काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सहरिया क्षेत्रमा जनमत गुमाएको स्वीकार गरेका छन्। संघ, प्रदेश, र स्थानीय तहका उपनिर्वाचन परिणामबाट सन्तुष्टि जनाए पनि उनले सहरिया मत खस्किएकोमा चिन्ता व्यक्त गरेका छन्।
आइतबार प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले कीर्तिपुर र काठमाडौं–१६ जस्ता क्षेत्रहरूमा अपेक्षित परिणाम नआउनु र विगतमा जितेको वडा गुमाउनु पार्टीका लागि गम्भीर समीक्षा आवश्यक विषय भएको बताएका छन्।
“सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नु र कीर्तिपुरजस्तो ठाउँमा अपेक्षित परिणाम नआउनु हामीले गम्भीरतापूर्वक लिनु पर्छ। आफूले विजय हासिल गरेका स्थानहरूमा पार्टी र जनप्रतिनिधिहरूले थप मिहिनेत गर्नु पर्ने शिक्षा यस उपनिर्वाचनले दिएको छ,” ओलीको प्रतिवेदनमा उल्लेख छ।
२०८१ वैशाख १५ मा सम्पन्न इलाम प्रतिनिधिसभा–२ र बझाङ प्रदेशसभा–१ उपनिर्वाचनमा एमालेले उल्लेख्य सफलता प्राप्त गरेको अध्यक्ष ओलीले बताए। इलाममा ७,५०० मतको फराकिलो अन्तरले विजय हासिल गर्दै २०७९ को तुलनामा उल्लेख्य सुधार गरेको र बझाङमा पनि पार्टीले शानदार जीत निकालेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।
मङ्सिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले ८ स्थानमा विजय हासिल गरेको छ। एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, र पाँच वडा अध्यक्षसहित समग्रमा परिणाम सकारात्मक भए पनि विगतका तुलनामा परिणाम अपेक्षाभन्दा कम रहेको ओलीको ठहर छ।
अध्यक्ष ओलीले माओवादी केन्द्रले आफ्नो लोकप्रियता अत्यधिक बढेको भ्रामक सन्देश सम्प्रेषण गरेको आरोप लगाएका छन्। “माओवादीले ८ बाट ११ स्थानमा विजय हासिल गरे पनि ६ दलको गठबन्धन हुँदा उम्मेदवार नउठाएका स्थानमा प्राप्त मत जोड्दा मात्र संख्या बढेको देखिन्छ,” ओलीले प्रतिवेदनमा भनेका छन्।
यस उपनिर्वाचनले २०७९ को तुलनामा मतदाताको बदलिँदो मनोभावना, जनप्रतिनिधिप्रतिको असन्तुष्टि, र नयाँ दल तथा राजावादी शक्तिको खस्किँदो अवस्थाबारे महत्त्वपूर्ण संकेत दिएको ओलीले बताए।
“सहरिया मतदातामाझ आकर्षण बढाउन र हासिल गरेका स्थानहरूमा थप मिहिनेत गर्नुपर्छ भन्ने शिक्षा यस निर्वाचनबाट पाएका छौं,” उनले प्रतिवेदनमा निष्कर्ष गरेका छन्।