काठमाडौँ, १३ भदौः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारत आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार अपराह्न ६ बजे सुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जानकारी दिएको छ ।
डबल राउन्ड रोबिन लिग प्रणालीमा जारी प्रतियोगितामा भारत १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल तीन अङ्कसहित तेस्रो स्थानमा छ । बङ्गलादेश नौ अङ्कका साथ दोस्रो स्थानमा छ भने घरेलु टोली भुटान भने अहिलेसम्म कुनै जित ननिकाली चौथो स्थानमा छ ।
खेल तालिकाअनुसार नेपालले आगामी भदौ १५ गते भुटानसँग अन्तिम खेल खेल्नेछ । यद्यपि, आवश्यक नतिजा हात पार्न नसकेका कारण नेपाल उपाधि होडबाट बाहिरिइसकेको छ ।


