काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सिन्धु जल सम्झौतालाई लिएर भारतलाई पुनः कडा चेतावनी दिएका छन्। पाकिस्तानको भागमा पर्ने पानी रोक्ने वा घटाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउँदै उनले त्यस्तो कदम चालिए कडा जवाफ दिने चेतावनी दिएका हुन्।
बिहीबार इस्लामाबादमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सरिफले कश्मीरप्रतिको पाकिस्तानको अडानमा कुनै परिवर्तन नआउने बताए। उनले सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरको प्रशंसा गर्दै उनको नेतृत्वमा पाकिस्तानले भारतलाई पराजित गरेको दाबीसमेत गरे।
सरिफले चीन र पाकिस्तानबीचको सम्बन्धलाई पनि उच्च महत्त्व दिँदै चीनलाई पाकिस्तानको महान् मित्रका रूपमा चित्रण गरे। कठिन परिस्थितिमा चीन चट्टानझैँ पाकिस्तानको साथमा उभिँदै आएको उनको भनाइ थियो।
सन् २०२५ को मे महिनामा भारत र पाकिस्तानबीच भएको सैन्य तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वपूर्ण भूमिका रहेको दाबी पनि सरिफले दोहोर्याए। ट्रम्पको पहलका कारण समयमै युद्धविराम सम्भव भएको उनको भनाइ थियो।
तर भारतले भने युद्धविराम दुवै देशका सैन्य अधिकारीबीच प्रत्यक्ष संवादबाट भएको र त्यसमा कुनै तेस्रो देशको मध्यस्थता नरहेको बताउँदै आएको छ।
सरिफले कश्मीर मुद्दामा पाकिस्तानको अडान यथावत रहने बताउँदै कश्मीरीहरूको बलिदान खेर जान नदिने दाबी गरे। उनले प्यालेस्टिनी जनताको अधिकारको समर्थन जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
अफगानिस्तानको अन्तरिम सरकारलाई आफ्नो भूभाग आतंकवादी गतिविधिका लागि प्रयोग हुन नदिन आग्रह गर्दै सरिफले पाकिस्तानले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको दाबी पनि गरे।
के हो सिन्धु जल सम्झौता?
सिन्धु जल सम्झौता भारत र पाकिस्तानबीच नदीको पानी बाँडफाँटसम्बन्धी ऐतिहासिक सम्झौता हो। सन् १९६० सेप्टेम्बर १९ मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका राष्ट्रपति अयुब खानले सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार सिन्धु नदी प्रणालीका पूर्वी तीन नदीको पानी भारत र पश्चिमी तीन नदीको पानी पाकिस्तानले प्रयोग गर्ने व्यवस्था गरिएको छ। पछिल्लो समय यही सम्झौतालाई लिएर भारत र पाकिस्तानबीच तनाव बढ्दै आएको छ।


