काठमाडौं; प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा विद्यालय शिक्षा विधेयक माथि छलफल गरिँदै थियो। बैठकमा शिक्षामन्त्री रघुजी पन्तले थप तयारीका लागि केही समय माग गरेपछि बैठक स्थगन गरिएको हो।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले हालको अवस्थामा विधेयक पारित हुनु कांग्रेसलाई स्वीकार्य नहुने धारणा राखे। शिक्षामन्त्री र कांग्रेसको आग्रहपछि केही सांसदहरूले असन्तुष्टि जनाए पनि समिति सभापति अम्मर बहादुर थापाले सहमतिका आधारहरू नछाड्ने गरी थप छलफलका लागि केही दिन बैठक स्थगित गर्ने निर्णय सुनाए।
त्यसअघि मन्त्री पन्तले परिस्थितिलाई ‘जटिल’ बताउँदै केही समय रोकेर मात्र विधेयक अघि बढाउनुपर्ने आग्रह गरेका थिए। उनले सरकारको सहमतिबिना विधेयक पारित गर्ने अभ्यास नभएको स्पष्ट पारे।
कांग्रेस सचेतक घिमिरेले अझै शिक्षकहरूसँग छलफल बाँकी रहेको भन्दै विधेयक तत्काल पारित नगर्न सुझाव दिएका थिए।
तर बैठकमा माओवादी सांसद रेखा शर्मा, एमाले सांसद विद्या भट्टराई, रास्वपाकी सांसद सुमना श्रेष्ठ लगायतका सांसदहरूले विगतमा भएको सहमतिको आधारमा विधेयक अघि बढाउन माग गरे।
विधेयकमा अस्थायी, करार, र राहत शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट ६० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत स्थायी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। तर, नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाको माग गर्दै आएको छ।
शिक्षामन्त्रालयले सोमबार गरेको वार्तामा शिक्षकहरूले आफूहरूको अडान यथावत रहेको जनाएका थिए।


