुसार कुवेतस्थित अली अल सलेम वायुसेना आधार र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडासँग सम्बन्धित आठ सैन्य पूर्वाधारलाई संयुक्त रूपमा निशाना बनाइएको दाबी गरिएको छ।

आईआरजीसीले अमेरिकी सेनाले आइतबार बिहान आफ्नो नौसैनिक जहाजसँग भएको भिडन्तलाई आधार बनाएर इरानका पाँच तटीय चौकीमाथि आक्रमण गरेको आरोप पनि लगाएको छ।

विज्ञप्तिमा अबदेखि स्ट्रेट अफ हर्मुज हुँदै अनधिकृत रूपमा आवतजावत गर्ने जहाजमाथि कडा कारबाही गरिने तथा इरानविरुद्ध हुने कुनै पनि सैन्य कदमको कडा जवाफ दिइने चेतावनी दिइएको छ।

आईआरजीसीले पछिल्लो घटनाले इरान र संयुक्त राज्य अमेरिकाबीच भएको युद्धविरामसम्बन्धी समझदारीको उल्लङ्घन गरेको दाबी गर्दै यसले कूटनीतिक प्रक्रिया प्रभावित हुन सक्ने जनाएको छ। साथै, स्ट्रेट अफ हर्मुजको समुद्री यातायात व्यवस्थापनको जिम्मेवारी इरानकै रहेको दाबी पनि गरेको छ।

कुवेत र बहराइनको प्रतिक्रिया

कुवेतले आफ्नो भूमिलाई लक्षित गरी भएको भनिएको आक्रमणको कडा निन्दा गरेको छ। कुवेती विदेश मन्त्रालयले यसलाई देशको सार्वभौमसत्तामाथिको स्पष्ट उल्लङ्घन भन्दै राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थायित्वका लागि गम्भीर चुनौती भएको जनाएको छ।

यस्तै, बहराइनको गृह मन्त्रालयले इरानी आक्रमणका कारण मुहर्रक गभर्नरेटस्थित एक आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन र सुरक्षा तथा उद्धार कार्य सुरु गरिएको छ।

यसैबीच, इरानी सञ्चारमाध्यमहरूले दक्षिणी होर्मोज्गान प्रान्त र केश्म टापुमा पनि आइतबार बिहान धेरै विस्फोट भएको जनाएका छन्।

अमेरिकाको प्रत्युत्तर

उता, अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत इरानका विभिन्न सैन्य संरचनामाथि थप हवाई आक्रमण गरिएको जनाएको छ।

सेन्टकमका अनुसार स्ट्रेट अफ हर्मुज नजिक पनामाको झण्डा बोकेको एक व्यावसायिक तेल ट्यांकरमाथि इरानले गरेको ड्रोन आक्रमणको प्रत्युत्तरस्वरूप उक्त कारबाही गरिएको हो।

अमेरिकी सेनाले आफ्नो आक्रमण इरानका सैन्य निगरानी केन्द्र, सञ्चार प्रणाली, वायु प्रतिरक्षा संरचना, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ बिछ्याउने क्षमतालाई लक्षित गरिएको जनाएको छ।

यसअघि शनिबार पनि अमेरिकी सेनाले इरानको दक्षिणी तटीय क्षेत्रमा हवाई आक्रमण गरेको थियो। त्यसको प्रत्युत्तरमा आईआरजीसीले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको थियो।

यद्यपि, दुवै पक्षका दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्। इरान र अमेरिकाबीच गत जुन १८ मा क्षेत्रीय तनाव कम गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको र अन्तिम शान्ति सम्झौताका लागि वार्ता जारी रहेको बताइए पनि पछिल्ला घटनाक्रमले खाडी क्षेत्रमा पुनः तनाव बढाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका