काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) टोली विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ल कारबाहीमा परेका छन्। आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले बुधबार आचारसंहिता उल्लंघन गरेको भन्दै प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध र ५० हजार रुपैयाँ जरिवाना गरेको हो।
एनएसएलअन्तर्गत ललितपुर सिटीविरुद्धको खेलमा रेफ्रीविरुद्ध आक्रोस पोख्दै भारतीय प्रशिक्षक यान र टोलीका अन्य अफिसियलले खेल अवरुद्ध गर्दै खेलाडीलाई मैदान छाड्न निर्देशन दिएका थिए। प्रतियोगिताको प्राविधिक सहयोगी अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले छानबिन र म्याच कमिस्नरको रिपोर्टका आधारमा मुख्य प्रशिक्षक यान ललाई प्रतिबन्ध लगाइएको हो। यसैगरी विराटनगरका टेक्निकल निर्देशक सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ। यसैगरी विराटनगर सिटी एफसीलाई पनि एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ। नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टका सीईओ सुदीप शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा एन्फाले पनि अनुसन्धान गरी छुट्टै कारवाही गर्न सक्ने जनाएको छ।
प्लेअफमा पुग्न दुवै टोलीलाई जित अनिवार्य रहेको खेलमा २–० गोलले पछि परेपछि विराटनगरले खेलाडीलाई मैदान बाहिर बोलाएको थियो। विराटनगरका खेलाडीले मैदान छाडेपछि करिब १० मिनेट खेल रोकिएको थियो। विराटनगरका १० खेलाडीले मैदान छाडे पनि स्पेनिस खेलाडी पेड्रो जाभियर मान्जीले भने मैदान छाड्न मानेनन्। उनी एक्लै मैदानमा बसेका थिए। विराटनगरविरुद्ध ४–० को प्रभावशाली जित निकाल्दै ललितपुरले प्लेअफमा स्थान बनाएको थियो। ललितपुरसँग पराजित भएपछि विराटनगर लिग चरणबाटै बाहिरिएको थियो।