काठमाडौँ। आज विश्वभर विविध कार्यक्रमका साथ विश्व रेडियो दिवस मनाइँदै छ। सञ्चार विज्ञ, प्रसारक र रेडियोसँग सम्बन्धित व्यक्तिहरूको सहभागितामा विभिन्न देशमा यस दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएका छन्।
युनेस्कोको अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो। सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा विश्व रेडियो दिवस मनाउने परम्परा सुरु गरिएको हो। युनेस्कोले पाँचै महादेशमा डिजिटल प्रसारणमार्फत शैक्षिक सामग्री श्रोतासमक्ष प्रस्तुत गरिने जनाएको छ।
यस दिवसको मुख्य उद्देश्य सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, सूचना पहुँच सुनिश्चित गर्नु तथा विश्वभरका प्रसारकहरूबीच अन्तरराष्ट्रिय सहकार्य सुदृढ बनाउनु रहेको छ। रेडियोलाई मानव समाजको विविधता उत्सवका रूपमा मनाउने प्रभावकारी माध्यमका रूपमा लिइन्छ। लोकतान्त्रिक संवादका लागि रेडियो महत्वपूर्ण मञ्चको रूपमा स्थापित भएको छ र अझै पनि विश्वस्तरमा सबैभन्दा धेरै सुनिने सञ्चार माध्यम मानिन्छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेलका अनुसार रेडियोले समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। श्रोताको आवश्यकतालाई ध्यानमा राखेर सामग्री प्रस्तुत गर्दा साझा चुनौती समाधान गर्न सहयोग पुग्ने उनको भनाइ छ।
यसै अवसरमा युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जनहितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। उनले रेडियोले इमान्दारीपूर्वक सूचना प्रवाह गर्दै समुदायबीच सहकार्य र सहानुभूति बढाउन भूमिका खेल्नुपर्ने बताएका छन्।
विश्व रेडियो दिवसका अवसरमा विभिन्न रेडियो स्टेशनहरूले विशेष कार्यक्रम, अन्तरक्रिया, प्रतियोगिता तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन्।


