Tuesday, June 30, 2026
Homeअन्तराष्ट्रियसिरियामा इजरायली सेनाको प्रवेशपछि तनाव चुलियो, स्थानीयको प्रतिरोध र गोलाबारी

सिरियामा इजरायली सेनाको प्रवेशपछि तनाव चुलियो, स्थानीयको प्रतिरोध र गोलाबारी

काठमाडौं। दक्षिणी सिरियाको डरा प्रान्तस्थित अब्दिन गाउँमा इजरायली सेनाको प्रवेशपछि स्थानीय बासिन्दा र सेनाबीच तनाव चुलिएको छ। संयुक्त राष्ट्रसंघको निगरानीमा रहेको बफर जोनबाट गाउँमा प्रवेश गरेको इजरायली सेनाको विरोधमा स्थानीयले सडक अवरुद्ध गर्दै ढुङ्गामुढा प्रहार गरेका छन्।

विरोध बढेपछि इजरायली सेनाले चेतावनीस्वरूप हवाई फायर गर्नुका साथै तोप र हेलिकप्टरबाट गोली प्रहार गरेको स्थानीय स्रोतहरूले बताएका छन्। घटनामा मानवीय क्षति नभए पनि कृषियोग्य जमिन र निजी सम्पत्तिमा क्षति पुगेको छ भने त्रासका कारण धेरै स्थानीयवासी सुरक्षित स्थानतर्फ पलायन भएका छन्।

स्थानीय बासिन्दाका अनुसार इजरायली सैनिकहरूले बेला–बेलामा गाउँमा प्रवेश गरी घरहरूमा खानतलासी गर्ने र सर्वसाधारणलाई त्रसित बनाउने गरेका छन्। सोमबार सेना उक्त क्षेत्रबाट पछि हटे पनि गाउँलेहरू अझै घर फर्किन डराइरहेका छन्।

यो तनाव सन् २०२४ डिसेम्बरमा सिरियाका तत्कालीन राष्ट्रपति बसर अल-असद सत्ताच्युत भएपछि सुरु भएको हो। त्यसपछि इजरायलले सन् १९७४ को सैन्य पृथकीकरण सम्झौता प्रभावहीन भएको दाबी गर्दै संयुक्त राष्ट्रसंघको निगरानीमा रहेको बफर जोन आफ्नो नियन्त्रणमा लिएको थियो। पछिल्ला दिनहरूमा इजरायली अधिकारीहरूले उक्त क्षेत्रमा दीर्घकालीन उपस्थिति कायम राख्ने संकेत दिएका छन्।

सिरियाको अन्तरिम सरकार र विदेश मन्त्रालयले इजरायली सैन्य गतिविधिलाई देशको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घन भन्दै निन्दा गरेका छन् र राष्ट्रसंघसँग हस्तक्षेपको माग गरेका छन्।

यसैबीच, अब्दिन घटनाअघि हदार गाउँ नजिकै इजरायली सेनाले दुई जना सशस्त्र व्यक्तिलाई आक्रमण गरी मारिएको जनाएको छ। इजरायलले उनीहरू आफ्ना सैनिकमाथि आक्रमणको तयारीमा रहेको दाबी गरेको छ।

लामो गृहयुद्धबाट प्रभावित सीमावर्ती क्षेत्रका सर्वसाधारण अहिले पनि खानेपानी, बिजुली तथा सुरक्षाको अभावसँगै सैन्य तनावका कारण दैनिक जीवन सञ्चालन गर्न कठिनाइ भोगिरहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका