Monday, June 22, 2026
Homeराजनीतिरास्वपाको महाधिवेशन आज निर्णायक मोडमा, विधान संशोधनदेखि राजनीतिक प्रतिवेदनसम्म छलफल

रास्वपाको महाधिवेशन आज निर्णायक मोडमा, विधान संशोधनदेखि राजनीतिक प्रतिवेदनसम्म छलफल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज (सोमबार) भरतपुरमा बन्द सत्र सञ्चालन हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशन आजबाट संगठनात्मक, राजनीतिक र विधानसम्बन्धी एजेन्डामा केन्द्रित हुने भएको छ।

पार्टी महामन्त्रीको सञ्चालनमा हुने बन्द सत्रमा विधान संशोधन प्रस्ताव, विभिन्न प्रतिवेदनमाथि छलफल तथा अनुमोदन, साथै निर्वाचन समितिलाई आवश्यक जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ।

कार्यतालिकाअनुसार बिहान ८ः३० बजे पार्टी सभापति रवि लामिछानेले दोस्रो दिनको सत्र प्रारम्भ गर्नेछन्। त्यसलगत्तै अनुशासन आयोगका सदस्य रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि पार्टी कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल हुनेछ।

बिहान १० बजेदेखि पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसपछि सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रतिनिधिसामु पेश गर्नेछन्।

विधान संशोधन प्रस्ताव अनुमोदन भएपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यसमाथि छलफल हुने कार्यतालिका रहेको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा नीतिगत दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका