काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
शनिबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन पार्टीले संगठनलाई चुस्त बनाउन राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा जिल्ला समिति अन्तर्गतका पार्टी संरचनाहरूलाई सहयोग र सहजीकरण गर्न केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, र पार्टीका सम्बन्धित निकायहरूले सिफारिस गरेका विज्ञ सदस्यहरू सहितको जिल्ला-आधारित कार्यदल गठनबारे छलफल भएको झाले बताए।
कार्यदलले सदस्यता विस्तारका साथै पालिका र वडा समितिहरू निर्माणमा जिल्ला समिति तथा पालिका समितिहरूलाई सहजीकरण गर्ने छ। रास्वपाले अभियान माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने योजना बनाएको छ। अभियानपछि वैशाखमा महाधिवेशन सम्पन्न गर्ने तयारी पनि छ।
शनिबारको बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराउँदै पार्टी गतिविधिबारे अवगत गराएका थिए।
सहमहामन्त्रीहरूले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेस गरेका छन्। बैठकमा उक्त निर्वाचनका अनुभव, सिकाइ, र चुनौतीहरूबारे छलफल भएको प्रवक्ता झाले जानकारी दिए। बैठक आइतबार पनि जारी रहनेछ।