रौतहट । सर्लाहीमा चोरीसँग सम्बन्धित एक अनौठो घटना सार्वजनिक भएको छ। चोरी गर्न पुगेका एक युवक आफूले प्रयोग गरिरहेको सवारीसाधनसमेत चोरीकै भएको खुलासा भएपछि घटना थप रोचक बनेको छ।
शुक्रबार बिहान करिब ४ बजे सर्लाहीको बरहथवा नगरपालिका–३ प्रतिटोलस्थित विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेको आरोपमा १८ वर्षीय जुमन मियाँ पक्राउ परेका हुन्। उनी सर्लाहीको बागमती नगरपालिका–६ निवासी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यादवको घरमा चोरी गरेपछि मियाँ नजिकै रहेको मनोज सहनीको घरमा समेत प्रवेश गरी चोरीको प्रयास गरिरहेका थिए। सोही क्रममा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला मच्चिएको थियो। स्थानीयवासीको सहयोग र सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
अनुसन्धानका क्रममा पक्राउ परेका मियाँले चोरीका लागि प्रयोग गरेको मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडीसमेत चोरीकै रहेको खुलासा भएको छ।
सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार बरामद गरिएको उक्त पिकअप गाडी गत जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको कार्यक्षेत्रबाट हराएको विवरणसँग मेल खाएको छ।
गाडी कसरी चोरी भएको थियो र यस घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


