Friday, May 15, 2026
Homeराजनीतिसिरहामा सुशासनमाथि बहस : कर्मचारी अनुपस्थिति र समन्वय अभावप्रति चिन्ता

सिरहामा सुशासनमाथि बहस : कर्मचारी अनुपस्थिति र समन्वय अभावप्रति चिन्ता

सिरहा । ‘भ्रष्टाचार नियन्त्रणः हाम्रो साझा दायित्व’ भन्ने नारासहित सिरहामा आयोजित सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रममा सहभागीहरूले सुशासनका लागि सामूहिक प्रयास, जवाफदेहिता र प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रको आयोजना तथा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको सहआयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले कर्मचारी संयन्त्र सुधार र जनप्रतिनिधिबीचको सहकार्यलाई सुशासनको मुख्य आधार बताएका हुन् ।

जिल्ला समन्वय समितिका सभापति दिनेशकुमार महतोले कार्यालयहरूमा कर्मचारी उपस्थितिको अवस्था सन्तोषजनक नरहेको बताए । उनले अझै पनि २६ प्रतिशत कर्मचारी अनुपस्थित रहने अवस्था दुःखद भएको उल्लेख गर्दै सबै निकाय जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले प्रमुख प्रशासकीय अधिकृतको अस्थिरता र अनुपस्थितिले सेवा प्रवाह प्रभावित भएको बताए । उनले कानुनी जटिलता भए स्पष्ट टिप्पणीसहित निर्णय गर्नुपर्ने, तर फाइल रोक्ने प्रवृत्ति उचित नभएको बताए ।

धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले स्थानीय तहमा करारका कर्मचारीको संख्या बढ्दै जाँदा आर्थिक भार र कार्यसम्पादन दुवै प्रभावित भएको बताए । बारम्बार हाकिम परिवर्तन हुने परिपाटीले काममा समस्या थपिएको उनको भनाइ थियो ।

गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले स्थायी दरबन्दीअनुसार कर्मचारी नहुँदा बाध्य भएर करारमा कर्मचारी र शिक्षक राख्नुपरेको बताए ।

लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले कार्यालय प्रमुखहरूको कार्यशैली सुधार भए मात्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने बताए । कर्जना नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले प्रभावकारी अनुगमनमार्फत धेरै सुधार सम्भव रहेको धारणा राखिन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विभिन्न सरकारी निकायबीच समन्वय अभाव रहेको बताए । जनशक्ति अभावका बीच पनि प्रशासन नीति र कानुनअनुसार काम गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टले सिरहाका ३० वटा कार्यालयको अनुगमन गरिएको जानकारी दिए । कार्यक्रममा उठेका विषय सम्बन्धित निकायमा पठाइने र सुशासनका लागि सबै सरकारी निकाय समान रूपमा जिम्मेवार हुनुपर्ने उनले बताए ।

कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र सुशासन स्थापनाका लागि साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका