Thursday, December 12, 2024
Homeखेलकुदसन्दीपले टीट्वेन्टी ब्लास्ट नखेल्ने

सन्दीपले टीट्वेन्टी ब्लास्ट नखेल्ने

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि इङ्ल्यान्डमा सुरु हुने भाइटालिटी टीट्वेन्टी ब्लास्ट क्रिकेट गुमाउने भएका छन्।

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका थिए। सन्दीप वोर्सेस्टरसायर काउन्टी क्रिकेट क्लबमा आबद्ध थिए। भिसा आउन ढिला भएपछि सन्दीपले भाइटालिटी टीट्वेन्टी ब्लास्ट गुमाउन लागेको उनका म्यानेजर रमण शिवाकोटीले जानकारी दिए। ‘सन्दीपको भिसाका लागि पहिलेदेखि नै पहल गर्दै आए पनि भिसा ढिलो आयो’, रमणले भने, ‘एक हप्ता भिसा ढिलो आएका कारण जान सम्भव भएन।’ उनले भिसा ढिलो आएका कारण इङ्ल्यान्डमा क्वारेन्टाइन बस्ने समय नभएको र क्वारेन्टाइनमा बस्दा आधा खेल सकिसक्ने भएकाले सन्दीप प्रतियोगितामा सहभागी नहुने जानकारी दिए। ‘भिसा ढिलो भएकाले इङ्ल्यान्डमा क्वारेन्टाइनमा बस्ने समय भएन। सम्झौताअनुसार उनी मे अन्तिममै इङ्ल्यान्ड पुगिसक्नुपर्ने थियो’, उनले भने, ‘अब गएर क्वारेन्टाइनमा बस्दा  ५/६ खेल सकिसकेको हुन्छ।’

नेपालमा कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएका कारण  भिसा आउन समय लागेको रमणले  जानकारी दिए। सन्दीपले शुक्रबार मात्रै भिसा पाएका थिए। भाइटालिटी टीट्वेन्टी ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म आयोजना हुँदैछ। जोय लिचको कप्तानीमा रहेको वोर्सेस्टरशायरमा सन्दीपसँगै मोइन अली, अल्जारी जोसेफ, बेन दारस्वीसलगायतका खेलाडी छन्।

भाइटालिटी टीट्वेन्टी ब्लास्ट क्रिकेट गुमाएका सन्दीप इङ्ल्यान्डमै आयोजना हुने ‘द हन्ड्रेड’मा खेल्ने तयारी गरिरहेका छन्। सन्दीप ‘द हन्ड्रेड’का लागि इङ्ल्यान्ड जाने तयारीमा रहेको रमणले जानकारी दिए। ‘भाइटालिटी टीट्वेन्टी ब्लास्ट गुमाएपछि सन्दीप द हन्ड्रेडको तयारीमा छन्’, रमणले भने, ‘उनी जुनको अन्तिमतिर इङ्ल्यान्ड जाने छन्।’ द हन्ड्रेड जुलाई २२ बाट सुरु हुँदैछ। सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका