Saturday, January 18, 2025
Homeशिक्षाशिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्धः सञ्चारमन्त्री गुरुङ

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्धः सञ्चारमन्त्री गुरुङ

लमजुङ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्र सुधारमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) जिल्ला कार्यसमितिद्वारा बेँसीसहर नगरपालिका–८ मा आयोजित ३४औँ प्याब्सन दिवस कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि अपेक्षित उपलब्धि हासिल नभएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा शिक्षा व्यवस्थापनलाई गुणस्तरीय, सीपमूलक, र समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध रहेको र विदेश पलायन भइरहेका युवालाई स्वदेशमै अवसर सिर्जना गर्न जोड दिनुभएको छ।

सञ्चारमन्त्री गुरुङले सहकारी ऐनलाई व्यवस्थित गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। उहाँले सहकारी कोष खडा गरेर बचत सुरक्षित गर्ने व्यवस्थापन गर्न सरकार प्रयासरत रहेको बताउनुभयो।

उहाँले पुँजीगत खर्च अपेक्षाकृत रूपमा बढाउन नसकेको स्वीकार्दै अब रोजगारी सिर्जना र पुँजीगत खर्च वृद्धिमा सरकार केन्द्रित हुने बताउनुभयो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले र बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले संघीय सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।

यसैगरी, समतामूलक समाज नेपालद्वारा आयोजित जिल्लास्तरीय नेतृत्व विकास तथा सशक्तीकरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले सङ्घीयताका कारण जनजाति र दलित समुदायले अधिकार प्राप्त गरेको उल्लेख गर्नुभयो। उहाँले दलित समुदायको हकहितका लागि जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका